त्रिभुवन विमानस्थल अब दैनिक २१ घण्टा खुला

२०७५ जेठ ७ सोमबार १६:५८:०० मा प्रकाशित

 

काठमाडौं, ७ जेठ । विगतमा दैनिक १८ घण्टा संचालन र ६ घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार देखि नियमित रुपमा दैनिक २१ घण्टा संचालन हुने भएको छ ।

विगत् केहि समयदेखि संचालन समय बढाउन प्रयासरत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रम आयोजना गरि यसको घोषणा गरेका हुन् ।

यसअघि विमानस्थल संचालन समय थोरै हुँदा उडान तथा अवतरणको चाप बढि भएकोले जहाजलाई आकाशमा होल्ड गर्न लाउनु पर्ने तथा उड्ने बेला पालो नपाउनाले पनि ढिलो हुने समस्याबाट विमानस्थनल ग्रसित थियो । अब २१ घण्टा एयरपोर्ट संचालनमा आएपछि उक्त समस्या समाधान हुने विश्वास लिइएको छ ।

विमानस्थललाई २१ घण्टा संचालन गर्नमा विशेष जोड मन्त्री अधिकारी कै थियो । उनले मन्त्रालयको सय दिने कार्ययोजनामा नै यो कार्यक्रम संलग्न गरेका थिए ।

२१ घण्टा विमानस्थल सञ्चालनको लागि आवश्यक एटीसीलगायत अन्य जनशक्ति व्यवस्थापन भइसकेको तथा अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको बताइएको छ ।

त्यस्तैगरी विमानस्थल सुधारको लागि अबदेखि आउन र जान फरक बाटोको प्रयोग गर्नुपर्नेछ भने यात्रु बाहिरिने क्रममा ब्यागेज पनि एक्सरे मेसिनबाट चेक भएर मात्र बाहिर आउने भएको छ ।

 

ताजा खबर