देशमा सूर्याेदय भयो, स्वागत गरौं 

२०७५ जेठ ३ बिहीबार १२:५२:०० मा प्रकाशित

दुखपछि सुख आउँछ, सुख पछि दुख आउँछ । हरेक मानिसको जीवनमा यो हुन्छ । सबैले अनुभव गरेकै कुरा हो । राष्ट्रको जीवनमा पनि सुख दुख आइरहन्छ । नेपाल र नेपालीले चाहिँ विगतमा कहिले सुखको अनुभूति गर्न पाएनन् । सुख र खुशी क्षणिक भयो, दुख चाहिँ स्थायी भयो हामी नेपालीका लागि । 

धेरै लामो समय दुख गरेपछि सुखका दिन आउँछ भन्ने भनाई त्यसै बनेको होइन । नेपालमा सुखको सूर्याेदय क्रमश हुन थालेको हामी अनुभव गर्न सक्छौं । संविधान निर्माण सूर्याेदयको सुरुआत थियो । त्यसपछि नाकावन्दी र अस्थिरताको कालो बादल लाग्यो । त्यसपछि स्थानीय चुनाव भयो । सूर्याेदय भइछाड्यो । 

त्यसपछि केन्द्र र प्रदेशको चुनाव भयो । वाम गठवन्धनले बहुमत ल्यायो । अस्थिर सरकार, अस्थिर राजनीतिका कारण नेपाली जनता आजित भएका थिए । जनताले बलियो र स्थिर सरकार चाहेका थिए । त्यही भएकाले वाम गठवन्धनले बहुमत ल्याएको थियो । वाम गठवन्धनले बहुमत ल्याएको भए पनि अहिलेसम्म केपी शर्मा ओलीको सरकार संवैधानिक तथा कानुनी दृष्टिले बहुमतको थिएन । यो दुई पार्टीको सरकार थियो । 

पार्टी एकीकरण हुन्छ ? सबैको चासो थियो । व्यक्तिगत रुपमा मैले पनि सबैभन्दा धेरै सामना गर्नुपर्ने प्रश्न यही थियो । जहाँ गए पनि, जसले पनि सोध्ने एउटै प्रश्न थियो–‘पार्टी एकीकरण हुन्छ ?’ विश्वासपूर्वक म जवाफ दिन्थें–‘एकीकरण अवश्य हुन्छ ।’

तर, आफैंलाई कताकता अविश्वास थियो । एकीकरण नहुने पो हो कि ? यो चिन्ताले सताइरहन्थ्यो । 

एकीकरण हुन्छ कि हुँदैन भनेर सबैले सोधिरहेको प्रश्नभित्र एउटा चिन्ता थियो । त्यो चिन्ता हो– देशले स्थिर सरकार पाउँछ कि पाउँदैन भन्ने । एकीकरण भयो भने देशले पाँच वर्षसम्म स्थिर सरकार पाउँछ, एकीकरण भएन भने स्थिर सरकार पाउँदैन भन्ने सबैले बुझेका थिए । त्यसैले जनताको एक मात्र चिन्ता एकीकरण हुन्छ कि हुँदैन भन्नेमा थियो । 

म नेताहरुलाई सोध्थें–‘एकीकरण हुन्छ त ?’ कोही एकीकरण हुन्छ भन्थे, कोही हुँदैन भन्थे । तर, उच्च तहका निर्णायक नेताहरुले चाहिँ ठोकुवा गरेर कुनै पनि हालतमा एकीकरण हुन्छ भन्थे । 

नभन्दै एकीकरणको घडी आइपुगेको छ । कार्ल माक्र्सको जन्मजयन्तीका दिन एकीकरण नहुँदा ठूलो निराशा छाएको थियो । मदन भण्डारी र जिवराज आश्रितलाई सम्बोधन गर्दै एकीकरण हुनुको खास अर्थ छ । 

एकीकरण हुन्छ कि हुँदैन भनेर प्रश्न उठिरहेको अवस्थाबाट ड्याम्मै एकीकरण हुने अवस्थाको बिकास कसरी भयो होला ? यसका धेरै कारण छन् । सबैभन्दा मुख्य कारण चाहिँ पार्टी एकीकरण पहिले नै भइसकेको हो । एउटै चुनाव घोषणापत्रमा चुनाव लड्नु आफैंमा एकीकरण थियो । अहिले एकीकरणका लागि जे भइरहेको छ त्यो त प्राविधिक विषय मात्र हो । 

एउटै घोषणापत्रमा चुनाव लडेपछि पछाडि फर्कने कुनै ठाउँ थिएन । एकीकरणका लागि दुवै पार्टीका कार्यकर्ता ब्यग्र थिए । जनचाहना यही थियो । अन्तत औपचारिक रुपमा एकीकरण भयो । अनौपचारिक रुपमा त पहिले नै एकीकरण भइसकेको हो । 

यो एकीकरणले अब देशमा पाँच वर्ष स्थिर सरकार हुने सुनिश्चितता प्राप्त भएको छ । स्थिर सरकारले मात्र बिकास र समृद्धि दिन सक्छ भन्ने जनताले बुझिसकेका छन् । हुनत बिगतमा पनि बहुमतको सरकार नभएको होइन तैपनि देशले कुनै स्थिरता हासिल गर्न सकेन । बिगतका बहुमतका सरकारहरुले गरेको त्रुटीबाट शिक्षा लिँदै यो सरकार अगाडि बढ्ने छ । 

मुलुक निकै लामो समय द्धन्द र निराशाको बीचबाट गुज्रियो । देशमा आशा र उत्साहको बातावरण थिएन । अब परिस्थिति परिवर्तन भयो । अब देशमा केही हुन्छ भन्ने बातावरण बनेको छ । आशा र उत्साह जागेको छ । एक ढंगले भन्ने हो भने देशमा उन्नति, प्रगति, आशा र उत्साहको सूर्याेदय भएको छ । 

आउनुस्, यो सूर्याेदयलाई स्वागत गरौं । 
(लेखक शान्ता चौधरी एमालेकी सांसद हुन्)
 

ताजा खबर