चीनः द्रुत रेलको गतिमा भौतिक विकास

२०७५ जेठ १७ बिहीबार ०६:४६:०० मा प्रकाशित

नेपाल देशको एकीकरणकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरु नेपालको विकास र कूटनीतिका सन्दर्भमा निकै सामयिक र महत्वपूर्ण मानिन्छन् । उनको मृत्युको दुई शताव्दीपछि पनि दिव्योपदेशको सान्दर्भिकता समाप्त भएको छैन बरु धेरै अर्थमा बढेको नै छ ।

नेपालको परराष्ट्र नीतिको आधार अहिले पनि उनकै नीतिकै सेरोफेरोमा केन्द्रित छभन्दा अस्वाभाविक हुँदैन । उनले एक सन्दर्भमा भनेका छन्, नेपाल दुई ठूला ढुंगाबीचको तरुल हो । नेपालको भूराजनीतिक अवस्थिति र महत्वको विश्लेषणको प्रयत्न गर्ने हो भने उनको यो भनाई कालजयी रहेको मान्न सकिन्छ । यस्तै उनले एक सन्दर्भमा वाहिरी देशको सीप र ज्ञान सिक्नु तर बाहिरियालाई यहाँ बस्न प्रोत्साहित नगर्नु भन्ने आशय पनि व्यक्त गरेको पाइन्छ । सन्दर्भ राजनीतिको होइन । यहाँ हाम्रा छिमेकी र हाम्रो विकासका सन्दर्भमा कुरा गर्न खोजिएको हो । 

हाम्रा दुवै छिमेकी चीन र भारत अहिले विश्वका सर्वाधिक जनसंख्या भएका पहिला र दोस्रा राष्ट्रमात्र होइनन् यी राष्ट्र भौगोलिकरुपमा पनि नेपालभन्दा धेरै ठूला छन् । यतिमात्र होइन यी दुवै देश अहिले विश्वका ठूला अर्थतन्त्र भएका देशमा पनि गनिन्छन् । दुवै देशको प्रतिव्यक्ति आयको आकारले पछिल्लो दशकमा ठूलो रुप धारण गरेको छ । भौतिक विकासमा पनि यी दुवै देशले विश्वलाई आश्चर्यचकित बनाएका छन् । तर यी सबै सन्दर्भबाट नेपालले सिक्ने कि नसिक्ने ? के नेपालले आफ्ना छिमेकीबाट सिक्नै नसकेको हो कि सिक्न नै नचाहेको हो ।

राजनीतिक विकासक्रमका दृष्टिले हेर्ने हो भने चीनले १९४९ बाट विकासयात्राको थालनी गरेको हो । अझ विश्लेषकहरु त देगं सिआओ पिगंको सत्तारोहण पछि १९७८ देखिमात्र चीनले औपचारिकरुपमा विकासयात्रा प्रारम्भ गरेको दावी गर्छन् । उता भारतले १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएपछिका दिनमा मात्र विकासयात्रा प्रारम्भ गरेको हो । यता नेपालले पनि त्यही हाराहारीमा राणा शासनबाट मुक्ति पाएको हो । तर आज छिमेकी दुवै देश द्रुत विकासको यात्रामा छन् भने हामी अझै पनि विकास पथमा वामे सर्ने योजनामात्र बनाइरहेका छौं । 

यसपटक अलिकति कुरा चीनको भौतिक विकासका सन्दर्भमा । चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । सरकारी तथ्यांकअनुसार यहाँको जनसंख्या एक अर्व ३९ करोडको हाराहारीमा छ । तर यहाँको प्रतिव्यक्ति आयको विकास उदेकलाग्दो छ । यहाँको प्रतिप्यक्ति आय करिव २६ हजार युआन छ जो प्रतिवर्ष सात दशमलव तीन प्रतिशतको अनुपातमा वृद्धि भइरहेको छ । यस्तै २०१७ को अन्त्यमा यहाँको जिडिपि ८२ दशमलव ७१ खर्व (ट्रिलियन) पुगेको छ जो प्रतिवषर््ा ६ दशमलव नौ प्रतिशतले बढिरहेको छ ।

चीन अहिले विश्वकै दोस्रो सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिती र जिडिपि भएको देश बन्न पुगेको छ । यस अर्थमा चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । २०१७ को अन्त्यमा चीनसँग तीन दशमलव एक तीन नौ नौ खर्व (ट्रिलियन) अमेरिकी डलर सञ्चित छ जो प्रतिवर्ष एक सय २९ दशमलव चार खर्व अमेरिकी डलरका दरले बढिरहेको छ । यी केही यस्ता तथ्यांक हुन् जसले चीनको आर्थिक विकास कुन गतिमा भइरहेको छ भनेर सोच्न निश्चय पनि उतप्रेरित गर्छ । 
यस आलेखमा यसपटक चीनको विशुद्ध आर्थिक विकासका कुराभन्दा पनि विश्वलाई नै आश्चर्यचकित बनाउने केही भौतिक तथा पूर्वाधार विकासका बारेमा चर्चा गर्ने प्रयत्न गरिन्छ । पछिल्लो विश्वमा चीनले विश्वलाई नै सबैभन्दा बढी आश्चर्यचकित बनाएको विषयमध्ये एक हो दु्रत गतिको रेल्वे सेवा  (हाई स्पीड ट्रेन) । विश्वमा सामान्यतया तीन सय किलोमिटर प्रतिघण्टाको गतिको यो रेल सेवा चीनले २००८ मा सञ्चालनमा ल्याएको हो । सञ्चालनमै यसको गति तीन सय पचास किलोमिटर प्रतिघण्टा थियो । जसलाई पछि चार सय किलोमिटरसम्म पुर्रयाइएको थियो । चीनका सरकारी अधिकारीहरुको दावीअनुसार अहिले विश्वमा ३५ हजार किलोमिटर हाई स्पीड ट्रेनको रेल्वे ट्रयाक छ ।

२०१७ को अनत्यसम्म यसमध्ये २५ हजार किलोमिटर चीनमा मात्र छ । हाई स्पीड ट्रेनको विकास र विस्तारले चीनको विकास र चिनीया जनताको जीवनस्तरलाई पनि दु््रत गति प्रदान गरेको छ भन्दा असान्दर्भिक हुँदैन । चीनले यही रेलको गतिसँगै युरोप र बाँकी विश्वको यात्राको गति तय गर्न खोजेको छ । भारतले पनि यस द्रुत गतिको रेल्वको विकासको योजना थालिसकेको परिप्रेक्ष्यमा नेपालले रेल्वेको विकासको अवधारणालाई मूर्तरुप प्रदान गर्न सकेन भने विकासको हाम्रो गति अझै शिथिल हुने निश्चित छ । दुवैतर्फको द्रुत गतिको बीचमा हामी कछुवा गतिमै विकास गर्छौ भन्ने सोच्नु गलत हुनेछ । यसतर्फ नीतिनिर्माताहरुले सोच्नु जरुरी छ ।

यस्तै उच्च बाँधको निर्माण र जलविद्युतको क्षेत्रमा पनि चीनले उदाहरणीय विकास गरेको छ । चीनले यागंसी नदीमा बाँध बनाएर थ्र्री गर्जेज जलविद्युत आयोजनलाई मूर्तरुप दिएको छ । २२ हजार पाँच सय मेगावाट विद्युत उत्पादन क्षमताको यो जलविद्युत केन्द्र विश्वकै सबैभन्दा ठूलो विद्युत उत्पादन केन्द्र हो । एक अध्ययनअनुसार नेपाल विश्वकै सबैभन्दा धेरै जलसम्पदा भएको दोस्रो देश हो ।

यहाँ ८० हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिने प्रचूर जलसम्पदा छ । तर हामीले यिनको उपयोगका दिशामा केही गर्न नसकिरहेको अवस्थामा थ्रि गर्जेजको विकास हाम्रालागि उदाहरण बन्न सक्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । के हाम्रा राजनीतिक नेतृत्वलाई यी सबै विकासका बारेमा केही जानकारी छैन ? 

चीन अहिले विश्वमा पुल, सडक र ठूला भवन निर्माणमा पनि अग्रणी छ । विशेषगरी इन्जिनियरिंगमा चीनको विकास उदाहरणीय बनेको छ । यसमा पनि पुलको डिजाइन र निर्माणमा चीनले विश्वलाई आश्चर्यमा पारेको छ ।  चीन अहिले प्रतिवर्ष दश हजारभन्दा बढी पुल निर्माण गरिरहेको छ । पुल डिजाइन र निर्माणका सन्दर्भमा यो तथ्यांक विश्वमा संख्या र कूल लम्बाईका दृष्टिले पहिलो हो ।

चीनले समुद्रमाथि हागंझाउ वे पुल निर्माण गरेर विश्वलाई आश्चर्यमा पारेको छ । २००३ को नोभेम्बरमा प्रारम्भ गरेर २००८ को मे महिनामा निर्माण सम्पन्न गरिएको यो पुलको लम्बाई ३६ किलोमिटर छ । त्यस्तै २०१६ मा हुनान प्रान्तमा निर्माण गरिएको पिन्झाउ पुल अर्को अचम्मको पुल हो । यस पुलले दुईवटा डाँडालाई जोडेको छ भने तल सम्पूर्ण उपत्यका विस्तारित छ । यस्तै यही जुन महिनासम्म सञ्चालनमा आइसक्ने गरी चीन अहिले हंगकंग—चुहाइ—मकाउ जोडने पुल निर्माणमा व्यस्त छ । समुद्रमाथि र समुद्रभित्र सुरुगं निर्माण गरी बनाइरहिएको ५० किलिोमिटर लम्बाईको यो पुलले चीनको समाजिक र आर्थिक विकासमा ठूलो फड्को मार्ने विश्वास गरिएको छ । 

पछिल्लो चीनमा भौतिक र पूर्वाधार विकासका यस्ता थुप्रै उदाहरण छन् । सडक सञ्जालको विकास पनि यही दु्रत गतिमा भइरहेको छ भने यो देश अहिले विश्वका ठूला र अग्ला भवनहरुको देश बनिरहेको छ । द्रुत सहरीकरणतर्फ उन्मुख चीनमा अहिले थुप्रै नयाँ सहरको विकास भइरहेको छ । यसले पनि यसको आक्रामक भौतिक र आर्थिक विकासको पुष्टि गर्दछ । फेरि पनि कुरा जहाँको त्यहीँ, नेपालले यी सबै गतिविधिबाट केही नयाँ कुरा सिक्ने कि नसिक्ने ? 
  
 

ताजा खबर