कांग्रेसजन निरास छन्, उर्जा खोई ?

२०७५ जेठ २५ शुक्रबार १४:५५:०० मा प्रकाशित

 
कांग्रेसमा नेताहरुको विशाल पंक्ति छ । केन्द्रदेखि जिल्लासम्म, नगरदेखि गाउँसम्म सक्षम नेता कार्यकर्ताहरुको विशाल कार्यकर्ता पंक्ति हुँदाहुँदै पनि कांग्रेसले किन चुनाव हार्यो ? अब यो प्रश्नमा बहस गर्नुको सान्दर्भिकता सकिँदै गएको छ ।

कांग्रेसको भविष्य के ? मुख्य प्रश्न यो हो । कांग्रेसमा यो विषयमा बहस चलिरहेको पनि छ तर सबैको मन छुने जवाफ आइसकेको छैन । कांग्रेसको भविष्यका बारे चर्चा गर्दा एउटा महत्वपूर्ण प्रश्न छुटाइने गरेको छ । देशको भविष्य के ? देशको भविष्य र कांग्रेसको भविष्यलाई गाँसेर जवाफ खोज्ने काम खासै भएको देखिँदैन । देशको भविष्य नै कांग्रेसको भविष्य हो, कांग्रेसको भविष्य नै देशको भविष्य हो । हुनत देशको भविष्यसँग हरेक पार्टीको र नागरिकको भविष्य गाँसिएको हुन्छ । तैपनि कांग्रेसको भविष्य र देशको भविष्य अन्योन्याश्रित हुनुका अनेक कारण छन् । 

अहिले कांग्रेसमा चरम निराशा देखिन्छ । कांग्रेसजनहरु हतास र निराश देखिन्छन् । नेताहरुको अभिव्यक्तिमा पनि यही देखिन्छ । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा गुट हुनु स्वाभाविक हो । निराशाको यो क्षणमा पनि कांग्रेसजनहरु गुटगत आग्रह र दुराग्रहमै रुमल्लिएर कांग्रेसको भविष्य के भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । गुटभन्दा माथि उठेर पार्टी भन्ने, पार्टीभन्दा माथि उठेर देश हेर्ने अनि जवाफ खोज्ने हो भने मात्र कांग्रेसको भविष्य के भन्ने प्रश्नको जवाफ भेटिने ठोकुवा गर्न सकिन्छ ।

कांग्रेसको भविष्य छ कि छैन भन्ने प्रश्न उपर विचार गर्दा यो प्रश्न नै अर्थहीन छ । लोकतन्त्रको जननी पार्टी नेपाली कांग्रेसको भविष्य छैन भन्ने निष्कर्ष निकालिन्छ भने लोकतन्त्रकै भविष्य छैन भन्ने ठहरमा पुगिन्छ । लोकतन्त्रको भविष्य छैन भने देशकै अस्तित्व धरापमा पर्न सक्छ । देशलाई बाँधेर राख्ने, हिमाल पहाड र तराईलाई एकसूत्रमा बाँध्ने लोकतन्त्र नै हो । लोकतन्त्रको अभावमा देशको भविष्य सुनिश्चित हुन सक्दैन । त्यसैले लोकतन्त्रको मीयो पार्टी नेपाली कांग्रेसको स्वत भविष्य छ । 

कांग्रेसको इतिहासका बारेमा चर्चा नै नगरौं । यति समृद्ध र गौरवपूर्ण इतिहास भएको पार्टी नेपालमा अर्काे छैन । विचारका दृष्टिले नेपाली कांग्रेस झन् अग्रणी छ । आज केही सीमित समूह बाहेक सबैले लोकतान्त्रिक व्यवस्था, नागरिक स्वतन्त्रता, बहुदलीय संसदीय व्यवस्था, खुला अर्थनीति, लोककल्याणकारी राज्यको अवधारणा स्वीकार गरिसकेका छन् । संसदीय व्यवस्था बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने कम्युनिष्टहरु पनि संसदीय व्यवस्थाको विकल्प छैन भन्ने अवस्थामा आइसकेका छन् । आज नेपालले हिँडिरहेको बाटो नेपाली कांग्रेसको वैचारिक पथ हो । 

नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । नेकपाले जेजस्तो वैचारिक खोल हालेपनि उनीहरुको हिँड्ने बाटो भनेको लोकतन्त्र नै हो । लोकतन्त्रको बाटो छाडेका दिन नेकपाको हैसियत रहँदैन । लोकतन्त्रको प्रवल प्रवाहले उनीहरुलाई विलोप गराइदिनेछ । चुनावी प्रतिस्पर्धाबाट कम्युनिष्टहरु सरकारमा पुग्ने जुन परिपाटी नेपालले अँगालेको छ, यो मूलत नेपाली कांग्रेसको वैचारिक विजय  हो । 

यसर्थ कांग्रेसले निरास हुनुपर्ने कुनै कारण देखिँदैन । तैपनि गत चुनावमा भएको पराजयले कांग्रेसजन निराश छन् । यो निरासा औचित्यपूर्ण छैन । लोकतान्त्रिक पार्टी चुनावमा पराजित भएर प्रमुख प्रतिपक्षी बन्दा निरास हुनुपर्ने कुनै कारण छ र ? यो निराशाको औचित्य छ र ? अहँ छैन । तैपनि कांग्रेसजन किन निराश छन् ? यो प्रश्नको जवाफ खोजिनुपर्छ । 

मानिसको जीवनमा झैं पार्टीको जीवनमा पनि आशा र निरासाको क्षण आइरहन्छ । यस अर्थमा कांग्रेसको निरासालाई अस्थायी मान्न सकिन्छ । निरासाको अर्काे कारण राजनीतिक इतिहास र उतार चढावलाई नबुझ्नाले पनि हो । कांग्रेसले यो भन्दा कैयन प्रतिकूल परिस्थिति भोगेको छ । कांग्रेसको भविष्य सुन्दर छ । वर्तमान संविधानले परिलक्षित गरेका लक्ष्य हासिल गर्ने काम कांग्रेसबाट मात्र सम्भव छ । यो संविधान कांग्रेसको वैचारिक गाइडबाट बनेको छ । एकीकृत भएर कांग्रेस अगाडि बढेमा भविष्यको चुनावमा कांग्रेसको विकल्प हुने छैन । 

अर्काे कुरा, कम्युनिष्ट पार्टीहरु संक्रमणकालमै छन् । उनीहरु कुन बाटो भन्ने अझै अलमलमा छन् । व्यवहारमा उनीहरुले लोकतन्त्र र संसदीय व्यवस्था अपनाइसकेका छन् तर विचारमा अपनाउन सकेका छैनन् । वैचारिक रुपमा ढुलमुल पार्टी ढल्छ । केही समय ठडियो भने पनि कालान्तरमा ढल्छ । यस अर्थमा अहिले सत्तारुढ नेकपाको भविष्य धरापमा देखिन्छ । उसले भविष्यमा कुनै पनि राजनीतिक वैचारिक बाटो लिन सक्छ । जुन बाटो लियो भने पनि त्यो बाटोलाई अस्वीकार गर्ने ठूलो जमात हुनेछ, वैचारिक असन्तुष्टि र असहमतिका कारण नेकपाले अहिलेको गति कायम राख्न सक्दैन । भविष्यमा नेकपाको विखण्डन अपरिहार्य छ । जहाँ विचारको विमति हुन्छ, त्यो पार्टी अगाडि बढ्न सक्दैन भन्ने नेपालको इतिहासले पनि देखाइसकेको छ ।

यता नेपाली कांग्रेसमा केही समस्या छैन । वैचारिक रुपमा कुनै विवाद छैन । लोकतन्त्रको विकल्प कम्युनिष्टहरु सोच्छन् तर कांग्रेसले सोच्दैन । कांग्रेसलाई लगाउन सकिने आरोप हजारौं होलान् तर कांग्रेसको लोकतन्त्रप्रतिको निष्ठामा कसैले शंका गर्न सक्दैन । 

कांग्रेसको भविष्य छ तर अहिले कांग्रेसमा जागरणको भावना छैन, उत्साह छैन । उत्साह नेतृत्वले जगाउनुपर्ने हो । नेतृत्वले त्यसो गर्न सकिरहेको छैन । नेतृत्व परम्परागत शैलीमै चलिरहेको छ । पार्टीभित्र नयाँ पुस्ताको शशक्त उदय भइसकेको छ तर उनीहरु पूरानो पुस्ताको छायाँमै रमाइरहेका छन् । जनताले, कार्यकर्ताले नयाँपन खोजिरहेका छन् । पार्टीपंक्तिमा उर्जा सिर्जना गर्ने रणनीति र कार्यनीति खोजिरहेका छन् । यस्तो उर्जावान नेतृत्व कांग्रेसको अहिले केन्द्रमा देखिएकाहरुले प्रदर्शन गर्न सकिरहेका छैनन् । त्यसो भए अहिले कांग्रेस केन्द्रमा नदेखिएका अनुहारबाट कांग्रेसलाई जागृत गराउने काम हुनसक्ला ? यो सम्भव छ ।

कांग्रेस कार्यकर्ताहरु, कांग्रेसका शुभेच्छुक र आम जनता अहिले कांग्रेसभित्रबाट यस्तो नेतृत्व खोजिरहेका छन् जसले जागृति ल्याउन सकोस् । कांग्रेसजनमा आशा र उत्साह भर्न सकोस् । पार्टीभित्र सकारात्मक परिवर्तन ल्याउने एउटा अभियान कांग्रेसले खोजिरहेको छ । त्यो अभियान गुट र उपगुटभन्दा माथि उठोस्, त्यो अभियानले देश भनोस्, अनि त्यो अभियानले कांग्रेसको भविष्य र देशको भविष्यलाई एकीकृत रुपमा चिन्तन गरोस् । 

अहिले चर्चामा रहेका युवा नेताहरु विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गगन थापा, प्रदिप पौडेल, उमेशजंग रायमाझी, नवीन्द्रराज जोशी लगायत दर्जनौं छन् । उनीहरु मध्ये कसैले कांग्रेसमा उर्जा अभियान चलाए हुने हो । तर, त्यस्तो लक्षण देखिएन । उनीहरुभन्दा माथिल्लो पंक्तिका नेताहरुबाट पार्टीभित्र उर्जा अभियान चलाइने संकेत नै देखिएन । तलको पुस्ताबाट यो सम्भव होला की ? अहिले चर्चामा रहेका नेताहरुभन्दा पछिल्लो पुस्ताले पार्टीभित्र उर्जामूलक जागरण अभियान चलाउन इमानदार प्रयास गर्ने हो भने कांग्रेस जुरुक्क उठ्न सक्छ । यो कुरा कांग्रेसका सबै पुस्ताका नेता कार्यकर्ताहरुले बुझुन् ।

ताजा खबर