असारदेखि राजविराजमा नियमित उडान

२०७५ जेठ १० बिहीबार १६:२३:०० मा प्रकाशित

राजविराज, १० जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् ।

राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवे सहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताएका हुन् ।

“यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्देशन दिंदै  धेरैमा चार÷पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।
नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने उनको भनाइ थियो ।

“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,” मन्त्री अधिकारीले भने ।

नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको र यात्रु भएमा एउटा जहाजले राजविराजबाट पनि नियमित उडान भर्ने उनले बताए । मन्त्री अधिकारीले ६ महिनाभित्र यस विमानस्थलमा तेल राख्ने गाडी पनि राखिने जानकारी दिँदै कार्गो विमानस्थलका रुपमासमेत विमानस्थलको विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान भर्न श्री एयरलाइन्ससँग आग्रह गरेका छन् । राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए तथा नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने उनले विश्वास व्यक्त गरेका छन्।

राष्ट्रियसभाका सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले उडान नियमित हुने विश्वास व्यक्त गर्दै जिल्लाको विकासका लागि जुनसुकै पार्टीका भए पनि सम्पूर्ण जनप्रतिनिधिलाई हातमा हात मिलाएर अघि बढ्न आग्रह गरेका छन्।

कार्यक्रममा प्रदेश सांसद मनिष सुमन र सत्यनारायण मण्डलले नियमित उडान हुनुपर्नेमा जोड दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ७२ सिटे जहाज चल्ने क्षमता भएको राजविराज विमानस्थलको निर्माण समयमै सम्पन्न भएकामा खुशी व्यक्त गरेका छन् । उनले सरकारको रु ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण भएको जानकारी दिए ।

राजविराज विमानस्थलबाट झण्डै डेढ दशकपछि बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान भरेको थियो । रासस

 

ताजा खबर