राजेश हमालका लागि नयाँ नायिकाको खोजी

२०७५ जेठ ३१ बिहीबार १३:४९:०० मा प्रकाशित

काठमाडौं । यसअघिको फिल्म दर्शकले नरुचाएपनि अभिनेता राजेश हमालले आफ्नो जन्मदिन पारेर नयाँ फिल्म खेल्न सम्झौता गरेका छन् । उनले ५४ औं जन्मदिनको अवसरमा अहिले नाम गोप्य राखिएको फिल्ममा अभिनय गर्न निर्मातासँग सम्झौता गरेका छन् । 

अब दिनेश श्रेष्ठले निर्देशन गर्ने नयाँ फिल्ममा राजेश अनुबन्धित भएका छन्। हमालको पछिल्लो चलचित्र ‘शकुन्तला’ले सन्तोषजनक कमाउन नसकेको निर्माताले बताएका छन्। त्यो फिल्ममा राजेशले तेस्रो लिंगीको अभिनयसमेत गरेका छन् । ‘शकुन्तला’ पनि दिनेशले नै निर्देशन गरेका हुन् । 

राजेशले गत शनिबार दिउँसो आफ्नै निवासमा जन्मदिन मनाउँदै आफ्ना फ्यानहरूका लागि खुशीको खबर सुनाएका हुन् । चलचित्रका निर्देशक श्रेष्ठ र निर्माता शिवराज कार्कीबाट उपहारस्वरूप प्राप्त केक काट्दै अभिनेता हमालले आफू नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् । 

निर्देशक श्रेष्ठका अनुसार हमाललाई यो चलचित्रमा निकै फरक भूमिकामा देख्न पाइनेछ । यसै चलचित्रका लागि विगत ७ महिना देखि स्क्रिप्टका लागि काम भइरहेको उनले बताए । चलचित्रमा हमालसँगै चार अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । अभिनेत्रीको भने खोजी भइरहेको छ । हाल दुई नायिकासँग छलफल चलिरहेको निर्देशक श्रेष्ठले बताए । अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की उक्त फिल्मको निर्मातामा रहनेछन् । चलचित्रको छायांकन भने तिहारपछि गरिने जानकारी दिइएको छ ।
 

ताजा खबर