कांग्रेस सभापतिहरुलाई थाहा छ ? यस्ता छन् पार्टीभित्र १९ रोग

राजनीतिमा मात्र नभएर जीवनका सबैखाले व्यवहारमा सबैभन्दा सजिलो काम हो आरोप लगाउने । अनि अर्काे सजिलो काम हो जिम्मेवारीबाट भाग्ने । आरोप लगाउने र जिम्मेवारीबाट भाग्ने, अरुको थाप्लोमा दोष थोपर्ने, आफ्नो दोष चाहिँ पटक्कै नदेख्ने गम्भीर रोगबाट अहिले नेपाली कांग्रेस ग्रस्त छ । 

अहिले कांग्रेस सिकिस्त छ । रोगको कारण के हो ? यो नखुट्याई इतिहासको विरासत धान्ने ढंगले कांग्रेस अगाडि बढ्न सक्ने देखिँदैन । 

कांग्रेसका जिल्ला सभापतिहरुको भेला हुँदैछ । सभापतिहरु भनेका अगुवा हुन् । अगुवाहरुले नेपाली कांग्रेसलाई लागेको रोग सटिक तरिकाले पहिचान गर्न सकेनन् भने उपचार पनि ठिक ढंगले गर्न सक्ने छैनन् । 

त्यसैले जिल्ला सभापतिहरुका नाममा यो सार्वजनिक पत्र जारी गरेको छु ।


प्रिय जिल्ला सभापतिजीहरु
जय नेपाल ।

पार्टी सभापतिहरुको भेलाबाट तपाईंहरुले गर्नुपर्ने पहिलो काम कांग्रेसलाई लागेको रोग पहिचान गर्ने हो । रोग पहिचानमै समस्या देखिँदै आएको छ । समस्या आफूमा नदेख्ने अरुमा मात्र देख्ने प्रवृत्तिका कारण रोग पहिचानको काम जटिल बन्दै आएको छ ।

पार्टीको आजको दुरावस्था बिना कारण भएको होइन, तर यसमा कसैले जिम्मेवारी नलिएको गम्भीर अवस्था छ । 

भगवान शिवले कालकूट विष पिए झैं कसैले आजको दुरावस्थाको जिम्मेवारी लिइदिएदेखि सबै समस्याको समाधान हुन्छ भन्ने भ्रामक अवधारणा पनि व्याप्त छ । कालकूट विष पिउन भने कोही तयार छैनन् । शिवजी अचानक प्रकट हुन्छन् र कालकूट विष पिउँछन् भनेर पर्खने शैलीको काम सभापतिहरुको भेलाले नगरोस् । 

मेरो विचारमा पार्टीलाई कुनै एउटा रोगमात्र लागेको छैन, धेरैवटा रोग लागेको छ । त्यसैले उपचार पनि बहुआयामिक हुन आवश्यक छ । 

कांग्रेसको अंगअंगमा फैलिएका रोग निम्न हुन्

१)  निजी स्वार्थ, सिर्फ स्वार्थ, सिर्फ स्वार्थ

२)  अरुलाई आरोप लगाएर आफू चोखो देखिने प्रवृत्ति

३) आलोचना नगर्ने आरोप मात्र लगाउने । आरोपलाई नै आलोचना ठान्ने

४) बहस नगर्ने गाली मात्र गर्ने । गालीलाई नै बहस ठान्ने

५) त्याग नगर्ने, प्राप्तिका लागि मात्र मरिहत्ते गर्ने

६) देशभन्दा माथि पार्टी हो, पार्टीभन्दा माथि आफ्नो गुट हो, गुटभन्दा माथि आफ्नो उपगुट हो, उपगुटभन्दा माथि आफू हो र आफ्नो स्वार्थ नै सर्वाेपरी हो भन्ने खालको व्यवहार गर्ने

७) कांग्रेसको अतितको गौरव देख्ने तर भविष्यको सम्भावना नदेख्ने

८) कोही रिसाउँछ कि, आफ्नो कुनै स्वार्थमा असर गर्छ कि भनेर प्रष्टसँग विचार नराख्ने

९) प्रमुख प्रतिपक्षी बन्नु पनि गौरवपूर्ण विषय हो, प्रमुख प्रतिपक्षीका रुपमा पनि असल र उदाहरणीय कार्य गरेर जनप्रिय बन्न सकिन्छ भन्ने थाहा नपाउनु या त्यस्तो आत्मविश्वाश नहुनु  

१०) सरकारमा बस्नु नै सबैथोक हो, प्रतिपक्षमा बस्नु भनेको समाप्त हुनु हो भन्ने ठान्नु 

११) देशमा व्याप्त भ्रष्टिकरणका विरुद्ध उभिन नसक्नु, आफै भ्रष्टाचारको दलदलमा फस्नु 

१२) मानव कल्याण, समाज कल्याण तथा देशको कल्याणलाई केन्द्रमा राख्न नसक्नु

१३) राष्टियताको मामिला सहित तत्कालीन परिवेशका जल्दावल्दा समस्याहरुमा समयमै प्रष्ट दृष्टिकोण राख्न नसक्नु

१४) पार्टीभित्र व्याप्त भाँडभैलो, वेथिति, खुट्टा तानातान र गालीगलौजको राजनीतिलाई नै आन्तरिक लोकतन्त्र ठान्ने भ्रम व्याप्त हुनु

१५) पार्टी भनेको सुव्यवस्थित संगठन हो तर अव्यवस्थित र लथालिंग भीडलाई नै पार्टी ठानिनु

१६) प्राइभेट लिमिटेड जस्ता गुट उपगुट तथा व्यक्ति केन्द्रीत ससाना समूहहरु पार्टीभित्र निर्णायक हुनु, तिनै समूहहरुको भागवण्डाको तराजुमा न्यायको हत्या गरिनु

१७) पद र अवसरहरु खरीद विक्री गरिनु

१८) योग्यता क्षमता उपेक्षित तर नातागोता  पुरस्कृत हुनु

१९) पूराना, त्यागी, संघर्षशील, इमानदार, निष्ठावानहरुलाई बेवास्ता गरिनु ।

सभापतिज्यूहरु

मैले इंगित गरेका यो सूचीमा अन्य धेरै रोग पहिचान गर्न र थप्न सकिन्छ । पार्टीका अंग्रप्रत्यंगमा फैलिएका रोग यिनै हुन् र यी बाहेक अन्य रोग पनि छन् भनेर पहिचान गर्न र स्वीकार गर्न तयार हुनुहुन्छ ?

तयार हुनुहुन्छ भने उपचार सम्भव छ । तपाईंहरुलाई यो खुलापत्र लेखेर पार्टीको रोग पहिचान र उपचारका बारेमा अपिल गर्नु अघि म आफ्ना बारे केही लेख्न चाहन्छु । 

पार्टीमा आजसम्म क्रियाशील रहँदा मैले अनेकौं गल्ती गरेको थिएँ, स्वार्थी बनेको थिएँ, मानव कल्याणको विराट भावनाबाट च्यूत भएर निजी स्वार्थमा लिप्त भएको थिएँ । गुट र उपगुट नै सर्वाेपरी हो, आफ्नो निजी स्वार्थ नै मुख्य हो भन्ने कुविचारबाट प्रेरित भएर कार्य गरेको थिएँ । मैले अरुलाई विभिन्न आरोप लगाएको थिएँ तर आफ्नो गल्ती चाहिँ लुकाएको थिएँ । बहसका नाममा विवाद गरेको थिएँ, आलोचनाको नाममा आरोप र गाली अँगालेको थिएँ । पार्टीको आजको दुरावस्थामा मेरो पनि हिस्सेदारी छ । यस्ता कर्म, विचार र भावनाबाट मुक्त हुने संकल्प लिएको छु । मानव कल्याण, देशको कल्याण र समाजको भलाईमा आफूलाई समर्पित गर्दै निजी स्वार्थ त्यागको संकल्प लिएको छु । यही संकल्पको जगमा उभिएर तपाईंहरुलाई यो खुलापत्र रुपी अनुरोध लेख्ने नैतिक साहस लिएको छु ।  

मिल्ने भए सम्पूर्ण दोषहरु आफ्नो शिरमा लिएर कालकूट विष पिउन म तयार छु तर यसले कुनै समाधान दिँदैन ।

सभापतिज्यूहरु

समाधान के हो भन्ने बारेमा म आफ्ना केही विचार यहाँ लेख्छु । 

नेपाली कांग्रेसलाई लागेका रोगहरुको सूची मैले माथि जो उल्लेख गरेको छु, त्यसलाई सबैले गम्भीरतासाथ लिन जरुरी छ । दुखद अवस्था के हो भने यी रोगहरुले नेपाली कांग्रेस मात्र नभएर अन्य सबै पार्टीहरु पनि ग्रस्त छन् । यी रोग सत्तारुढ नेकपामा पनि व्याप्त थियो र अहिले सो पार्टीभित्र झन तिब्र गतिमा फैलिरहेको छ । वास्तवमा यी रोग राजनीतिक पार्टीहरुमा मात्र नभएर समग्र समाजमा नै फैलिएको छ, समाजलाई नै रुग्ण बनाइरहेको छ । 

तसर्थ, मानव कल्याणलाई केन्द्रमा राखेर हामीले आफ्ना हरेक नीति र व्यवहारलाई अगाडि बढाउनुपर्छ । यसका लागि राजनीति भनेको प्राप्तिका लागि होइन त्यागका लागि हो भन्ने मान्यता स्थापित गर्नुपर्छ । ‘प्राप्ति होइन त्याग’ भन्ने मन्त्र ग्रहणलाई पार्टीभित्र संकल्प अभियानका रुपमा अगाडि बढाइनुपर्छ । स्वार्थ त्यागले मात्र कुनै पनि पार्टी बन्छ, मानव कल्याण सम्भव छ । देशको उन्नति सम्भव छ ।  

देश र मानव कल्याणलाई केन्द्रमा राख्दै स्वार्थ त्यागको घोषणा पार्टी सभापतिजीहरुबाट हुन सक्यो भने त्यसले पार्टीभित्र मात्र नभएर देशमै सकारात्मक बातावरण निर्माण हुनसक्छ । यसो गर्नु नै पार्टीलाई लागेका रोगहरुको उपचारको प्रस्थान विन्दु हुनसक्छ । 

एकले अर्कालाई दोष नदिउँ तर लिनुपर्ने सबैले जिम्मेवारी लिउँ । 

स्वार्थ त्याग नारामा होइन व्यवहारमा देखिनुपर्छ । यो कार्य तपाईंहरुबाट थालनी होस् । 

ताजा खबर