त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा तीन जनाको सिफारिस
काठमाडौं, १३ मंसिर । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि प्रा.डा. प्रेम खड्का, प्रा.डा. योगेन्द्रप्रसाद सिंह र प्रा.डा.सुशील शिल्पकारको नाम सिफारिस गरिएको हो ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.जगदीश अग्रवाल नेतृत्वमा डा.अभिमन्यु झा र डा.प्रदीप ज्ञवाली सदस्य रहेको टोलीले तीन जनाको नाम सिफारिस गरेको हो ।
तीन जनामा पहिलो नम्बरमा प्रा.डा. खड्का, दोस्रो नम्बरमा प्रा.डा. सिंह र तेस्रो नम्बरमा प्रा.डा.शिल्पकार रहेका छन् । वरिष्ठताका आधारमा उनीहरुलाई सिफारिस गरिएको जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्ले तीन जनामध्ये एक जनाको नाम कार्यकारी दिर्नेशकमा छनोट गर्ने छ ।
घरायसी कारण देखाउँदै डा.दीपकप्रकाश महराले गत साउनमा कार्यकारी दिर्नेशक पदबाट राजीनामा दिएका थिए।