अब के साटौं ?
नेपालको इतिहास,राजनीतिक उतार चढाव, नेतृत्व र प्रवृत्तिबारे सांकेतिक रुपमा लेखिएको यो कविता सशक्त त छँदैछ । यसले चोटिलो व्यंगसँगै गम्भीर सन्देश समेत दिएको छ । चल्तीका कवि साहित्यकार र समकालिन पुस्ताले पक्कै पनि यो कविता पढेर एउटा तरंगको अनुभूति गर्नुहुने आशा राखेर हामीले उच्च राजनीतिक समझ भएका कवि नेवज गुरुङ्गको फेसबूकवालबाट यो कविता साभार गरेका छौं -
सतीको सत्यतासँग
श्राप साटें,
भीमसेन थापाको स्वाभिमानसँग
अभिशाप साटें,
प्रजातन्त्रको दुहाई दिएर
राणाहरुसँग शाह साटें,
अनि हजारौंलाई बली चढाएर
लोकतन्त्रको बहानामा
शाहसँग गणतन्त्र साटें,
संघीयताको नारासँग द्वन्द साटें
बेलगाम, अराजक
एक हुल भुइँफुट्टाहरुसँग
संविधान साटें,
घरको ताला बिग्रेकोथ्यो
घरसँग चाबी साटें,
कति हिँड्नु जंगल बस्ती र गोरेटोहरुमा
त्यसैले आजभोली
शहरहरुमा घरहरु भत्काएर
फराकिला सडकहरु साट्दैछु,
सुकुम्वासीको बस्ती उजाडेर
साम्यवाद साट्दैछु !
अब के साटौं ?
के साटौं लुम्बिनीसँग ?
मिथिलासँग के साटौं ?
के साटौं सगरमाथासँग ?
कि एकल जातीय पहिचानसँग
गृहयुध्द साटेर नेपाल साटौं ?
अब के साटौं ?