आज २०४ औँ भानुजयन्ती 

२०७४ असार २९ बिहीबार ०५:३८:०० मा प्रकाशित

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । 

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए । भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन् । 

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए । भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । 

‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । उहाँका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ । 

भानुजयन्तीकै अवसरमा बुधबार साहित्यिक दौड गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडिएका थिए  । भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ । उनको विंसं.१९२३ असोज ६ गते निधन भएको थियो । रासस 

ताजा खबर