केपी ओलीको भाषण शैली र रणनीति उपर केही टिप्पणी

२०७५ जेठ १७ बिहीबार १६:२७:०० मा प्रकाशित

 

केपी ओली घरेलु राजनीतिमा खासै चेपुवामा छैनन् । दिग्विजय भइरहेछ उनको । अल्पमतको प्रधानमन्त्री थिए, पार्टी एकीकरण गरेर बहुमतको प्रधानमन्त्री बनेका छन् । यो चानचुने सफलता होइन । जनस्तरमा लोकप्रियता गज्जब छ । प्रतिपक्षी नेपाली कांग्रेस निस्तेज छ, गतिहिन र मतिहिन अवस्थामा छ ।

लाचार कांग्रेसले ओलीको नीति तथा कार्यक्रमलाई मौन समर्थन दियो । यो सानो सफलता होइन ओलीका लागि । सरकारले ल्याएको बजेटमा लोकप्रिय कार्यक्रम छैन, तैपनि विरोध कडा भएको छैन ।

लाग्छ– देशमा ‘ओली युग’ चलिरहेछ ।

ओलीको वाकशक्ति विलक्षण छ । आक्रामक शैलीका कारण ओलीको बोली चर्चित भएको मानिन्थ्यो । प्रधानमन्त्री बनेपछि ओलीका अभिव्यक्ति खासै आक्रामक छैनन् । तैपनि ओलीका भाषण उस्तै चर्चित छ । आक्रामक भाषणमा ओली जति माहिर थिए, सन्तुलनकारी भाषणमा पनि उत्ति नै चर्चित बनिरहेका छन् । प्रधानमन्त्री बनेपछि उनले आक्रमणको जवाफ दिने गरेका छन् । आक्रमणभन्दा आक्रमणको जवाफ चर्चित बनिरहेको छ ।

राजनीतिमा भाषण तथा अभिव्यक्ति कला सबैथोक होइन, तर धेरै थोक पक्कै हो । सूचना प्रविधिको विकास, जनताको बढ्दो चेतना स्तर, युग परिवर्तन लगायतका कारणहरुले गर्दा सरकारमा बस्नेले आफ्ना कुरा जनता समक्ष निरन्तर राख्नुपर्ने र प्रभावकारी रुपमा राख्नुपर्ने युग आएको छ । यो युगको नाडी ओलीले छामेको महशुस हुन्छ ।

विगतमा सबैभन्दा दिक्कलाग्दो भाषण कसैको हुन्थ्यो भने मन्त्री–प्रधामन्त्रीहरुको ! पत्रकारिता जीवनको प्रारम्भिक दिनमा यो पंक्तिकार र सहकर्मी साथीहरु प्रधानमन्त्री र मन्त्रीहरुको भाषण खासै टिप्दैनथ्यौं । उनीहरुले के बोल्छन् भन्ने पहिले नै अनुमान गर्न सकिन्थ्यो । सत्तापलटको चलखेल हुँदा मात्र मन्त्री–प्रधानमन्त्रीको भाषण अलि फरक हुन्थ्यो ।  

तर ओली फरक देखिए ।

कतिपय मानिस भन्छन्, ओलीले हसाउनु हुँदैन, ठट्टा गर्न हुँदैन, गम्भीर मात्र बनिरहनुपर्छ । ओलीले हसाएकोमा आपत्ति जनाउनेहरु कैयन छन् । यो प्रसंगमा शेरबहादुर देउवाको भाषण सम्झौं । देउवा प्रभावकारी भाषण गर्दैनन्, बोलेको केही बुझिँदैन भनेर आलोचना गर्नेहरु पनि छन् ।

मीठो भाषण गर्नु नराम्रो हो र ? मानिसलाई हसाउनु, रमाइलो बनाउनु नराम्रो हो र ? भाषणकर्ताले आफ्नो विचार सबैले सुनुन्, चित्त बुझाउन् भन्ने चाहनु स्वाभाविक हो । ओलीसँग हसाउने खुबी छ, हसाउँछन् । हसाउनु, ठट्टा रमाइलो गर्नुलाई नराम्रो भन्न मिल्दैन । आकर्षक शैलीमा भाषण गर्नुलाई नराम्रो भन्नुको कारण के ?

प्रधानमन्त्रीले या अन्य कुनै पदधारीले अर्थ न वर्थसँग गम्भीर हुनु, गजक्क फुलेर बस्नु, औपचारिक कुरा मात्र बोल्नु, भन्नुपर्ने कुरा औपचारिक शब्दावलीमा मात्र भन्नु चाहिँ ठिक होइन । हिजोका राजा महाराजाहरुको शैलीमा जननिर्वाचित प्रधानमन्त्रीले भाषण गर्नुपर्छ भन्नु मनासिब हुँदैन । व्यक्तिको स्वभावजन्य अभिव्यक्ति या जन्मजात मौलिक अभिव्यक्ति शैली जस्तो छ, त्यस्तै भाषण गरेको राम्रो । भाषणमा अनावश्यक कृत्रिमता राम्रो हुँदैन ।

चित्रबहादुर केसीको भाषण पनि असाध्यै रसिलो हुन्छ, उखान, उपमा र उदाहरण दिँदै ठट्यौलो शैलीमा भाषण गर्छन् । चित्रबहादुर र केपी ओलीले देउवा या बाबुराम भट्टराईको शैलीले भाषण गरुन् भन्नु जायज हुन्छ र ? अनि, देउवा या बाबुरामलाई चित्रबहादुर र केपी ओलीले जसरी भाषण गर्नुपर्यो भन्न मिल्छ र ?

शैली आआफ्नो हो । कसैको भाषण शैलीले जनताको मन छुन्छ भने त्यसमा के नराम्रो भयो र ? धनराज गुरुङ, विश्वप्रकाश शर्मा र गगन थापा नयाँ पुस्ताका आकर्षक भाषणवाज हुन् । भाषण राम्रो नगरेका भए यी तीनजना कांग्रेसका आशलाग्दा नेतामा अवश्य गनिँदैनथे ।

ओलीको विचार कसैलाई ठिक लाग्दो हो, कसैलाई चित्त नबुझ्दो हो । यो भने बेग्लै कुरा हो । रसिलो–मीठो भाषण गर्नु ठिक हो । ओलीको भाषण शैली तारिफ गर्न लायक छ ।


ओलीको बठ्याईं

ओलीको भाषणलाई एकथरीले असाध्यै हुलुका भन्छन्, अर्काथरीले दमदार भन्छन् । हलुका कि दमदार ? जवाफ गत चुनावले दियो– ओलीको भाषणले जनता प्रभावित छन् । त्यसैले ओली नेतृत्वको वाम गठवन्धनले चुनाव जित्यो ।

ओलीको भाषणलाई कांग्रेस वृत्तले हलुका भन्ने गरेको छ । प्रतिपक्षीले यसो भन्नु अस्वाभाविक होइन ।
ओलीले उखान तुक्का भन्छन् भन्ने गरिन्छ । वास्तवमा ओलीले उखान विरलै प्रयोग गर्छन् । उनी तुक्का र उपमा धेरै प्रयोग गर्छन् । विषयवस्तुसँग मिल्ने सटिक उदाहरण उनको विशेषता हो ।

जस्तो कि उनले पार्टी एकीकरणका बेला टेम्पो र जहाजको उदाहरण दिँदै जहाजमा दुईजना पाइलट हुनसक्छन् भन्ने सटिक उदाहरण दिए । यो उदाहरण असाध्यै चर्चित भयो । कति चर्चित भयो भने एकीकरण बारेको सैद्धान्तिक बहस नै ओझेलमा पर्यो । विपक्षीहरुले सैद्धान्तिक रुपमा आक्रमण गर्नुपर्नेमा टेम्पो र जहाजको उदाहरणलाई आक्रमण गरे, ब्यंग्य गरे ।

कांग्रेस नेता गगन थापा पनि ओलीको जहाज र टेम्पोको उदाहरणको भुलभुलैयामा परे । दुई पार्टी एकीकरणको सैद्धान्तिक पक्ष र अस्पष्टतामा विरलै प्रहार भयो ।

अर्थात्, विषयान्तर गर्न ओली सफल भए ।

 

अर्काे उदाहरण बजेटको

बजेटमा वृद्ध भत्ता बढेन, लोकप्रिय कार्यक्रम आएन । व्यापारीलाई दिइने भ्याट फिर्ता खारेजी र घरजग्गा कारोबारमाथि लगाम लगायतका केही खास वर्ग र क्षेत्रलाई असर पर्ने निर्णय बजेटले गर्यो । अर्थतन्त्र सुधारका लागि अनेक कठोर कदम बजेटले चाल्यो । प्रतिपक्षी कित्ताबाट यसको विरोध हुनसक्थ्यो । प्रतिपक्षीले अनेक विषयमा कडा विरोध पनि थालेको छ ।

तर, ओलीले विरोध र बहसलाई पानी जहाजमा केन्द्रीत गरिदिएका छन् । बजेटको भोलीपल्ट ओलीले यसै वर्ष पानीजहाज आउन सक्छ भनिदिए । अनि बहस पानी जहाजमा मोडियो ।

जानेर होस् या नजानेर, सुनियोजित होस् या संयोग, ओलीको भाषणले विषयान्तर गरिदिन्छ, प्रतिपक्षीलाई रनभुल्लमा पारिदिन्छ । प्रतिपक्षीले जतातिर चर्चा, बहस र विवादलाई लैजान खोज्छन्, ओलीको एक भाषणले विषयलाई अर्कैतिर मोडिदिन्छ ।

प्रतिपक्षले गम्भीरता साथ उठाएको विषयलाई ओली हलुका बनाइदिन्छन् । प्रतिपक्षले गरेको विरोधलाई पनि आफ्नै पक्षमा उपयोग गर्छन् । उनको वाक चातुर्यको अर्काे नमूना नीति तथा कार्यक्रम उपर संसदमा भएको छलफलमा जवाफ दिँदा पनि देखियो ।

जवाफ दिँदा ओलीले भने– के नेपाल तेस्रो विश्वबाट पहिलो विश्वमा पुराउन पाइँदैन ? के नेपाल पहिलो विश्वमा पुग्न नहुने गरी अभिशप्त हो ?

ओलीको भनाईमा यो झल्कन्छ कि विपक्षीले नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुराउन पाइँदैन भनेका छन् ।

ओलीले यसरी ‘उल्टो खेद्ने’ तरिका प्रयोग गर्छन् ।

उनको अर्काे भनाई हेरौं– यो नीति तथा कार्यक्रम महत्वाकांक्षी छ भनेको सुनियो । हो, म स्वीकार्दछु, यो नीति तथा कार्यक्रम आकांक्षाविहिन छैन । उनको अर्काे टिप्पणी थियो, महात्वाकांक्षी भनेर साथीहरुले ठिकै बुझ्नुभो कि जस्तो लागेको छ ।

विरोधलाई आफ्नो पक्षमा उपयोग गर्ने शैली हो यो । जवाफ दिने ओलीको यो शैली असाध्यै कूटनीतिक छ, विपक्षीलाई नै प्रहार गरिएको छ ।

गज्जब चातुर्यपूर्ण छ ओलीको शैली ।

 

ओलीको नयाँ अवतार

प्रधानमन्त्री बनेपछि केपी ओलीको नयाँ अवतार सुरु भएको छ । उनको नयाँ अवतार बजेटमा पनि देखियो । उनले वितरणमुखी बजेट ल्याएनन् । चुनावमा दिएका आश्वाशनहरुलाई तथा पूर्व एमालेको अतितलाई ध्यानमा राख्ने हो भने यो वजेट पूरै वितरणमुखी हुने अनुमान धेरैको थियो ।

तर, बजेट ठिक उल्टो आयो– वितरणमुखी होइन संग्रहमुखी । सरकारले कसरी धेरै कमाउन सक्छ भन्ने रणनीति अनुसार बजेट आयो । एमालेले ल्याउने गरेको बजेटको परम्परा भन्दा फरक बजेट आयो । पाँच वर्ष सरकार चलाइन्छ, अहिले कमाउने पछि खर्च गर्ने रणनीति अनुसार बजेट आउला भन्ने कमसेकम प्रतिपक्षी कांग्रेसले सोचेको रहेनछ । बजेटमा कांग्रेस नेताहरुको टिप्पणी सुन्दा यही झल्कन्छ ।

विगतमा कांग्रेसले भन्ने गरेको थियो– कांग्रेसले कमाइदियो र एमालेको सरकारले खर्च गर्न पायो । अहिले ओलीको सरकार कमाउने बाटोमा लाग्यो । कांग्रेस तथा धेरैका लागि ओलीको यो रणनीति अप्रत्याशित थियो ।

भारतसँगको सम्बन्धमा पनि ओलीले सबैलाई छक्याइदिए । भारतसँग उनले जुन ढंगले सम्बन्ध सुधार गर्न खोजे, धेरैले ओलीले यसो गर्लान् भन्ने अपेक्षा गरेका थिएनन् । तथापी, भारतसँगको सम्बन्ध अहिले पनि परीक्षणकालमै छ ।

ओलीको चातुर्यको परीक्षण भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा भइरहेको छ र भविष्यमा पनि हुनेछ । उनले दुवैलाई फकाउने रणनीति अपनाइरहेको देखिन्छ । केही समयपछि उनी चीन भ्रमणमा जाने भनिएको छ । चीन भ्रमणको दौरानमा तथा त्यसपछि ओलीको चातुर्यको थप परीक्षण हुनेछ ।

मुख्य कुरा, ओलीको भाषणमा हास्य, व्यंग्य, ठट्टा, उदाहरण र उपमाको आवरणभित्र ‘कूटनीति’ हुन्छ । हासोभित्र गम्भीरता हुन्छ । ठट्टाभित्र तथ्य हुन्छ । नयाँनयाँ कुरा निकालेर विषयान्तर गरिदिन्छन् । रनभुल्लमा परेका विपक्षीहरु प्रहार गर्नुपर्ने ठाउँमा प्रहार नगरेर अन्यत्रै प्रहार गर्छन् । सामान्यतया नेपालमा सधैं प्रधानमन्त्री रक्षात्मक हुन्छन्, विपक्षी आक्रामक हुन्छन् । तर, ओली आक्रामक छन्, विपक्षीहरु रक्षात्मक छन् ।

ओलीको यो सफलता आगामी दिनमा पनि जारी रहला त ?

 

ताजा खबर