मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

२०७५ जेठ १९ शनिबार १२:०८:०० मा प्रकाशित

जनकपुरधाम, १९ जेठ । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । 

सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन् । 

कलेजका सेवा बन्द र कर्मचारी धर्नामा बसेकाले आजदेखि भनिएको परीक्षा स्थगित गरिएका कारण विद्यार्थीको शैक्षिक सत्र अन्योलमा परेको छ । सो कलेजमा ४५० कर्मचारी र ३६० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । 

कर्मचारी हकहित संरक्षण संघर्ष समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा वीरेन्द्र झाले उक्त जानकारी गराउँदै कलेज व्यवस्थापनको उदासिनताले गर्दा कलेजको दायित्वभन्दा सम्पति कम भएको स्थिति रहेको बताए । 

सो कलेजमाथि प्रभु बैंकको ऋण रू एक अर्ब ६० करोड रहेको छ भने रू ३० करोड भुक्तानी गर्न बाँकी छ भने सरकारलाई कर पनि नबुझाएको बताइन्छ । 
डा झाका अनुसार कलेजका प्राचार्य, मेडिकल डाइरेक्टर लगायतका जिम्मेवार व्यक्ति र सञ्चालक समितिका पदाधिकारी कतै कुनेै सम्पर्क नरहेको अवस्थामा कर्मचारी, चिकित्सक र विद्यार्थीको समस्याप्रति संघीय सरकारको ध्यान जानु आवश्यक छ । रासस 
 

ताजा खबर