नारीको अवस्था : इतिहासदेखि अहिलेसम्म

२०७५ जेठ २१ सोमबार ११:१५:०० मा प्रकाशित

हिन्दु धर्म अनुसार पौराणिककालमा नारीको ठूलो महत्व रहेको धर्म शास्त्रहरुमा लेखिएका प्रसंगहरुबाट प्रष्ट हुन्छ । देवीभागवत्मा उल्लेख भएका दुई वेग्लावेग्लै प्रसंगमा दैत्य महिषाशुर र शुम्भ निशुम्भले देवताहरुलाई युद्धमा हराइ स्वर्ग कब्जा गरेपछि तितरवितर भएका देवताहरु एकत्रित भइ देवीको आराधना गरि देबीलाई खुशी तुल्याइ आफुहरुलाई दैत्यहरुले दुख दिएको र दैत्यहरुबाट छुटकारा दिलाउन विन्ती गर्दछन् । त्यसपछि देवी एक्लैले महिषाशुरलाई मारेर स्वर्ग देवतालाई दिएको प्रसंग होस् या शुम्भ निशुम्भलाई मारेर इन्द्रासन इन्द्रलाई फर्काएको प्रसंग होस् दुबैमा नारीलाई अथाह शक्तिशाली देवीको रुपमा प्रस्तुत गरिएको छ ।

समयक्रमसँगै त्रेतायुगमा आईपुग्दा रामायणमा सीतालाई भने भिन्न रुपमा प्रस्तुत गरिएको छ । प्रारम्भमा सीतालाई शिवधनुष उचाल्न सक्ने शक्तिरुपा भनिएको छ तर कालान्तरमा उनले कतैपनि आफ्नो शक्तिको प्रयोग गरेको देखिँदैन । उनलाई सधैं पुरुषको सुरक्षाघेराको आवश्यकता रहेको देखाइएको छ भने लक्ष्मण रेखालाई पार गर्नाले रावण हरणमा परेकी सीताले आफ्नो बचावको लागि केही गर्न नसकेको उल्लेख गरिएको   छ ।

रावणसँग युद्धगरि सीतालाई फर्काएर ल्याएपछि समाजका केहीले सीताको चरित्रमाथि शंका गरेपछि सीताले अग्नि परीक्षा दिनुपर्ने अवस्था आउनुले त्रेतायुगदेखि नै समाजको नारीप्रतिको सोच्ने शैली र नारीको अवस्था खस्किन थालेको आभास हुन्छ ।

द्धापरयुगमा आइपुग्दा विद्धानहरुले भरिएको कुरुवंशीय राज्यसभामा  द्रौपदीको चिरहरणको प्रसंगले त्यससमयमा नारीको अवस्थालाई चित्रण गर्दछ ।

नेपालको सन्दर्भमा महिलाहरुलाई धेरै लामो समयसम्म पुरुषहरुको मनोरन्जनका निम्ति बनाइएको साधनको रुपमा प्रयोग गरेको पाइन्छ । इतिहासमा भएका बालविवाह, वहुविवाह र सतीप्रथा यसका ज्वलन्त उदाहरण हुन् ।

इतिहासमा उपत्यकाका मल्ल राजाहरुका कैयौं रानीहरु सती गएको उल्लेख पाइन्छ । राजा रुद्र मल्लका ४ रानी, योगनरेन्द्र मल्लका ३३ , पाथिर्वेन्द्र मल्लका २४, प्रताप मल्लका ९ रानीहरु र नृपेन्द्र मल्लका ९ रानीहरु सती गएका इतिहास हामीले पढेका छौं ।

सतीप्रथा जस्तो भयानक नरवलि प्रथाको समाजमा वाहुल्यता हुनुले तत्समयमा महिलाहरुको स्थानलाई चित्रण गर्दछ । हामी अनुमान गर्न सक्छौ जहा महिलाहरुलाई उस्को पतिको मृत्यु पछि जिउँदै जलाएर मारिन्थ्यो त्यहाँ महिलाले कस्तो न्याय पाउँथे होला ।

श्री ३ चन्द्र शमशेरले वि.स. १९७७ असार १५ मा सतीप्रथाको उन्मूलन गरेपछि प्रत्यक्ष मृत्युदण्डको सजायबाट मुक्ति पाए महिलाले । बास्तवमा चन्द्र शमशेरले महिला अधिकारको निम्ति उठाएको त्यो कदम इतिहासको सवैभन्दा प्रशंसनीय र स्वागत योग्य कदम थियो जसले महिलाको मृत्युदण्ड मात्र रोकेको थिएन कैयांै लालाबालाहरुलाई टुहुरो हुनबाट जोगाएको थियो आमाको अगाध माया र वात्सल्यबाट विमुख हुनबाट जोगाएको थियो।
विभिन्न युगमा गरिएका यस्ता प्रयोगले महिलाहरुलाई मानसिक तथा शारिरीक रुपमा कमजोर बनाउँदै लग्यो । फलस्वरुप हालसम्म आइपुग्दा केही दुइचारवटा अपवाद छोडेर अधिकांश महिला शक्तिहिन, कमजोर,आफ्नो सुरक्षा आफैं गर्न नसक्ने, ज्ञान विज्ञान सम्पूर्ण रुपमा पुरुष भन्दा धेरै पछि दोस्रो दर्जाको नागरिकको रुपमा देखिन थाले । 

आधुनिक भनिएको बर्तमान समयमा पनि महिलाहरुलाई भित्र भित्र जंजीरले बाँधेर वाहिर देखावटी स्वतन्त्रता मात्र दिइएको छ । यसो हुनुको मुल कारण नै समाज हो । समाज जो महिला माथिको विभेद कोख देखि शुरु गर्दछ । कोखमा नै लिंग पहिचान गरी छोरी भए हत्या गर्ने घृणित प्रबृति बोकेर बसेको समाजमा हामी छौं, एकपटक सोचौं त यस्तो प्रवृति वोकेको समाजले महिलालाई कति न्याय गर्ला ? छोरा जन्मिए खुशी हुने र छोरी जन्मिए छोरा कुर्ने प्रवृति जबसम्म मनमष्तिस्कबाट हटाउन सकिन्न तवसम्म स्वतन्त्रताका कुरा मुखमा राम राम वगलीमा छुरा हुनेछन् ।

 तर यही समाजभित्र केही अत्यन्त न्युन परिवारहरु छन् जस्ले छोरी मात्र आफ्नो सन्तती हुँदा छोराको पर्खाइमा वसेनन् । ती परिवारप्रति मेरो लाखौ करोडौ नमन । ती परिवारहरुको पहिचान गरि समाजमा सम्मान गरिनुपर्दछ जस्ले समाजलाई विस्तारै परिवर्तनको बाटोतिर डोरयाउनेछ ।

सन्तानको लालनपालनका क्रममा पनि हामी छोराछोरीमा विभेद गर्दछांै । छोरीलाई छोरी भएको कारणले घरधन्दामा लगाउने तर छोरालाई तिमी छोरा हौ तिमीले भोली कमाएर ल्याएर परिबार पाल्ने भन्दै कलिलो बाल मष्किस्कमा नै विभेदको वीउ रोपिदिन्छौ ।

 अब हामी परिवर्तन हुनु आवश्यक छ छोरीलाई दोस्रो दर्जामा नपुरयाउने हो भने हामीले आफ्ना छोराछोरी हुर्काउँदै दुवैलाई समान शिक्षा समान दीक्षा दिन आवश्यक छ । छोरीले पनि पढेर भोलि परिवार पाल्नु पर्दछ परिवार पाल्न जति भूमिका छोराको हुन्छ त्यतिकै भूमिका छोरीको हुन्छ भनी ज्ञान दिनु नितान्त आवश्यक छ । त्यसैगरि उमेरसँगै छोरीमा आउने परिवर्तनहरु विशेष गरि रजवस्वलालाई पाप हो भनि विश्लेषण गरिनु  हुँदैन ।

छोरी बीस वर्षको नहुँदै विवाह गर्ने बेला भयो भन्दै राम्रो बर पाए छिटो छिटो बिवाह गरि वोझ पन्छाउने प्रचलन छोरीको स्वतन्त्रता खोस्ने अर्को कडी हो । आफ्नो जन्मघर छोडेर कर्मघर पुगेकी छोरी एकैपटक छोरीबाट बुहारी श्रीमति काकी ठूलीआमा माइजु भाउजु अनि विस्तारै आमा आदि विविध नाताको बन्धनमा पर्छिन र तिनै नातामा अलमलिएर आफुलाई विर्सिन्छीन र समयक्रमसँगै असहाय अवला जस्ती हुन्छिन् । परनिरर्भरता उनको पर्याय बन्दै जान्छ । त्यसैले छोरीलाई विवाहको हतार भन्दा पनि उनको इच्छा अनुसार पढाएर एक योग्य नागरिक बनाउने तिर जोड गरौ त्यसपछि योग्य बर खोजिरहनु पर्दैन आफै आउँछन् । हाम्रो सोच परिवर्तन गरौ समाज आफै परिवर्तन हुन्छ ।

बर्तमान नया नेपालमा राष्ट्रपति महिला हुनु संसदमा ४८.८८% महिलाको प्रतिनिधित्व पुग्नुलाई सकारात्मक रुपमा लिइनुपर्दछ तर जो जो पद र जिम्मेवारीमा पुग्नुभएको छ वहाहरुलाई जिम्मेवारी निभाउने भूमिकामा स्वतन्त्रता दिइएको छ छैन? महिलाहरुलाई संसदमा पुरयाइयो भनी अंकमा देखाउनको लागि मात्र हो कि महिलाको भूमिका शशक्त बनाउन हो विश्लेषण आवश्यक छ ।

अत महिला स्वतन्त्रतालाई अंकमा गनेर गर्व गर्नु भन्दा पनि हाम्रो समाज महिला हत्या, वलत्कार, बाल बिवाह, वहुविवाह, वोक्सी, दहेज प्रथा छाउपढी प्रथा आदि इत्यादि हिंसा शून्य भएपछि मात्र हामीले पायौं भनेर गर्व गर्न सक्छौं अन्यथा अंक जति भएपनि केही फरक पर्दैन जसरी महिलाको नाममा देखाइएका सम्पति महिलाले आफ्नो तरिकाले उपभोग गर्न पाउँदैनन् त्यसरी नै देखाइएका स्वतन्त्रता केबल देखाउनका लागि मात्र हुन्छन् ।

महिला सशक्तिकरणका लागि परिवर्तन आवश्यक छ परिवर्तन हाम्रो मन मष्तिस्कमा हाम्रो घरमा समाजमा अनि सिंगो देशमा हुनुपर्दछ । तवमात्र महिलाहरुले आफ्नो हराएको देवीको शक्ति पुन प्राप्त गर्नेछन् र यो देश फेरि देवभूमि वन्नेछ ।


    

ताजा खबर