नेपाल आउने विदेशी पर्यटक १० प्रतिशतले बढे

२०७५ असार ७ बिहीबार १५:३१:०० मा प्रकाशित

  काठमाडौँ, ७ असार । सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । 

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को सोही अवधिमा १२.५ प्रतिशतले बढी हो । 

तथ्यांकअनुसार सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा भारतबाट सबैभन्दा बढी ८.६ प्रतिशत पर्यटक आएका छन् । 

त्यसैगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मुलुकबाट आउने पर्यटकको आवागमनलाई हेर्दा गत वर्षको यही महिनामा सकारात्मक वृद्धि (२.२ प्रतिशत) देखिन्छ । पर्यटक आगमनको आँकडा हेर्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । 

सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा २५.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमनमा सार्क मुलुकको तुलनामा एशिया १४.२ प्रतिशतले अगाडि छ । थाइल्याण्ड र सिंगापुरबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भई क्रमशः ६२.१ प्रतिशत र ११.३ प्रतिशत पुगेको    छ ।

समग्रमा गत वर्षको मे महिनामा युरोपबाट नेपाल आउने पर्यटकको संख्या १८ प्रतिशतले घटेको पाइएको छ । तथापि फ्रान्स र जर्मनीबाट आउने पर्यटकको संख्या क्रमशः २६.८ र ४९ प्रतिशतले बढेको छ । सोही अवधिमा संयुक्त अधिराज्य बेलायतबाट आउनेको संख्या ७.४ प्रतिशतले घटेको देखिन्छ । 

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ मे महिनामा अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने पर्यटकको संख्यामा क्रमशः १०.४ र २८.७ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राज्य अमेरिका र क्यानडाबाट पनि अघिल्लो वर्षको तुलनामा सन् २०१८ को मे महिनामा क्रमशः ७.४ र ५.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ । रासस

ताजा खबर