चिनियाँ नाका जोडने छोटो दुरीको सड्क हस्तान्तरण 

२०७५ जेठ ७ सोमबार ०६:११:०० मा प्रकाशित

काठमाडौ, जेठ ७ ।  चीनसँगको उत्तरी नाका जोड्ने छोटो दुरीको मैलुङ—स्याफ्रुबेशी सडक खण्ड नेपाली सेनाले सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको छ । 
०७१ माघ ९ मा तत्कालीन अर्थमन्त्री रामशरण महतले शिलान्यास गरेको सडक नेपाली सेनाले पुरा गरी आइतबार सरकारलाई हस्तान्तरण गरेको हो ।  राष्ट्रिय प्राथमिकता (पि–१) प्राप्त उक्त सडकको रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।  उक्त अवसरमा सेनाले गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई उक्त सडक हस्तान्तरण गरेको छ । 
सेनाले ०७२ वैशाख १ गतेबाट  उक्त सडकको निर्माण कार्य शुरु गरेको थियो । शुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको सेनाले भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ कि.मि. को डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ—स्याफ्रुबेशी सडक खण्डको दुरी करिव २५ कि.मि. कम भएकोले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउने र  उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा समेत रहेको छ । यो सडक खण्डमा घुम्ती छैनन भने ग्रेडिएन्ट समेत मिलेको हुँदा तुलानात्मक रुपमा बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा सजिलो र सुरक्षित समेत रहेको छ । 

ताजा खबर