यस्तो बन्दैछ– भरतपुर अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (भिडियो)

२०७३ माघ २५ मंगलबार १२:२१:०० मा प्रकाशित

काठमाण्डौ, २५ माघ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी स्थल निर्माण हुने भएको छ । उक्त प्रदर्शनी स्थलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चितवन जाने कार्यक्रम रहेको चितवन उद्योग वाणिज्य संघले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको स्वामित्वमा रहेको करिब २ विघा ७ कट्ठा जमीनमा निर्माण गर्न लागिएको उक्त प्रदर्शनी स्थलमा ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यस मध्ये सरकारले १५ करोड रुपैयाँ अनुदान दिने र थप १५ करोड चितवनका व्यापारीहरुबाट उठाउने लक्ष्य राखिएको चितउन उद्योग वाणिज्य संघले जनाएको छ ।

५१ हजार वर्गफिट क्षेत्रफलको प्रदर्शनी केन्द्रमा सँगै ठूला उपकरण प्रदर्शनीका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ रहने बताइएको छ । प्रदर्शनी केन्द्रमा तीन हजार वर्गफिटको सूचना केन्द्र, दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र, दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने बताइएको छ ।

संघका अनुसार प्रदर्शनी केन्द्रको मुख्य भागमा करिब ३ सय स्टल राखिने, ३ वटा व्लक निर्माण गरिने छ । एक व्लकमा करिव एक सय वटा हल सञ्चालन हुनेछन् ।

एकै स्थानबाट धेरै औद्योगिक शिक्षा हासिल गर्ने केन्द्रका रुपमा प्रदर्शनी केन्द्र रहने र स्थानीय स्रोत, कच्चापदार्थ, सीप, साधनको परिचालन गर्दै औद्योगिक विकासमा सहयोग पुग्ने विश्वास संघको छ ।

ताजा खबर