बाँदरे अधिनायकबादको खतरा

२०७५ जेठ २७ आइतबार ०७:४६:०० मा प्रकाशित

जनयुद्धकालमा तात्कालीन माओवादीले सबैभन्दा बढी तारो बनाएका नेता अरु कोही थिएनन्, केपी ओली नै थिए । माओवादी निकट ‘जनादेश’मा कुनैबेला प्रथम पृष्ठमै ‘मदन भण्डारीका हत्यारा ओलीको भण्डाफोर’ भन्दै सनसनीखेज खबरहरु छापिन्थे । 

कथित टिएन प्रधानको नाममा प्रकाशीत हुने सो धाराबाहिक लेखमार्फत जनयुद्धकालभरी प्रचण्डलगायतका नेताहरुले ‘दासढुँगा हत्याकाण्डमा ओलीकै संलग्नता रहेको’ भन्ने खालका प्रचारबाजी गरीरहे । गाउँ गाउँका कम्युनिष्ट कार्यकर्तामा एमाले नेतृत्वप्रति बितृष्ण पैदा गराइरहे । सोही खबरका कारण कतिपयलाई‘मदनको हत्यामा ओली र माधव गुटकै सँलग्नता रहेछ’ भन्ने भ्रम पनि पर्न गयो । खबर पत्याएर मदनका कतिपय समर्थक र अनुयायी एमाले छाडेर माओवादीतिर पनि लागे । 

केही समयपछि ‘टिएन प्रधान’को खोजी सुरु भयो । मिडियामा पनि प्रश्न उठयो कि आखिर टिएन प्रधान को हो ? हामी काठमाडौंमा बसेर खुला पत्रकारिता गरिरहेकाहरु ति भूमिगत एवं अज्ञात लेखकको परिचय पाउन आतुर थियौं । आखिर, नेपाली पत्रकारीता, साहित्य लेखन र अन्य कुनै पनि विधामा लेख्नेहरुको सूचीमा टिएन प्रधान नाम गरेको पात्र कतै भेटिएन । 

एमालेका जिम्मेवार नेतालाई ‘मदनको हत्यारा’ साबित गर्न विस्तृत अनुसन्धानमुलक रिपोर्टजस्तै भान पार्नेगरी लेख्न खप्पीस ति टिएन प्रधानको विश्वसनियतामाथि प्रश्न उठ्यो । यसले जनादेशकै विश्वसनियतामाथि पनि गम्भीर प्रश्न खडा ग¥यो, किनकी सोही पत्रिकाको पछिल्लो पृष्ठमा डा.बाबुराम भट्टराईको ‘बेलाबखतका कुरा’स्तम्भ पनि प्रकाशीत हुन्थ्यो, जो माओवादी जनयुद्धका मुख्य रणनीतिकार हुन् । 

लेखकको विश्वसनियता साबित गर्ने नाममा जनादेशले टिएन प्रधानको तस्वीर भन्दै एउटा अधवैंशे पुरुषको आकृति छाप्यो । टिएन प्रधान भनेर जनादेशमा जसको तस्वीर छापिएको थियो, त्यो त भारतका पत्रकार एवं लेखक कुलदीप नैयरको पो रहेछ । कुनै भूमिगत कोठामा बसेर माओवादीकै कुनै पत्रकारले लेखेको त्यो नक्कली सामाग्रीमा नक्कली नाम र नक्कली तस्वीर छापिएको रहेछ भन्ने स्पष्ट भयो । यसबाट जनादेशमा प्रकाशीत खबर पनि ‘फेक’ रहेछ भन्ने पुष्टी हुन गयो । 

कमरेड केपी ओलीको ‘व्यक्तित्व ध्वस्त’ पार्न त्यो हदसम्मको हर्कत गर्न पछि नपर्नेहरुले अन्ततः इतिहासको यो मोडमा आइपुग्दा तिनै ओलीको नेतृत्व स्वीकार गरेका छन्, त्यो पनि मदन भण्डारी र जिवराज आश्रितको दासढुँगामा जिप दुर्घटनाबाट मृत्यु भएकै दिन अर्थात जेठ ३ गते । इतिहासको यो अदभूत सँयोग देख्दा भन्नैपर्ने हुन्छ, नेपालको राजनीतिले गुणात्ममक फड्को मारेकै हो । मित्र मिलापको जुझारु अभिवादन साटासाट भइरहेको आजको घडीमा बिगतका यस्ता तिता प्रसँग ओझेलमा परीसकेका छन् ।

‘बिना सूचना हराएको साथी’

नेपाल कम्युनिष्ट पार्टी निर्माणको इतिहास रचेको दाबी गरीरहँदा र ‘पुष्पलाल बुढा बाँचेको भए नाच्नुहुन्थ्यो’ भनिरहँदा अध्यक्ष केपी ओलीले झापा विद्रोहका ति कुनै पनि सहयात्री र योद्धाहरुलाई सम्झीएनन्, जसको योगदानको जगमा ओलीको व्यक्तित्व खडा भएको हो । 

मदन भण्डारीको स्मरण भइरहँदा एकिकरण घोषणा सभामा ओलीले आफ्ना पुराना सहयात्रीहरु सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, हर्क खडका, मदन खपांगी, नारद वाग्ले, घनेन्द्र बस्नेत, शिव शिवाकोटी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुईंकेल, नारायण श्रेष्ठ, विरेन राजवंशी, सुर्य कन्दङवा, विष्णु सिवाकोटी, रिखाम मगरमध्ये कसैलाई पनि स्मरण गरेनन् । 

पुर्व माले र त्यसपछि पुर्व एमालेको सँगठनको जग निर्माता यीमध्ये कति मारिए, कति राजनीतिबाटै पलायन भए अनि कति ओलीभन्दा भिन्न राजनीतिक दलमा आवद्ध छन् । खड्ग ओलीले खडग पकुवाललाई पनि सम्झीएनन् । खडग पकुवाल तिनै हुन्, जो झापामा विद्यार्थी आन्दोलन हुँदा ओलीको पनि सिनियर विद्यार्थी नेता थिए । राजनीतिको दौडमा खडग पकुवाल विस्मृतीमा बिलाए, खडग ओली अहिले आएर एउटा बलियो कम्युनिष्ट पार्टीको अध्यक्ष भएका छन् । यहाँसम्म आइपुग्न ओलीले कति प्रतिशत साँगठनिक, वैचारीक र राजनीतिक योगदान दिए अनि कति चतुरता र धुर्तता अपनाए, त्यो आफ्नै ठाउँमा छ । 

जे होस्, ओलीको पृष्ठभूमि भनेको त्यही झापा विद्रोह हो, जसलाई स्वयं उनले ‘गलत थियो’ भनेर किन नभनून् । २०२७ सालबाट सुरु भएको त्यो बर्गशत्रु सफायाको अभियानमाथि तिसको दसकसम्म आइपुग्दा प्रशासनको तिब्र दमन भयो । आन्दोलनमा धक्का लाग्यो । कोही पक्राउ परे, कोही मारिए त कोही सिलीगुडी,दार्जीलिङ र कालीम्पोङरित लागे ।

‘जमीनदार परिवार’का राधाकृष्ण मैनालीको साटो गरीब परिवारका केपी ओलीलाई झापाको सँगठनको जिम्मेवारी दिइएको थियो, जिल्ला सचिव बनाएर । दमन बढदै गएपछि र केही साथीहरु मारिएपछि ओली इलाकाबाटै बिना सूचना हराए । सँकटको घडीमा बैठक राख्न भनेर सहयात्रीले खोज्दा उनी मोरङतिर लागेको खबर आयो । उनी मोरङ हुँदै रौतहट पुगे, उतैबाट पक्राउ परे र १५ वर्षसम्म जेलमा रही योगदान दिए । 

पुर्वमा पार्टी छिन्नभिन्न र कमजोर भएको बेला सिपी मैनालीले नै सँगठनलाई माथि उठाउने भूमिका निर्वाह गरे । उनले नै शुन्यबाट थालेको सँगठन निर्माण अभियानले राष्ट्रिय रुप लियो । सिपीकै नेतृत्वमा कोअर्डिनेशन कमीटी, पश्चिमको मुक्तिमोर्चा र पुर्व कोशी प्रान्तीय कमीटीलगायतलाई मिलाएर नेकपा (माले) गठन भयो, जुन कालान्तरमा एमाले र हाल नेकपा बन्न पुगेको हो । 

एमालेको जग बलियो बनाउन सिपीको बैचारीक नेतृत्व, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीको राजनीतिक नेतृत्वको मुख्य भूमिका देखिन्छ । सँगठन निर्माणका हकमा काठमाडौबाट अमृत बोहरा, मोरङबाट माधव नेपाल, इलामबाट झलनाथ खनाल र भक्तपुरबाट गोबिन्द न्यौपानेले नेकपा मालेको सँगठनको आधार खडा गर्न सिपीलाई सघाएका हुन् । यहाँ कतै पनि ओलीलाई दृश्यमा देखिदैन, किनकी ओली जेल परीसकेका थिए र त्यही नै उनको योगदान थियो । यही कारण झापा विद्रोहका पुराना कार्यकर्ता ओलीलाई ‘बिना सूचना हराएको साथी’ पनि भन्ने गर्छन् । 
जे होस्, आज तिनै हराएका साथी नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री भएका छन् र बालुवाटारमा भोजमाथि भोज दिइरहेका छन् । 

प्रचण्डको ‘महान छलाङ’

जसरी आज ओलीको वरीपरी झापा विद्रोहका सहयात्री देखिदैनन्, ठिक त्यसैगरी ‘ऐतिहासिक महान जनयुद्धका नायक’ प्रचण्ड पनि आफना सहयोद्धालाई छाडेर एक्लै ओलीसँग गला मिलाइरहेको देखिन्छ । गुरु मोहन बैद्य र चेला विप्लवलाई छलाङ मारेर प्रचण्डले बाबुरामसँग हात मिलाए । बाबुरामलाई छलाङ मारेर उनले नारायणकाजीसँग हात मिलाए । नारायणकाजीलाइ पनि छलाङ लगाएर बादलसँग हात मिलाइरहेका प्रचण्डले अन्ततः गुणात्मक छलाङ मारेर अहिले ओलीसँग गला मिलाएका छन् । 

प्रचण्डको नेतृत्वमा सत्र हजार नेपालीको बेफवाँकमा मृत्यु हुने गरी भएको जनयुद्धका क्रममा मारिएका एमाले नेता यदु गौतमकी श्रीमती तिर्था गौतमले समेत अब प्रचण्डलाई नेता मान्नुपर्ने भएको छ । बिगतमा मारिएका, लुटीएका, सदरमुकाम धपाइएका सारा नेता कार्यकर्ताले प्रचण्डलाई कमरेड अध्यक्ष भन्दै ‘संग्रामी अभिबादनको न्यानो’ मुठ्ठी उठाउन बाध्य हुनुपरेको छ । हिजो चितवनमा आफैलाई हराउने प्रचण्डलाई अब अध्यक्ष मान्नुपर्ने भएको छ, चितवनका देवी ज्ञवालीले पनि । 

सायद यही कारण मदन भण्डारी भन्थे, राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन । यदि यो भनाई साँचो हो भने प्रचण्ड र ओलीको यो मित्रमिलाप पनि स्थायी नहुनसक्छ । 

पुच्छर नभएको नयाँ बाँदर  

नेपालको कम्युनिष्ट आन्दोलनमा पुच्छर नभएका पार्टीहरु कमै अस्तीत्वमा आए । नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टीको नाममा कम्युनिष्ट शब्द छैन, तर यही एउटा दल हो, जो ‘जनवादी राज्यसत्ताको स्थापना नभएसम्म पुँजीवादी व्यवस्थामा सत्तामा जानुको अर्थ छैन’ भनिरहेको छ र आफ्नो विचारमा अडिग पनि छ । 

नेमकिपाबाहेक अधिकांश कम्युनिष्ट पार्टीहरु पुच्छरसहित जन्मीए । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा स्थापीत नेपाल कम्युनिष्ट पार्टीमा दोश्रो महाधिवेशनपछि नै किचलो सुरु भयो । पुष्पलाल र केशरजंग रायमाझी र त्यसपछि पुष्पलाल र मोहनविक्रम सिंहवीचको विवादका कारण कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । तिसको दशकमा मुक्तिमोर्चा, पुर्व कोशीय प्रान्तीय कमीटी, कोअर्डिनेशन कमीटी आदि सबै मिलेर नेकपा(माले) बन्यो भने पुष्पलालको बिरासत जोगाउँदै मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारीहरुको नेकपा (माक्र्सबादी)को पसल थापीरहे । उता,मोहनविक्रमको अलग्गै भान्सा थियो,नेकपा(मसाल) । हुँदा हुँदा यी कुनै पनि कम्युनिष्ट असली हैनन् भने केही नेताहरुले नेकपा(१५ सेप्टेम्बर) पनि बनाए । 

नेपालका कम्युनिष्टहरु लामो पुच्छर भएका बाँदर सरह भए जसले आफुले पनि केही नबनाउने र अरुलाई बनाउन नदिने हर्कत गर्दै आए । बाँदरले झैं घाउ कोटयाइरहने चरीत्र देखाए । बाँदरे प्रवृत्तिका कारण २०४८ सालमा काँग्रेसको बहुमतको सरका बन्न नपाउँदै कर्मचारी उचाल्ने, सडकका रेलीङ भाँच्ने सँसद चल्न नदिने आदि हर्कत गर्दै आए । लामो पुच्छर भएका बाँदर एउटा भए पो तह लगाउन सकिन्थ्यो, अनेक बाँदर भए । कम्युनिष्ट नाम झुण्डयाएका तर पुच्छर चाहिँ राख्ने । 

यस्ता बाँदरहरुले चर्तिकलाकै बिचमा २०५२ सालमा भारतमा विकसीत एउटा बाइब्रिड ढेँडु बादर उदायो, जसले सुदुर पश्चिममा गाँजा खेतीमा रजाई गर्न नपाएको निहुँमा मान्छेका घरमा घरमा पुगी उनीहरुले पकाएको खाना खाइदिन थाल्यो । भकारी फोर्न थाल्यो । हुँदा हुँदा त्यो ढेंडु नरभक्षी भयो र त्यसले मान्छेकै मासु खान थाल्यो । हाइब्रिड ढेंडुका सन्तानहरु बढदै गए र तिनले हलीउड भूमिमा डायनोसरले न्यूयोर्क सिटी नै तहसनहस गरे झैं सारा देशमा हिँशात्मक बबण्डर मच्चाए । 

हलीउड मुूभि ‘किङकङ’मा इन्जेक्सन दिएर बिशालकाय बाँदरलाई समातेर शहरमा ल्याएझैं गिरिजाबाबुले बाह« बुँदे समझदारीका क्रममा दिल्लीमै त्यो नेपाली ढेंडुको पुच्छरमा डोरी बाँधेर तान्दै काठमाडौं ल्याए र बृहत शान्ति सम्झौताको तालीम दिइवरी सँसद रुपी खोरमा ल्याएर थुने । सँसदमा अनेक पकवान (सत्ता सुख) खान पाएपछि त्यो ढेडु शहरतिरै पल्कीयो । अर्को राते बाँदर एमाले पनि सत्ताको पकवानमा पहिलेदेखि नै पल्कीइसकेको थियो । 

आज आएर यी विध्वंशकारी डेढु र चकचके राते बाँदरको सहबासबाट तेश्रो बाँदर जन्मीएको छ, जसको कुनै पुच्छर छैन । पुच्छर नभए पनि यसमा बाउ आमाको वंशाणुगत गुण अर्थात विध्वंश र चकचके दुबै एक साथ रहेछ भने यो बाँदर झन खतरनाक हुनसक्छ । त्यसैले  यो पुच्छर नभएको बाँदरले झन के के बितण्डा मच्चाउने हो भन्ने आशँका, चिन्ता र भय कायमै छ । यो पुच्छर नभएको बाँदरले लोकतान्त्रिक अधिकार भत्काउने, प्रेस स्वतन्त्रतालाई चिथोर्ने खतरा पनि कायमै छ । बाँदरे अधिनायकबादको खतरा नहोला भन्न सकिन्न । अतः लोकतन्त्र र शान्तिका परेवाहरु यो पुच्छर नभएको बाँदरबाट जोगिएकै बेस । (https://np.psjtv.com बाट साभार)

ताजा खबर