‘सायद–२’ सिक्वेल होइन - सुनिल रावल, निर्माता

२०७४ असार २८ बुधबार १४:४३:०० मा प्रकाशित

उनले ‘सायद, होस्टल, होस्टल रिर्टन्स’ नामका फिल्म बनाईसकेका छन्। अब प्रदर्शन हुन लागेको नयाँ फिल्म हो ‘सायद–२’। असार ३० मा यसको ओपनिङ गर्ने तयारीमा छन उनी। निर्माता सुनिल रावल अहिले ‘सायद २’को बजार बलियो बनाउन रणनीति निर्माणमा व्यस्त छन्। काठमाडौं, पोखरा र मनाङमा ‘सायद २’ को छायाँकन भएको थियो। उनले यही फिल्मका बारेमा सरल पत्रिकासँगको जम्काभेटमा छोटो कुराकानी गरेका छन्। पढौं उनकै शब्दमा :

 ‘सायद २’ लाई कसरी बुझ्ने?

सायद–२ पुरै प्रेम कथा हो। युवा र युवती नजिक हुने, कलेज पढ्न जाने प्रेम होइन। एकदमै फरक प्रेम कथा हो। अहिलेका युवाहरुको प्रेममा स्वार्थीपन हुन्छ, देखावटी हुन्छ र त्यस्ता देखावटी र स्वार्थ मिश्रित प्रेमले युवालाई कस्तो कस्तो भयानक मोडमा पनि पुर्याएको छ भन्ने कथा हो सायद–२। मेरो चलचित्र ‘होस्टेल’ राम्रो चल्यो दर्शकहरुले मन पराउनु भयो तर  ‘होस्टेल रिटर्नस’ होस्टेलको सिक्वेल भने थिएन। त्यस्तै ‘सायद–२’ पनि ‘सायद’को सिक्वेल होइन । यो बिल्कुलै नयाँ कथामा बनाएको चलचित्र हो।  यसको प्रस्तुती सायद भन्दा बिल्कुलै भिन्न छ।

यसको प्रिमियर त विदेशमा भइसक्यो हैन ?

विदेशमा बसे पनि स्वदेशमा बसे पनि हामी नेपालीको भाषा, संस्कृति, रुची र मन एउटै हन्छ । मैले फिल्म बनाउँदा दर्शकलाई के कुराले लोभलाग्दो मनोरञ्जन दिन सक्छ भन्ने विषयको अध्ययन गरेको हुन्छु। दर्शकको भावना, मन र रुचि बुझेर नै मैले सायद–२ बनाएको हुँ। हङकङ, जापान र अस्ट्रेलियामा पनि हामीले सायद–२ को प्रिमियर शो गरिसकेका छौं। विदेशमा बस्ने नेपाली दर्शकले फिल्म निकै मन पराउनु भएको छ। नेपालमा पनि मन पराइदिनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।

कस्तो हुँदै छ त प्रचार? 

म फिल्मका मार्केटिङ गर्नुपर्छ भन्ने मान्यता राख्छु। मैले कुनै उत्पादन बजार लिएर आएको छु भने आफ्ना ग्राहक समक्ष पुर्याउन विज्ञापनका नयाँनयाँ तरिका अपनाउनै पर्छ। टिसर्ट, कप, फ्लायर, ब्यानर, मोबाइल एप जेसुकै बनाएर पनि विज्ञापन गर्न सक्नुपर्छ। मैले  मोबाइल एप पनि बनाइदिएँ। दर्शकहरुले शेयर गरिरहनुभएको छ। मैले फिल्मको प्रचार प्रशारको लागि कुनै कसर छोडेको छैन।

तपाईको चलचित्र युवाले मात्र हेर्ने हो ? 

फिल्म मनोरञ्जन हो र एउटा व्यवसाय पनि। यो व्यवसायमा कुन दर्शकलाई कसरी लक्ष्य गरेर फिल्म चलाउन सकिन्छ भन्ने कुराको आँकलन गर्नुपर्छ जस्तो मलाई लाग्छ। मैले पनि किशोर तथा युवा दर्शकलाई लक्ष्य गरेर फिल्म चलाउने लक्ष्य राखें। १४ वर्षदेखि ३५ वर्षेका व्यक्ति वर्गको कथामा फिल्म बनाएँ।  नेपाली फिल्म भनेको त ३ करोड नेपाली कै हो। सबैले हेर्नुपर्छ। अर्कोतर्फ यही वर्ग हो जो हलमा गएर हलिउड र बलिउड फिल्महरु हेरिरहेको हुन्छ। उनीहरुलाई नेपाली फिल्म पनि देखाउने कि नदेखाउने? त्यसैले मेरो फिल्म खास युवा वर्गमा नै केन्द्रीत हुन्छ र युवा कै लागि हो तर यसलाई सबैले हेर्न सक्छन्।  
 

ताजा खबर