जयतु संस्कृतमको सम्झना

२०७५ असार १ शुक्रबार २०:२८:०० मा प्रकाशित

काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा निरंकुश राणा शासनका समयमा पनि विद्यार्थीले स्वतन्त्रताका लागि गरेको साहसको स्मरण गरिएको छ । 

विसं १९९४ असार १ गते तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले संस्कृत विषयका साथै आधुनिक विज्ञान, गणित, भूगोल, अंग्रेजीलगायत विषय पनि पढ्न पाउनुपर्छ भनी राणा सरकारसमक्ष माग राखेका थिए । माग पूरा नभएपछि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम भएको थियो । त्यसबेला रानीपोखरीस्थित दरबार हाइस्कूल भवनको तल रहेको संस्कृत प्रधान पाठशालामा भर्ना पाउन पनि राणा प्रधानमन्त्रीको स्वीकृति चाहिन्थ्यो । 

विसं २००४ मा जयतु संस्कृतम्ले राणा शासनका विरुद्ध प्रजातन्त्रका पक्षमा पनि आवाज उठायो । त्यसबेला पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, अच्युतराज रेग्मी, कमलराज रेग्मी, राजेश्वर देवकोटालगायतको नेतृत्वमा आधुनिक विषयसँगै जहानियाँ शासन व्यवस्थाको अन्त्य भई प्रजातन्त्र स्थापना हुनुपर्छ भनी सार्वजनिक रुपमा आह्वान गरिएको थियो । 

शासकले प्रजातन्त्रको माग गर्ने विद्यार्थीलाई चारपाटा मुडेर चार भञ्ज्याङ कटाएका थिए । ती विद्यार्थी नेपालका गाउँगाउँमा प्रजातन्त्र स्थापनाका लागि आवाज बुलन्द बनाउँदै भारत प्रवासमा रहेर राणा शासनको अन्त्यका लागि आन्दोलन गरिरहनुभएका नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटी सक्रिय भएका थिए । 

विसं २०५४ पछि जयतु संस्कृतम् संस्था स्थापना गरी संस्कृत भाषा संरक्षणका लागि काम हुँदै आएको छ । यहाँ आज आयोजित ७२औँ जयतु संस्कृतम् दिवसका अवसरमा प्रदर्शनीमार्गको वाल्मीकि विद्यापीठबाट दरबारमार्गको तीनधारा संस्कृत छात्रावाससम्म आयोजना गरिएको प्रभातफेरीमा विभिन्न विद्यालयका साथै वाल्मीकिका विद्यार्थीको सहभागिता थियो । प्रभातफेरीपछि तीनधारा पाठशालामा आयोजित कार्यक्रमका वक्ताले राज्यले आवश्यक नीति निर्माण गरी संस्कृत भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संस्कृत भाषा संरक्षणका लागि ठोस काम गर्न सरकारसँग माग गरे । जयतु संस्कृतम् संस्थाका पूर्वअध्यक्ष हेमराज ज्ञवाली, अध्यक्ष डा बद्री पोखरेललगायतले संस्कृत भाषा प्रशिक्षणलगायत भाषा सिकाउने कार्यक्रममार्फत संस्कृत पुनर्जागरणको अभियान शुरु गर्न लागिएको जानकारी दिए । संस्थाले ‘संस्कृतमा के छ ?’, ‘वेदमा के छ ?’लगायत न्याय दर्शन र वेदान्त दर्शनका पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्दै आएको छ । आयुर्वेद र तन्त्रमा के छ भन्ने पुस्तक प्रकाशनको तयारी पनि गरिएको छ । 

यसैबीच यस वर्षको जयतु संस्कृतम् पुरस्कार विष्णुराज आत्रेय ‘लाटो साथी’लाई दिइने भएको छ । उहाँलाई ‘हनुमत् चरित्र’ शीर्षक संस्कृत भाषामा लेखिएको निबन्धात्मक कृतिका लागि सो पुरस्कार दिन लागिएको हो । पुरस्कृत हुने व्यक्तिको नाम छनोटका लागि प्रा डा विष्णुप्रसाद देवकोटोको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । पुरस्कार यसै महिना वितरण गरिने बताइएको छ । रासस

ताजा खबर