शिक्षामा लगानीअनुसार प्रतिफल आएन : प्रधानमन्त्री

२०७५ जेठ १० बिहीबार १६:४७:०० मा प्रकाशित


१० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए ।

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

अबको शिक्षाले मुलुकलाई आवश्यक हुने जनशक्ति उत्पादन गर्ने बताउँदै प्रधानमन्त्री भन्छन्, “अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ, अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छौं। ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।”

प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको र अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताएका छन् ।

“निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन,” उनले भने – “निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।”

प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम गर्न बनेको पनि स्पष्ट पारेका छन्। रासस

 

ताजा खबर