अनिवार्य आवश्यकता, लोकतान्त्रिक शक्तिवीचको एकता

२०७५ जेठ ९ बुधबार १२:०७:०० मा प्रकाशित

 

मुलुकमा दुई ठूला कम्यूनिष्ट पार्टी तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच जेठ ३ गते भएको पार्टी एकताले देशमा राजनीतिक स्थितरताको प्रत्याभुति गराएको छ । नेपाली समाज लामो समयदेखि जनयुद्ध, द्वन्द्व, हिंसा र बारम्बारको राजनीतिक अस्थिरताबाट गुज्रिरहेको थियो ।

गत संसदीय निर्वाचनमा दुई कम्युनिष्ट पार्टीवीच मोर्चावन्दी गरेर चुनावमा गएपछि नेपाली जनमत स्पष्ट रुपमा बाम गठवन्धनको पक्षमा गईसकेको थियो । निर्वाचनपछि लगतै हुनुपर्ने कम्युनिष्ट पार्टीहरुको एकता नौ महिनापछि मात्र संभव हुनपुग्यो । यसले नेपालमा दुई वटा अवस्थाको संकेत गरेको छ । एकः अलि केही लामो समयसम्ममा बामपन्थीहरुको सरकार टिक्न सक्ने र बन्ने आधार स्पष्ट गरेको छ । यो राजनीतिक स्थिरताको सवालमा एउटा सकारात्मक पक्ष हो । दोस्रोः अब मुलुकमा चाहेर पनि या नचाहेर पनि नेपाली कांग्रेसको नेतृत्व र पहलमा लोकतान्त्रिक पार्टीहरु वीचको एकता सहमति र सहकार्य अनिवार्य आवश्यकताको विषय बन्न पुगेको छ ।

नेपालको राजनीतिमा सबै खाले आन्दोलन र परिवर्तनहरु नेपाली कांग्रेस र बामपन्थीहरुको एकता, सहकार्यबाट संभव भएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन त्यसको ज्वलन्त र प्रत्यक्ष उदाहरणहरु हुन् । यसबाट नेपालमा स्थायी राजनीतिक दल र शक्तिहरु नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नै हो भन्ने कुरा पुष्टि भैसकेको छ । ‘आन्दोलन र परिवर्तनका लागि मिलेपनि कांग्रेस र कम्युनिष्टहरु सत्ताको लागि लामो समय मिलेर अघिबढ्न सक्तैनन्’ भन्ने स्व. जननायक विपि कोइरालाको भनाइ पुष्टिगर्दै अन्ततः कम्युनिष्टहरु मिल्न पुगेका छन् ।

राप्रपाका संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर थापाले झनै एक दशक अगाडी ‘मुलुक वामपन्थी गठवन्धनको चपेटाबाट सुरक्षित राख्नका लागि प्रजातान्त्रिक शक्तिहरु वीचको एकता आवश्यक छ’ भनेका थिए । आज नेपालको परिस्थिती कोइराला र थापाका ती भनाइ अनुसार नै अगाडी बढ्न पुगेको छ । यसबाट पनि कम्युनिष्टहरु वीचको वृहत एकता पछि प्रजातान्त्रिक शक्तिहरुको वीचमा पनि अव बृहत् एकता आवश्यक छ ।

२०४८ देखि २०७४ सालसम्मको निर्वाचनका परिणामहरुलाई अध्ययन गर्दा नेपालमा कांङ्ग्रेस र कम्युनिष्ट नै स्थायी र बलिया राजनीतिक शक्तिको रुपमा स्थापित भैसकेका छन् । २०५१ सालमा राप्रपाले प्राप्त गरेको २० सिटलाई अपवाद मान्ने हो भने बारम्बारको जनमत परीक्षणले स्थापित गरेको सत्य यहि हो । पछिल्लो संविधान सभाको निर्वाचनमा दुबै राप्रपाले ३७ सीट ल्याउन सफल भएको थियो ।

सत्ता लिप्सा र पार्टी बिभाजनका कारण गत आमनिर्वाचनमा एमालेको सहयोगमा १ सिटबाहेक संघीय संसदमा राप्रपा प्रजातीको उपस्थिती शून्य रहेको छ ।

वर्तमान नेपालको ‘भोट बैंक’ विश्लेषण गर्दा मुलुकमा चार प्रकारको शक्ति देखिन्छ । ती हुनः प्रजातान्त्रिक, कम्युनिष्ट, परम्परागत र मधेशवादी ।
गत आमनिर्वाचनको मत विश्लेषण गर्दा नेपाली कांङ्ग्रेसले प्रजातान्त्रिक भोट बैंकको प्रतिनिधित्व गरेको देखिन्छ भने कम्युनिष्ट भोट बैंकको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टीले, परम्परागत भोट बैंकको प्रतिनिधित्व राप्रपाले गर्नुपर्ने हो तर राप्रपा प्रजाती आपसमा बिभाजित भएर यो भोट बैंकको प्रतिनिधित्व संघीय संसदमा हुन सकेन । मधेसवादी भोट बैंकको प्रतिनिधित्व राजपा र संघीय समाजबादी फोरमले गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबिच भर्खरै सम्पन्न पार्टी एकताले मुलुकमा अब नेपाली कांङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीको मात्र संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित देखिन्छ । क्षेत्रीय रुपमा मधेशवादी दल र परम्परागत दलको रुपमा राप्रपा प्रजातीले आफूमा धेरै ठूलो परिवर्तन र परिमार्जन गर्नु जरुरी देखिन्छ । यसो भएमात्र यी दलहरुको संघीय संसदमा झिनो प्रतिनिधित्व अपेक्षा गर्न सकिन्छ ।

निर्वाचनको यो समिक्षा र विश्लेषणसँगै मुलुकमा संविधान र संवैधानिक प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र, मानव अधिकार, पूर्ण प्रेश स्वतन्त्रता, आवधीक निर्वाचन, उदार अर्थ व्यवस्था, सम्बद्र्धनवादी उदार सामाजिक परिवर्तनका लागि अब बाध्य भएर प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएर रचानात्मक र सकारात्मक भूमिकाका लागि मुलुकको विकासमा योगदान पु¥याउन जरुरी छ । कम्युनिष्टहरु वीचमा एकता पछि एउटा कुरा बुझ्न के जरुरी छ भने, संविधानको उदार व्यख्या र विश्लेषणमा कमि आउन सक्दछ । जसको पछिल्लो उदाहरण राष्ट्रपति विद्यादेवी भण्डारीले गत ७ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सर्वभौम एवं जननिर्वाचित प्रतिनिधी सभाका सभामूख र राष्ट्रिय सभाका अध्यक्षलाई संवोधनका क्रममा गरिएको अपमानले पनि पुष्टि गर्दछ ।

नेपाललाई आधुनिक र सम्मुनत बनाउनका लागि प्रजातान्त्रिक विधि र पद्धतीबाट मात्रै संभव छ भन्ने तथ्य नेपाली राजनीतिक विकासको इतिहासले प्रमाणित र पुष्टि गरिसकेको छ । राजनीतिको सम्पूर्ण लक्ष्य र उद्देश्य जनतालाई बनाउन सकिएन भने जनताले त्यो प्रक्रियाको समर्थन गरिरहन्छन् भन्न सकिँदैन । देशमा निर्वाचन पछि एउटा स्थिर सरकार बनेको छ । यो सकारात्मक र स्वागत योग्य कुरा हो ।

५ बर्षका लागि भएको निर्वाचनमा वामपन्थीहरुले बहुमत प्राप्त गर्नु संसदीय अभ्यासको सकारात्मक पाटोको रुपमा लिन सकिन्छ । तर, बहुमतको दम्भ र घमण्ड देखाउन थालियो भने त्यसलाई शसक्त प्रतिवाद र सन्तुलनमा राख्नका लागि पनि अव नेपाली कांग्रेस एउटा शसक्त, जुझारु र प्रभावकारी राजनीतिक शक्ति बनेर मात्रै पुग्दैन । उसले आफ्नो नेतृत्वमा सबैखाले राष्ट्रवादी र प्रजातान्त्रिक राजनीतिक दलहरुलाई एकै ठाउँमा लिएर हिँड्नु पर्दछ ।
जो परिवर्तन र अग्रगमनका लागि इमान्दार यात्री हुन सक्दछन् । कांग्रेस यतिठूलो प्रगती र परिवर्तनको नेतृत्वदायी शक्ति हुँदाहुँदै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रचुर ख्याती कमाउँदा कमाउँदै पनि आफू भित्रै हराउन थालेको महशुस हुन थालेको छ । यसलाई चिरेर कांग्रेस अगाडी बढ्नुको अब विकल्प छैन । संसदीय निर्वाचन आवधीक हो, निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरेर कुनै पनि ग्लानी र हिनताबोध नलिई उसले मधेशवादी राजनीतिकदल राप्रपा प्रजातान्त्रिक, राप्रपा लगायतका दलहरुसँग लोकतान्त्रिक गठवन्धनको माध्यमबाट सहकार्य गर्दै अगाडी बढ्नुको विकल्प छैन ।

आजको विश्वमा मानव विकासको प्रमुखआधार भनेको दिगो शान्ति र आर्थिक समृद्धी नै हो । नेपाली कांग्रेस सहित लोकतान्त्रिक गठवन्धनले अब मुलुकलाई यही दिशामा अगाडी बढाउनका लागि शसक्त र प्रभावकारी भूमिका खेल्दै रचानात्मक प्रतिपक्षको रुपमा आफूलाई अगाडी बढाउनु जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट सातै वटा प्रदेश ७७ वटा जिल्ला, ७ सय ५३ स्थानीय तहमा विकास र समृद्धी समानुपातिक र सन्तुलित रुपमा पुर्याउनका लागि पनि कांग्रेस सहितको लोकतान्त्रिक गठवन्धन धेरै शसक्त र प्रभावकारी हुन अपरिहार्य छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले भने झैं ‘महेन्द्रका कोखबाट जन्मेका र चुनावबाट आएका कम्युनिष्ट हरुसँग डराउनु पर्दैन ।’ कांग्रेसको नेतृत्वले पार्टीभित्रै सुधार परिवर्तनका साथ सबैलाई समेटिएर मानसिक रुपमा नै एकिकृत र सिंगो नेपाली कांग्रेसले सबै प्रजातान्त्रिक र राष्ट्रवादी दलहरुलाई समेत समेटेर अगाडी बढ्नु र लोकतान्त्रिक गठवन्धनलाई संस्थागत रुपमा अगाडी बढाउनु आजको पहिलो र अनिवार्य आवश्यकता हुन आएको छ ।

लेखक, पत्रकार एवं राप्रपा (प्रजातान्त्रिक) पार्टीका स–प्रबक्ता हुन् ।
[email protected]

 

ताजा खबर