'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु' - अभिनेत्री मनिषा कोइराला

२०७५ जेठ २४ बिहीबार १२:३८:०० मा प्रकाशित

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने कुरा होईन। अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनमा यी सबै उतारचढाव भोगेकी छिन् । मनिषा यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’लाई लिएर निकै चर्चामा छिन्। यो फिल्ममा उनी सञ्जयकी आमा नरगिस दत्तको भूमिकामा देखिँदैछिन्।
अभिनेत्री मनिषा कोइरालासँग नवभारत टाईम्सकी रेखा खानले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –

हरेक सम्बन्धले तपाईँलाई केही न केही सिकाएको छ । आफ्नो जीवनमा ब्रेकअप र डिभोर्सबाट के सिक्नुभयो ?

अहिले म एउटा यस्तो बहादुर महिलासँग खाना खाएर आएकी छु जो सम्बन्धको मामलामा अभागी थिइन्। उनले जीवनमा धेरै धोका पाइन्। हामीबीच जब सम्बन्ध र त्यो डिभोर्सको प्रसंग निस्कियो त्यो बेला हामीबीच काममा दत्तचित्त हुनुपर्छ भन्ने चर्चा चल्यो। हामी महिलाले के बुझ्नुपर्छ भने सम्बन्धको कुनै ग्यारेन्टी हुँदैन।

म यही भन्छु कि यदि कसैले मेरो सोझोपन, मेरो प्रतिभा र प्रेमलाई चिन्न सकेन भने त्यो उसका लागि नोक्सानको कुरा हो। त्यसकारण म आफूलाई किन बिचरी सम्झिउँ?

‘सञ्जु’मा तपाईँ सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिकामा हुनुहुन्छ। तपाईँलाई कुनै संकोच त लागेको छैन?

मलाई लाग्छ म आफ्नो करियर र जीवनको सुन्दर क्षणमा छु। म आफ्नो मिड फोर्टीमा रमाइरहेको छु। मलाई जब यो भूमिकाको अफर आयो तब मलाई यही कुराको डर थियो कि म यो भूमिकालाई नरगिसजीको शैलीमा देखाउन सक्छु कि सक्दिन । किनकि अहिलेसम्म मानिसले नरगिसजीलाई बिर्सन सकेका छैनन् ।

उनका हरेक कुराहरु मानिसको दिमागमा छन् ।  मिल्दोजुल्दो गर्न सक्छु कि सक्दिन भन्ने कुरामा चिन्तित र नर्भस थिएँ । निर्देशकले यो कुरामा मलाई निकै सहयोग गरे । त्यसकारण मलाई लाग्छ कि एक राम्रो निर्देशक र टिमसँग काम गर्न पाउनु तपाईको प्रस्तुतिका लागि निकै आवश्यक कुरा हो  । नरगिस वरिष्ठ अभिनेत्री हुन् । मैले पर्दामा उनले गरेको बराबर एक प्रतिशत पनि काम देखाउन पाएँ भने आफूलाई भाग्यमानी सम्झिन्छु।

तपाईँको समयमा ४० वर्ष पछि या विवाह पछि हिरोइनको करियर खत्तम हुन्छ भन्ने मान्यता थियो। आज फिल्म उद्योगमा हिरोइनको स्थिति कति बद्लिएको छ?

अहिले पूर्ण रुपमा बदलिसकेको त छैन तर केही न केही  बदलिएको छ । हामीलाई अझै पनि सम्हालिएर काम गर्नु परिरहेको छ किनकि कतै हामी टिपिकल आमाको भूमिकामा टाइपकास्ट त हुँदैनौं भन्ने डर छ । म यी सबै कुराबाट निकै डराउँछु किनकि यदि तपाईको विवाह भएको छ या ४० वर्षको उमेर कटिसकेको छ भने तपाईलाई टिपिकल आमाको भूमिकामा अभिनय गर्न दिइन्छ । यदि मलाई ‘सञ्जु’ या अन्य ठूलो व्यानरको फिल्ममा आमाको भूमिका दिइन्छ भने त्यो भूमिका म सहर्ष  स्वीकार्छु। तर टिपिकल आमाको भूमिका चाहिँ गर्न सक्दिन।

क्यान्सर जस्तो ज्यान जाने रोगलाई पराजित गरेर वास्तविक जीवनमा तपाईँ आफै एक योद्धा साबित हुनुभएको छ । यो कठिन समयमा तपाईँको सबैभन्दा ठूलो सहारा के थियो?

म यो कुरामा भाग्यशाली मान्छु कि मसँग एउटा यस्तो परिवार छ, जो मेरो ठूलो आधार थियो। क्यान्सर हुँदा म दिनरात रुन्थें। मेरो हिम्मत हाथ्र्यो। मलाई सम्झना छ एक पटक त म ठूलो डिप्रेसनमा थिएँ।

क्यान्सरको समयमा मैले एउटा औषधि सेवन गर्थे, जसले ह्वाइट ब्लड सेल बनाउँथ्यो। त्यो समयमा मेरो प्लेटलेट काउन्ट्स निकै कम भएको थियो र म निकै कमजोर बनेको थिएँ। किमोथेरापीका कारण हड्डीमा निकै दुख्थ्यो। एकपटक मलाई यति पीडा भयो कि मैले आमालाई म यो अवस्थामा बाँच्न चाहन्न पनि भने। म रोएको बेला मेरी आमा पनि मसँगै रुनु हुन्थ्यो।

उहाँ रुँदारुँदै ‘तिमी हाम्रो लागि पनि बाँच्नुपर्छ। आफूलाई सम्हाल। यदि तिमीलाई केही भयो भने हामीलाई कसले हेर्छ’ भन्नुभएको थियो। आमाको यो कुराले मलाई ठूलो हिम्मत दियो। जब म न्युर्योकमा आफ्नो क्यान्सरको उपचार गराइरहेको थिएँ, त्यो बेला मैले मेरो वरिपरी बसेका मान्छेहरु उदास, डिप्रेस र एक्लो देखें। त्यो माहौल निकै डरलाग्दो थियो।

अमेरिकामा फेमिली सर्पोट सिस्टम छैन। त्यहाँ मानिस एक्लो हुन्छ। म कैयौंपटक जानेर बुझेर आफ्नो आँखामा चमक आएको अभिनय गर्थें। आफूलाई साहसी देखाउने कोशिस गर्थे। मेरो त्यही अभिनय र आत्मविश्वासले मेरो हिम्मत बढायो।

तपार्इँ क्यान्सरसँग संघर्षरत महिलालाई के सुझाव दिन चाहनुहुन्छ?

तपाईंले आफ्नो इच्छाशक्तिलाई बलियो बनाइराख्नु पर्छ। तपाईले जिन्दगी निकै सुन्दर छ भन्ने कुरालाई सधैं बुझ्नुपर्छ। सत्य यो हो कि हामी सबै महिलामा कुनै पनि समस्याबाट पार पाउनका लागि अदम्य शक्ति हुन्छ।

हामीले आफ्नो डिप्रेसन  दुःखलाई रुने समय दिनुपर्छ। यदि तपाईसँग रुने इच्छा छ भने धेरै रुनुहोस्। तर रोइसकेपछि जिन्दगी जितेको अनुभव गर्दै मुस्कुराउनुहोस्। त्यसले तपाईंलाई उर्जा दिन्छ।

बलिउडकी सुन्दरी अभिनेत्रीका लागि क्यान्सरले शरीर र कपालमा पनि क्षति पुर्यायो। क्यान्सरले आफ्नो सौन्दर्यमा क्षति गर्दा चिन्ता लागेन?
साँच्चै त्यो क्षण निकै भयावह थियो। यो कुराले मलाई निकै तनाव दियो। मैले त्यो बेला मेरो रुपभन्दा पनि आत्मविश्वासलाई जरुरी ठानें। म धेरैपटक ऐना अगाडि उभिएर रोएकी छु। तर पनि मलाई बाँच्नु छ भन्दै धैर्य गर्थे । आज फेरि ऐना हेर्दा ओहो त्यो त्रासदीबाट कसरी मुक्ति पाएँ भन्दै सोच्दछु।

ब्रेकअप र डिभोर्सपछि प्रेमलाई लिएर तपार्इँको मनमा कुनै नयाँ सोचबिचार आएको छ कि?

अ हँ,पटक्कै छैन । आज म यो निष्कर्षमा पुगेको छु कि पहिलो प्रेम, थाहा नपाइ अन्तिम पनि हुनसक्छ। त्यो नै मेरो काम हो। म एक्लै नै इन्जोय गरिरहेकी छु। म आफ्नो मिड फोर्टीको आनन्द उठाइरहेकी छु। म आफ्नो काम र भूमिकाबाट धेरै खुशी छु।

तपाईँ आफ्नो फिटनेस र सुन्दरतालाई कसरी तन्दुरुस्त बनाइराख्नुहुन्छ?

म केही न केही रुपमा आफूलाई सक्रिय राख्छु। हालै मात्र म फ्लुबाट तंग्रिएकी छु र आफूलाई कमजोर महसुस गरिरहेकी छु। मलाई पानीको फोबिया छ। त्यसकारण म मस्तसँग पौडी खेल्छु। मलाई नयाँ कुरा गर्न निकै रुची लाग्छ मन पनि पर्छ।

म योगा, स्ट्रेचेज नृत्य, जिम, स्पोर्ट्स आदि गर्न रुचाउँछु। जब म नेपालमा जान्छु, त्यहाँ मलाई हाइकिङ जान निकै मनपर्छ। एकपटक त म ११ घण्टासम्म निरन्तर हिँडेकी छु। त्यो हिँडाइले धेरै दिनसम्म खुट्टा दुखेको मीठो अनुभव छ।

 
 

ताजा खबर