वामपन्थी साइनबोर्ड र बेइमानीको खेल

२०७५ जेठ १८ शुक्रबार १२:३२:०० मा प्रकाशित

  ढाँट्नु, छल्नु, बेइमानी गर्नु नै राजनीति हो ? के राजनीतिमा इमान भन्ने शब्द र व्यवहार हुँदैन ? जनतालाई जतिसक्दो धेरै ढाँट्नु र छल्नु नै सफल राजनीति हो ? अहिले यो प्रश्न उठेको छ ।

यो प्रश्न उपर चर्चा गर्नु अघि एउटा कथाको चर्चा गरौं । कुनै ठाउँमा चुनावको बेला नेताले भनेछ– ‘मलाई चुनाव जिताउनुभयो भने घरघरमा धारा ल्याइदिन्छु ।’

चुनाव भयो, धारा ल्याइदिन्छु भन्ने उम्मेदवारले जिते । जितेपछि उनले वाचा गरे अनुसार नै घरघरमा धारा ल्याइदिए । धारा बन्यो तर पानी आएन । पानी बिनाको धारा के काम ? गाउँलेले सोधे– ‘खोई पानी ?’

नेताले भनेछ– ‘मैले धारा ल्याइदिन्छु भनेको थिएँ, धारा ल्याइदिएँ । धारामा पानी पनि ल्याइदिन्छु भनेको थिएँ ? अहँ थिइन ।’

गाउँलेले सोधे– ‘पानी ल्याउन के गर्नुपर्छ ?’

नेताले भन्यो– ‘अर्काे चुनाव जिताएपछि धारामा पानी ल्याइदिन्छु ।’

यो कथाको नेताले जस्तै व्यवहार गरेका छन् एमालेले अर्थात् प्रधानमन्त्री केपी ओलीले । उनले चुनावको बेला वृद्ध भत्ता पाँच हजार रुपैयाँ पुराइदिन्छु भनेका थिए । चुनाव जिते । बजेट बनाए । तर, बजेटमा वृद्ध भत्ता बढाएनन् । अहिले भन्दैछन्, पाँच वर्षभित्र बढाउँछु ।

आउँदो पाँच वर्षभित्र ओलीले केके गर्छन् थाहा छैन । तर, आउँदो चुनावमा चाहिँ ओलीको नारा पक्कै पनि ‘वृद्ध भत्ता दस हजार रुपैयाँ पुराइदिन्छु’ भन्ने हुनेछ ।


वामपन्थी बेइमानी

नेपालको वाम आन्दोलन बेइमानीले भरिपूर्ण छ । नेकपा एमाले पहिले माले थियो । जनवाद र सर्वहाराको अधिनायकत्वको नारा दियो । धनी र गरिब समान बनाउने नारा दिएर तत्कालीन मालेले संगठन बनायो । मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकीकरण गरेर एमाले बन्यो ।

एमालेले जनवाद छाड्यो, सर्वहाराको अधिनायकत्व छाड्यो । धनी र गरिब समान बनाउने नारा छाड्यो । बरु, नेताहरु ठूलो सम्पत्तिको मालिक बने । दाइजोमा पाएको भन्दै सुन र जग्गा जमिन जोडे । सर्वहारा पार्टी एमालेका ९५ प्रतिशत केन्द्रीय नेताहरुले काठमाडौं उपत्यकामा आलिशान महल बनाए ।

वामपन्थीहरुको अर्काे धार माओवादी थियो । माओवादीले जनवादी व्यवस्था ल्याउने भन्दै १७ हजार मानिस मार्यो । माओवादीले दिएको नारा र उनीहरुको भित्ते लेखन अहिले पनि गाउँगाउँमा ठाउँठाउँमा देख्न पाइन्छ । भित्ताबाट नारा मेटिएको छैन तर माओवादी नामको पार्टी नै मेटियो एमालेमा विलय हुँदै नेपाल कम्युनिष्ट पार्टी ( कहिले अण्डरलाइन, कहिले नेकपा ) बनेर ।

वामपन्थीहरुको वैचारिक निरन्तरता नै देखिएन । उनीहरु समाजमा विचारको परीक्षण गर्न चाहन्छन् । कहिले माओवाद भन्छन्, कहिले माओ विचारधारा भन्छन् । कहिले माओवाद र माओ विचारधारा दुवै काम लाग्दैन, माक्र्सवाद र लेनिनवाद मात्र भन्छन् । मुसामा औषधी परीक्षण गरे जसरी जनतामा विचार परीक्षण गर्छन् । परीक्षणका नाममा हजारौं मानिस मार्छन् ।

वामपन्थी र राष्ट्रवाद

वामपन्थले अन्तराष्ट्रियतावाद मान्छ । वर्ग र देशविहिन समाजको परिकल्पना गर्छ । वामपन्थीहरुले परिकल्पना गरेको साम्यवादको अवस्थामा देश भन्ने चिजको अस्तित्व नै हुँदैन । तैपनि नेपालका वामपन्थीहरु राष्ट्रवादको नारा दिन्छन् । यो नेपालका वामपन्थीहरुको अनौठो पक्ष हो ।

वामपन्थीहरु राष्ट्रवादको नारामा कति इमानदार छन् त ? यो हेर्दा विजोग अवस्था देखिन्छ ।

तत्कालीन एमालेले महाकाली सन्धी पारित भएर महाकाली (पञ्चेश्वर) परियोजना बनेपछि नेपालले वर्षमा एक खर्ब २० अर्ब रुपैयाँ कमाउँछ भनेका थिए । उनै ओली आज प्रधानमन्त्री छन् । महाकाली सन्धी र भारतीय हस्तक्षेपका विरुद्ध ठूलो आन्दोलन भएको थियो र त्यो आन्दोलनको विरुद्धमा एमालेको संस्थापन उभिएको थियो । पछि त्यही एमाले राष्ट्रवादको खोल ओढेर आयो, गत चुनाव राष्ट्रवादको खोल ओढेर लड्यो ।

उता माओवादीले भारत विरुद्ध सुरुङ युद्ध घोषणा गर्यो अनि खुसुक्क दिल्ली गएर १२ बूँदे सम्झौता गर्यो । माओवादी सत्तामा पुग्यो । पछि प्रचण्ड सत्ताच्यूत भए । त्यसपछि भारत विरोधी अभियान चलाए । नोकरसँग कुरा गर्दिन, मालिकसँग मात्र कुरा गर्छु भनेर सीधै भारतसँग कुरा गर्ने घोषणा गरे ।

प्रचण्डले भारतसँग के कुरा गरे भन्ने कहिले थाहा पाउन सकिएन । उनले बाहिर भनेनन् पनि । पछि उनी सत्तामा पुगे । नतमस्तक भए । राष्ट्रवादको घुम्टो फाले । गत चुनावमा उनी फेरि राष्ट्रवादी बने ।

अहिले सत्तासीन नेकपा कुन आधारमा राष्ट्रवादी हो ? उनीहरु स्वयं भन्न सक्दैनन् । यो पार्टी आउँदो चुनावमा फेरि ‘राष्ट्रवादी’ बन्नेछ । किनभने भोट जो बटुल्नु छ ।

नेपालमा वामपन्थीहरुले सर्वाधिक दुरुपयोग गरेको अवधारणा हो समानता र राष्ट्रवाद । यी दुई विषयलाई उनीहरुले जनता ढाँट्ने हतियार बनाउँदै आएका छन् । जस्तो किः एमाले र माओवादी नेतृत्वले कांग्रेसलाई नेपालको नदीनाला भारतलाई बेच्न खोजेको आरोप लगाउने गरेका छन् । वाम सरकारले अहिले के गरेको छ ? एउटा उदाहरण कोशी उच्च बाँधको छ ।

सरकारले अहिले कोशी नदीबाट समुद्रसम्म पानीजहाज चलाउने भनिरहेको छ । प्रधानमन्त्री केपी ओलीले त यही वर्ष जहाज चल्न सक्छ भनिसकेका छन् । कोशीमा जहाज चल्न कोशी उच्च बाँध बन्नुपर्छ । भारतले नदी जडान योजना कार्यान्वयन गर्न कोशी उच्च बाँध बनाउने निर्णय गरेको छ । भारतले निर्णय गरेर हुँदैन, निर्णय नेपालले गर्नुपर्ने हुन्छ । कोशी उच्च बाँध बनाउन भारतलाई दिने निर्णय ढाकछोप गर्न सरकारले पानी जहाजको कुरा उछालिरहेको छ ।

यो भन्दा बेइमानी के हुनसक्छ ?

साइनबोर्डका कम्युनिष्ट

नेपालका कम्युनिष्टहरुलाई ‘साइनबोर्ड कम्युनिष्ट’ भन्न सकिन्छ । उनीहरु आफैले अंगालेको कम्युनिष्ट विचारधाराप्रति पनि पटक्कै इमानदार छैनन् ।

कार्ल माक्र्स, एंगेल्स, लेनिन, माओ, स्टालिनले परिकल्पना गरेको कम्युनिष्ट आदर्शको नारा दिन्छन् तर व्यवहार ठिक उल्टो गर्छन् । साम्यवाद काल्पनिक राजनीतिक व्यवस्था हो । यो दुई शदीमा साम्यवाद कहिँ कतै आएन, कम्युनिष्टहरुले शासन सत्ता हातमा लिएको देशमा साम्यवाद आएन । बरु, देश नै तहसनहस भयो ।

अहिले सरकारको नेतृत्व गरिरहेको वाम सरकारले साम्यवादमा पुग्ने भनेको छ तर पूँजी संग्रह गर्ने आचरण गरिरहेको छ । विचारमा कम्युनष्टि तर व्यवहारमा घोर सामन्तवाद नै नेपालका कम्युनिष्टहरुको पहिचान भएको छ ।

वामपन्थीहरुले ‘कम्युनिष्ट’ विचारलाई पार्टी कार्यालयमा टाँगिएको साइनबोर्डमै सीमित बनाएका छन् । आफ्नै विचारप्रति इमानदार नहुनेहरुबाट इमानदारीको अपेक्षा कसरी गर्न सकिन्छ ?
 
राजनीतिलाई बेइमानीको खेल बनाउनमा वामपन्थीहरुको ठूलो भूमिका छ । यो बजेटले पनि प्रष्ट पार्यो, वामपन्थीहरु भोट पाउनका लागि जे पनि भन्छन्, जे पनि गर्छन् ।

अब एउटा दृष्य देखाउन बाँकी छ । वामपन्थीहरु सरकारमा टिकिरहन जे पनि गर्छन् । यो दृष्य विगतमा पनि देखिएकै हो, आगामी दिनमा पनि देखिने नै छ ।

 

ताजा खबर