नेपाली कांग्रेस एलिट क्लव बन्ने खतरा

२०७५ जेठ २२ मंगलबार १७:२२:०० मा प्रकाशित

कांग्रेस पार्टीमा कार्यकर्ता निर्माणको चरण निकै दुखदायी छ। कार्यकर्ताहरु भोकैतिर्खै होल टाइमर भएर कुदिराखेका छन्। बिहान बेलुका नेताको घरमा देखिनु परेको छ। नेताको आफ्नो रवाफ धाकधक्कु सुन्नु समर्थन गर्नु परेको छ। दिउँसो चिया टेबलमा बसेर तिनै नेताको कुरा गुटको कुरा गरेर दिन कटाउनु परेको छ। सेल्फी खिच्न पाएमा धन्य मान्नु परेको छ। उत्पादन, श्रमबाट छुटेर आर्थिक आयआर्जनको काम गर्न नपाएर साहु, पसल, बैंक, आफन्तले नपत्याउने अवस्था आइपरेको छ।


अहिले कांग्रेस पार्टीभित्र निकै छटपटाहट देखिन्छ । एक स्थिर पोखरीमा तरंग आए झैं । बिशेषत निर्बाचनको शर्मनाक पराजयपछि ठूला बाम पार्टीहरुको एकतापछि। दोष केन्द्रीय नेतृत्व माथि लगाइएको छ। जुन सत्य पनि हो। केन्द्रीय नेतृत्व त मिसनमा असफलप्राय नै भएको छ।  तर प्रश्न छ के भोलि आउने नेतृत्वबाट यो सबै समस्याको एकसाथ सहज समाधान सम्भव छ त? त्यो पनि देखिँदैन। तसर्थ समस्या दर्शन, सिद्धान्त, बिचार, नीति, संरचना, कार्यक्रम, पद्दतिमा छ। अनि पात्र, चरित्र र प्रबृतिमा छ। यसै ठम्याइलाई यहाँ प्रस्तुत गरेको छु। 

१.  विचारको धार परिवर्तन अथवा सेन्टर टु पेरीफेरी

कांग्रेस पार्टीले बिचारको लोकेशन क्रस गर्नु पर्छ भनेर बोल्दै आएको छु। यसो हेर्दा केही एलिटहरु आउने बस्ने खाने खेल्ने नाचगान गर्ने क्लब जस्तो मात्रै बन्न जाँदैछ यो पार्टी। आम नागरिक, तल्लो तहको जनता, किसान, मजदुर, श्रमिक सामाजिक रुपमा पिछडिएको जाति वर्ग टाढिँदै गइरहेको परिस्थिति छ। यदि यो अवस्था कायम भयो भने कांग्रेस पार्टी एलिटहरुको क्लवमा मात्रै सीमित रहनेछ। यसो हुँदै जाँदा यो पार्टी तिनै सम्भ्रान्तहरुको सुरक्षा कवचको रुपमा विकसित हुनेछ। अहिलेको नेतृत्वको चालढाल, विवेक, कार्यशैली हेर्दा यस्तै देखिन्छ। त्यसैले म बारबार कंग्रेस पार्टीले विचारको लोकेशन पार गर्नुपर्छ भनेर कराइरहेको छु। मैले किन त्यसो भनिरहेको छु भने लोकतन्त्रको आयतनले आम मानिसलाई भेट्नुपर्छ। संवाद गर्नु पर्छ। जसको लागि कंग्रेस तयार हुनुपर्छ। बर्तमानको एलिट नेतृत्वबाट यो संभव छैन। तर यो अवस्थितिबाट पार्टीलाई निकालेर आम मान्छेमा पुर्याउन विचार पक्षबाट सुरु गर्नु पर्छ। त्यो सहज फैलावटको लागि मैले सेन्टर टु पेरिफेरिको कुरो गरेको हो। 

एस्तो किन भइरहेको छ भने यहाँका विद्वान महोदयहरु छलफलमा सेन्टर टु लेफट, सेन्टर टु राइट भनेर ब्याख्या गर्छन्। यो नाराले समस्या दिएको छ। केन्द्रदेखि कित दाँया कित बाँया उभिन पर्ने बाध्यात्मक स्थिति सिर्जना गरेको छ। यही मेसोमा नेका पक्ष केन्द्रबाट दाँया भन्दै हिँड्दा किनाराबाट पनि भीरमा खस्न लागेको अवस्था छ। हुनत कर्मशीलले भीरबाट खस्तापनि मोति टिपेर आउँछ रे भन्ने पनि यहाँ नहोला। त्यसैकारण दायाँ बायाँ सबैलाई जोडेर सेन्टर टु पेरीफेरीको रचना गरिएको हो। यसले केही सिमितताहरुलाई तोड्छ। एक राजनीतिक दल जस्ले सिंगो मुलुक बनाउने ऐतिहासिकतासँग सम्बन्धित छ जो सिमित वर्ग, सिमित जाति, सिमित भेग सिमित ठाउँतिर फर्केको मात्रै हुनु पर्छ भन्ने कुरो रहेन। यदी तेसो हो भने सो स्थापित मूल्यलाई विस्थापन गर्नुपर्छ। र सबैलाई एकैसाथ सँगसँगै जोडेर उनेर लान सक्नुपर्छ । यसमा सहयोग गर्छ केन्द्रदेखि कक्षसम्मले। कक्ष भन्नाले केन्द्रका सबैतिरका परिधिहरु। जसले केन्द्र कि दायाँ कि बायाँ को दिविभाजक अवधारणालाई विघटन गर्छ। बहुलवादी नेपाली सामाजिक यथार्थलाई बोक्तछ। विघटनकारी क्रान्तिकारी चरित्रको प्रतिनिधित्व गर्दछ। 

२.बैधानिक अदालत

पार्टी परम्परामा के देखिन्छ भने सबै निकायहरु समान जिम्मेवार हुनुपर्छ। राष्ट्र निर्माणको लागि सम्पूर्ण जीवन समर्पण गर्ने रुचीले राजनीतिमा संलग्न भएकाले स्वाभाविक राम्रो गर्छ। जानेसम्म राम्रो गर्छ। विधानत हिँड्छ। इमान्दार नैतिकवान संस्कृति संस्कारको बिकास गर्छ भन्ने सबैलाई लाग्छ। सोही आशा गरिन्छ। निकायमा पनि तल्लो निकायभन्दा माथिल्लो निकाय स्वत जिम्मेवार रहनुपर्छ भन्ने देखिन्छ। तर कहिलेकाँही के भैदिन्छ भने माथिल्लो निकायले नै मनमौजि गर्न शुरु गर्दछ। जस्तो अहिलेको अनियन्त्रित केन्द्रिय समिति र सभापतीको कृयाकलाप यसको उदाहरण हुन्। केन्द्रीय समिति भद्रगोल छ। विधान अनुरुप हिँडेको छैन। अरुतिर नजाऔं महाधिवेशनको दुइ महिना भित्रमा नियुक्ति गरिसक्नुपर्ने प्रमुख पाँच पदलाई तीन बर्ष लगायो। बर्ष दिनमा एकपटक बस्नुपर्ने महासमितिको बैठक आजसम्म बसेको छैन।

यस्तो अकर्मण्यतालाई यो भन्न सकिन्छ कि पार्टी तीन बर्षमा दुइ महिनाको दुरी मात्रै पार गर्यो। तर त्यत्रो बर्ष बीचमा ठूला ठूला स्थानिय, प्रान्तिय, संघिय चुनावको सामना गरेर पनि लज्जास्पद हार ब्यहोरिसकेको थियो।  यो एउटा उदाहरणीय किंकर्तव्यबिमूढता हो। यसलाई कसरी नियन्त्रण गर्ने भने पार्टीभित्र विधानको ब्याख्या गर्नेको लागि बैधानिक अदालतको ब्यवस्था हुनुपर्छ। जहाँ कार्यकर्ताहरुले प्रश्न गर्न सकोस्। पार्टी सभापतिले जवाफदेही हुन परोस्। फाल्तु कुरो भन्दा नि बिधानको सरासर प्रयोग गरोस्। यसले पार्टी देशलाई फाइदा गर्छ। माथिल्लो तहले गल्ति गर्दैन भन्ने मान्यता अब सिध्दिएको छ कि गल्ति नै माथिल्लो निकायले गर्छ। तल्लो निकाय त इमान्दार छ रातोदिन बुद्धी र बलले भ्याएसम्म त्यही पार्टी निर्माणको लागि खटिरहेकै छन्। खटिरहन्छन्। अब त गल्ति नै माथिल्लो निकायले गर्दछ भन्ने मान्यता स्थापित भएको छ। तल्लो निकाय त उनीहरुको फगत गल्तिको शिकार भएका छन् । तलका समर्थकहरु माथिकाले गरेका गल्तिको उत्तर दिँदादिँदा असिनपसिन भएका छन्। यो अवस्थामा चुनाव जित्नुको त कुरै छोडौं। आफंैलाई समाजमा कसरी योग्य बनाउने भन्नेतिर ध्यानदिँदा चुनाव स्वभाविक हाम्रो पोल्टामा पर्छ। 

पार्टीलाई यस्तो स्वेच्छाचारिताबाट कसरी मुक्त गर्ने भन्ने सम्बन्धमा मैले पार्टीगत बैधानिक अदालतको व्यवस्था गर्नुपर्छ भन्ने अवधारणा तयार गरेको हँु। यसले पार्टीलाई विधानको ब्याख्यामा सहयोग गर्छ। विधानत काम गर्न लगाउँछ। यदी विधानबाट बाहिर गइहालेमा, त्रुटि देखिएमा क्रियाशिल सदस्य कसैले मुद्दा हालेर कन्ट्रोलमा ल्याउँछ। फलत पार्टी देशको एक जवाफदेही पारदर्शी पार्टीमा रुपान्तरण हुन्छ। आम कार्यकर्ताहरु सचेत, चनाखो भएर रहन्छ। जुनसुकै पार्टी सभापति बनोस् तर पार्टी संस्थागत भएर चल्छ। अनि माथिकाले गल्ति गर्दैन गल्ति गरे आन्तरिक विधानले पक्रिन्छ भन्ने मूल्यको स्थापना हुन्छ। यो केन्द्रको मात्रै सवाल हैन। केन्द्रदेखि प्रदेश, जिल्ला, क्षेत्र, गाउँनगर, वडा तहसम्म स्थापना गरिनु पर्छ। अधिबेशनबाटै स्थापना गरिनु पर्छ र शक्तिशालि बनाउनु पर्छ। विद्यमान अनुशासन समितिलाई नै अलि विकसित गरेर गरेर पार्टी अदालतमा रुपान्तरण गर्दा हुन्छ। हालको अनुशासन समिति चाही ठुलाले सानालाई ठेगान लगाउने भएको छ भने अदालत चाही सानाले ठुलालाई प्रश्न गर्न पाउने, ध्यानाकर्षण गराउन पाउने, निरंकुश स्वेच्छाचारी हुनबाट रोक्न सकिने हकको अवस्था निर्धारण गरिनु पर्छ। जसले सबै समान जिम्मेवार हुने अवस्थाको सिर्जना हुनेछ। कंग्रेस पार्टीले गल्ति गर्दैन भन्ने मान्यताको स्थापना हुनेछ। समाजमा आम मान्छेको भरपर्दो पार्टीको रुपमा स्थापित हुनेछ। सबै नेपालीको भाग्य भविष्य निर्माण गर्ने पार्टीको रुपमा स्थापित हुनेछ। त्यसो गर्दा आम नेपाली नागरिकलाई धोका पनि हुँदैन। उनीहरुको आशामा तुषारापात पनि हुँदैन। 

३, भातृ संस्थाहरुलाई शुभेच्छुकमा परिणत गर्दै मास वेस्ड पार्टी संरचना

हुनत कंग्रेस पार्टीलाई मास बेस्ड पार्टी नै भनिन्छ। तर यसको संरचना, संचालन विधि क्याडर्स वेस्ड चरित्रको छ। उसो त ठूलाठूला क्रान्ति कार्यकर्ताको योगदान, समर्पण, बलबाट नै सम्पन्न भएको हो। त्यो गौरवपूर्ण बलिदानको इतिहास सदा स्मरणीय, श्रध्देय छ। तर बर्तमानको कार्यभार भने अलि भिन्न छ। अबको कार्यभार पुरा गर्न लोकतन्त्रको आयामलाई विकास गर्न कार्यकर्ता निर्माणको बर्तमानको अति दरिद्र तरिकालाई परिवर्तन गर्नुपर्छ।

 कंग्रेस पार्टीमा कार्यकर्ता निर्माणको चरण निकै दुखदायी छ। कार्यकर्ताहरु भोकैतिर्खै होल टाइमर भएर कुदिराखेका छन्। बिहान बेलुका नेताको घरमा देखिनु परेको छ। नेताको आफ्नो रवाफ धाकधक्कु सुन्नु समर्थन गर्नु परेको छ। दिउँसो चिया टेबलमा बसेर तिनै नेताको कुरा गुटको कुरा गरेर दिन कटाउनु परेको छ। सेल्फी खिच्न पाएमा धन्य मान्नु परेको छ। उत्पादन, श्रमबाट छुटेर आर्थिक आयआर्जनको काम गर्न नपाएर साहु, पसल, बैंक, आफन्तले नपत्याउने अवस्था आइपरेको छ। तेसैले आफ्नो पार्टी सरकारमा पुगे कर्मचारी सरुवा, बढुवा, नियुक्ति धन्दा चलाउनु परेको छ। स्ववियुमा पुग्नु तँछाडमछाड गर्नु परेको छ। गाउँघरमा बन, खानेपानी, रोड, विधालय उपभोक्ता समितिमा बस्यो। काम बिगार्यो। यसरी श्रम गर्न भन्दा व्यवसाय गर्न भन्दा कमिसन ठगी भ्रष्टाचारलाई राजनीतिक कर्तव्य ठान्यो। यस्तो संस्कार र संस्कृतिबाट उत्पादन भएको नेताहरुबाट मुलुकले केही आशा गर्न सक्तैन। पार्टीले तिनै कार्यकर्ताहरुलाई व्यवसायीक, श्रमजीवि, उद्योगी बनाउन आजको समयमा ज्यादै जरुरी छ। नत्र भने कार्यकर्ता, पार्टी, समाजको भविष्य चौपट देखिन्छ। 

देशको ठूलो युवा जनशक्तिलाई उत्पादनको क्षेत्रमा लगाउनु जरुरी छ। आफुलाई चाहिने जति आफैं श्रमपूर्वक कमाउने वातावरण सिर्जना गर्नुपर्छ। यो नै राष्ट्र, समाज, देशको हितमा छ। हाम्रो चाहनाको भोलिको सुन्दर, शान्त, समृद्ध नेपालको हितमा छ। यसैको लागि मैले मास बेस पार्टीको प्रस्ताव गरेको हुँ। एकातिर कार्यकर्ता माझ सहि बैचारिक, सामाजिक, संस्कृतिक, व्यवसायिक स्कुलिङको जरुरी छ भने अर्कोतिर पार्टीलाई समाजका प्रतिष्ठित, बौद्धिक, पेशागत व्यवसायी, कवि साहित्यकार, कलाकार खेलाडी, उद्योगपति, राष्ट्र सेवक, कर्मचारी, बैज्ञानिक माझ पुर्याउन जरुरी छ। यो देशका प्रति असल सोच्ने, इमान्दार काम कर्तव्य निर्वाह गर्ने, सद्भाव, सहिष्णु मैत्रिपूर्ण संस्कृति भएको, हृदय परिवर्तनको सिद्धान्त अन्तर्गत तल्लो बर्गलाई उठाउने चाहाना राख्ने, ब्यक्तिहरुमाझ पुर्याउन र उनीहरुलाई प्रश्रय गर्दै पार्टी र राज्य सत्तामा सहभागी गराउन जरुरी छ। कंग्रेस पार्टीलाई सफलहरुको पार्टी, मिहिनेतिहरुको पार्टी, असल इमान्दारहरुको पार्टी, राष्ट्र निर्माणको लागि जुनसुकै त्याग, तपस्या गर्न सक्नेहरुको पार्टी, आफुलाई साधन बर्गको रुपमा परिणत गर्नेहरुको पार्टीको रुपमा निर्माण गर्न जरुरी छ। समाजमा जो योग्य, क्षमतावान, उर्जावान छ उसैलाई स्वत कंग्रेस पार्टीको स्वत सदस्य बन्ने बाटो अपनाउनु पर्छ। उनैलाई पदिय जिम्मेवारीमा आवतजावत गर्न सक्ने बनाउनुपर्छ। यसैको लागि क्याडर्स वेस्ड पार्टी संरचना भत्काएर मास वेस्ड संरचना अंगाल्नु पर्छ। मेरो कुरो यो हो।

मलाई लाग्छ यसको लागि पार्टीले भातृ संस्थाको रुपमा विकसित गर्दै गरेको नेवि संघ, तरुण दल, महिला संघ जस्ता संस्थाहरुलाई शुभेच्छुक संस्थामा परिणत गर्नुपर्छ। भातृ संस्थाबाट कस्तो कार्यकर्ता निर्माण भइरहेको छ भन्ने कुरो भैसक्यो। शुभेच्छुक संस्थाबाट कस्तो कार्यकर्ता निर्माण गर्नुपर्छ भन्ने पनि छलफलमा आएको छ। अथवा शुभेच्छुक संस्था मार्फत यो देशलाई चाहिने योग्य व्यक्तित्वहरु, असल पेशागत व्यक्तित्वहरु, दार्शनिक सामाजिक व्यक्तित्वहरु, असफलतालाई सफलतामा परिणत गर्न सक्ने व्यक्तित्वहरु निर्माण गर्नु पर्दछ। योग्यतम व्यक्तिहरुको संरक्षण गर्नु पर्दछ। पार्टी यसरी जिम्मेवार भएर हिँडेपछि प्रतिपक्षको चियोचर्चा, दोष, खोट खोजिरहन नै पर्दैन। त्यो अलोकतान्त्रिक संस्कृति आफंै निमिट्यान्न भएर जान्छ। 

४. कृषि उत्पादन क्रान्ति अभियान 

एमाले र माओवादी मिलेर नेकपा बनिसकेको सन्दर्भमा अब कंग्रेस पार्टीको पाटा भनेको जिम्मेवार रचनात्मक प्रतिपक्ष नै हो। यो अवधी अलि लामो पनि हुनसक्छ। तर सधैंलाई भने हैन। यो बेलामा हामीले हाम्रो चरित्र, कार्यशैली भने बदल्नुपर्छ। यो समय आफंैलाई प्रयोग, आत्मसमीक्षाको समय हो। यो बेला विचारलाई क्लियर गर्दै संगठन गर्ने कार्यकर्ताहरुलाई उत्पादनको पक्षमा क्रियाशील गर्ने समय हो। भारत या मोदीजीले नाकाबन्दी लगाएपछि हामीलाई थाहा भयो कि हामी कृषिजन्य उत्पादनमा पुरै भारतमुखि छांै। कृषि प्रधान देशमा दैनिक प्रयोगको बस्तुहरु नै भारतबाट आयात भैरहेको छ। यो शरमलाग्दो कुरो हो। हाम्रो निरिहताको पराकाष्टा हो। मुलुक यसरी टाट पल्टिरहेको छ भन्ने उदाहरण हो। आलु, प्याज, गोलभेडा, धनियाँ, लसुन, फलफुल, फुल, चामल, मकै, गहुँ, कोदो जस्ता तरकारीजन्य बस्तु मात्रै यो आर्थिक बर्ष २०७४÷७५ मा करिब आठ अर्ब आयात गर्नुपरेको तथ्यांक बोल्छ। ताकी उत्पादनशील श्रमिकहरु नेपालमै खाली छ। ठूलो कृषि उत्पादनको क्षेत्र यो देशलाई नै बनाउन सकिन्छ। कृषी उत्पादनमा लाग्न आकर्षित र प्रोत्साहित गर्न सकिन्छ। पुरानो कृषि कार्यले यथेष्ट उत्पादन दिन सक्तैन। कृषिलाई आधुनिकिकरण गर्न जरुरी छ। सामुहिक खेती प्रणालिको विकास गर्ने। किसानहरुलाई अनुदानको ब्यवस्था गराउने।

सस्तो ब्याजमा सुलभ ऋण उपलब्ध गराउने। कृषि जन्य सामग्री विउ, मलखादको व्यवस्था गर्ने गराउने। कुलो नहर पैनी, सिंचाईको ब्यवस्था गर्ने गराउने। उत्पादनलाई बजार प्रबर्धनको व्यवस्था गर्ने गराउने। यो कामलाई कार्य योजना, कार्यनीति, कार्यभारको रुपमा नेपाली कांग्रेस पार्टीले गर्न सक्छ। यसो गर्दा रचनात्मक प्रतिपक्षको जिम्मेवारी पनि पुरा हुन्छ। मुलुक आर्थिक रुपले पनि उकालो लाग्छ। नेपाली समाजवाद पनि शुरु हुन्छ। हामीले अरु उत्पादन जस्तै मोटर गाडी, कम्प्युटर, जेट विमान बनाएर विश्व वजारमा बेच्न सक्तैनौं। बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिष्पर्धा गर्न सक्तैनौं। रेल, पानी जहाज कुदाएर मुलुकलाई टाट पल्टाउने काम सोच्न जरुरी छैन। हामीले कृषि उत्पादनमा आत्मनिर्भर भएर विदेशमा निर्यात गर्न चाही सक्छौं यो भयो भने मुलुकको राष्ट्रिय आयमा ठूलो काम हुनेछ। हाम्रो समाजवाद सही सलामत सफल हुनेछ। विदेशीएका नेपाली युवाहरुलाई स्वदेशमा तान्ने, जान लागेकालाई रोक्ने कार्यक्रम पनि यही हुनसक्छ। यो कामको जिम्मेवार नेतृत्व सही रुपमा नेपाली कांग्रेस पार्टीले गर्न सक्छ र गर्नुपर्छ।

जसको लागि एउटा विभाग बनाएर कृयाशिल गरे हुन्छ या नेपाल किसान संघलाई अगाडि बढाए पनि हुन्छ। पार्टी राजनीति सत्ता प्राप्तिसँग मात्रै जोडिँदैन। जीवनको सार्थक यात्रासँग पनि जोडिन्छ। यसोगर्दा राष्ट्रिय आयमा काम गरेको नेपालीले नेपालमै व्यवसायगत लगानी गरेको रोजगारीको अवसरहरु खुलेको जसले आत्मनिर्भर अर्थतन्त्रमा लगानि भएको गौरवबोधले पनि पार्टी संगठन जनताको मनमा फस्टाएर रहनेछ। किनभने यो किसानहरुको देश हो। यसरी नै अरु विषयलाई पनि काम गर्न सकिन्छ जस्तो जलस्रोत, पर्यटन, उर्जा, जडिबुटी आदि आदि। कंग्रेसको रचनात्मक प्रतिपक्षता यस्तो हुन जरुरी छ। 

५. चौतर्फी या सर्वाङ्ग क्रान्ति महाअभियान

यसलाई मैले शुरुमा सर्वाङ्गीण या चौतर्फी क्रान्ति भनेको थिएँ । सर्बाङ्गीण शब्द अलि प्रशारण नभएकोले सर्बाङ्ग भनेको छु। चौतर्फी क्रान्ति भन्ने शब्द चाहीँ विपी कोइरालाबाट लिएको हो भने यो कतै जयप्रकाश नारायणको पिसफुल टोटल रिभोलुसनसँग पनि मेल खान्छ।

मेरो चाहीं कुरो के हो भने जसरी एउटा शरीर श्वस्थ हुनलाई सबै अंगहरु श्वस्थ हुन जरुरी छ र तेस्तै एउटा समाज, राष्ट्र, देश स्वस्थ हुनलाई यसका सबै अवयवहरु स्वस्थ हुन जरुरी छ। अनि मात्रै सिंगो शरीर श्वस्थ रहन्छ। जस्तो कि हात, खुट्टा, कान, नाख, आँखा, फोक्सो, आन्द्रा या भुँडी या कुनै एक मात्रै दुखे सिंगो शरीर दुख्छ। दुख्छ मात्रै नभइ त्यही कारणले ठूलो रुप लिँदै मृत्युवरण पनि गर्नु पर्ने हुन्छ। त्यसकारण सबै अंग, संयन्त्र, विभाग श्वस्थ बनाउनको लागि सर्बाङग या चौतर्फी क्रान्ति महाअभियान चलाउन जरुरी छ। यो गतिशील मानव जीवनको लागि संक्रमण मुक्तिको एक बाटो हो।

(लेखक बिपी  अध्ययन प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष हुन्।)

ताजा खबर