ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

२०७५ असार ३ आइतबार १०:३८:०० मा प्रकाशित

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि वर्तमानसम्म नेपालको कुटनीतिक सम्बन्ध कसरी अगाडि बढेको थियो भन्ने विषयमा पनि उनले चर्चा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका आसन्न चीन भ्रमणबारे डा। बस्न्यातसँग भएको छोटो सम्बादको विवरण यस्तो छः

१९१२ मा थापाथली सन्धि भएपछिका दिनहरुमा हेर्ने हो भने हामी धेरै जसो समय दक्षिणतर्फ नै ढल्केका छौं । भारतमा ब्रिटिस राज हुँदा राणाहरु ब्रिटिससँगै नजिक थिए । २००७ सालपछि पनि दिल्लीतर्फ नै ढल्केको देखिन्छ । राजा महेन्द्रले चीनसँग पनि सम्बन्ध बढाएर सन्तुलन मिलाउन खोजेको देखिन्छ । तर उनी पनि धेरै सफल हुन सकेनन् । 

अहिले पनि हाम्रो ढल्क्याई दक्षिणतर्फ नै छ । चीनतर्फ असाध्यै कम सम्बन्धमा छौं हामी । चीनसँग ठूला ठूला एमाओयु गरेर आउने तर कार्यान्वयन नहुने समस्या छ । चीनले नेपालको विकासमा साझेदारी गर्न चाहन्छ । नेपालमा त्यो हुन दिइँदैन । भारतले अर्बौंको प्रोजेक्टहरु बनाइदिन्छु भन्छ, कहिले बनाउँदैन । 

यो परिवेशमा नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबाट अबको दिनमा धेरै आशा गर्न सकिदैन । भारतको प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसँग भेटेपछि विषय फरक रहेको अनुभूति भएको छ । भर्खरै ताइवानमा ठूलो सम्मेलन भयो । विभिन्न देशमा कार्यकारी प्रमुखहरु पुगे । त्यहाँ अमेरिका र पश्चिमाको आशा थियो कि मोदीले चीनविरोधी धारणा राख्लान् भन्ने अपेक्षा थियो । तर मोदीले त्यस्तो केही बोलेनन् । पश्चिमा अमेरिकी अहिले आश्चर्यचकित भएका छन् । 

यो कुरा म किन भनिरहेको छु भने, नाकाबन्दीको बेलाको केपी ओली अहिलेका होइनन् । भोट माग्ने केपी ओली होइनन् । यसकारण यो विषय हामीले बुझ्नु पर्छ । 

चीनले तिब्बत लिँदा भारत चुप बस्यो । भारतले कश्मिर लिँदा चीन मौन बस्यो । अर्थात आफ्नो मतलव पूरा हुने देखिँदा ठूला राष्ट्रहरु मौन बसिदिन्छन् । भारतले सिक्कीम निल्दा पनि चीन बोलेन । अब नेपालमाथि अत्याचार हुँदा पनि चीन बोल्दैन । अब त चीन र भारतबीचको सम्बन्ध सुध्रेको जस्तो देखिन्छ । यसबाट पनि अलिकति डरमर्दो अवस्था आउन सक्छ । 

नेपाललाई भारतसँग बिलय गराउने त होइन, तर नेपालमाथिको नियन्त्रणबारे भारत र चीनबीच अलिखित समझदारी हुन सक्छ । किनभने चीन र भारतले छिमेकका साना मुलुकहरुको सार्वभौमसत्ता खोस्दै, हडप्दै अगाडि बढेका छन् । इतिहास त्यही छ । तर यो हाम्रो देशलाई उनीहरु कतै पनि बिलय गर्न चाहँदैनन् । किनभने नेपालका कारण भारत चीनको सीमा सुरक्षाको खर्च जोगाइदिएको छ । 

भारतको बजार छाडेर चीनले नेपालसँग कुनै पनि प्रकारको सम्झौता गर्दैन । इन्धन खरिद सम्झौताको कुरा पनि त्यही हो । अघिल्लो पटक केपी ओलीले चीनसँग इन्धन खरिद गर्ने समझदारी गरेका थिए । तर सम्झौता गरेनन् । अब त्यो सम्झौता हुन्छ भन्ने लाग्दैन । 

चीनसँग इन्धन खरिद सम्झौता नहोस् भनेर भारतले पाइपलाइनको काम अगाडि बढाएको हो । चीनले रेल ल्याउला भनेर रेलको कुरा अगाडि बढाएको छ । 
मोदीले बुद्ध नेपामला जन्मेको भन्छन्, युरोप पुगेपछि भारतमा भन्न थाल्छन् । नेपाललाई भुटानकै स्टाटसमा राख्ने भारतको चाहना हो । फास्ट ट्रयाक नबनोस् भन्ने भारतको चाहना थियो । सेनाले विष्फोटक ल्याउन खोज्दा अहिले भारतले रोकिरहेको छ । सेनामाथि उसले नाकाबन्दी लगाइरहेको छ । (कन्टेन्ट पाट्नरसीप प्रोग्राम सहमति अनुसार https://psjtv.com/nepali मा प्रकाशित यो सामग्री साभार गरिएको छ)

ताजा खबर