नेवानिका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवार भनाई, यात्रुहरु अलपत्र 

२०७५ जेठ २ बुधबार ११:२६:०० मा प्रकाशित

काठमाडौं,२ जेठ । आन्तरिक उडानको लागि ९ वटा जहाज भएको नेपाल वायुसेवा निगम (नेवानि) ले जहाज ग्राउन्डेड राख्ने प्रवृत्ति कम गर्न सकेको छैन। 

जहाज ग्राउन्डेड राख्ने प्रवृत्ति मात्र नभएर जहाज बिग्रिएको भन्दै आफ्नो दायित्वबाट पन्छिने कर्मचारीहरुलाई प्रोत्साहित गर्ने टिप्पणी नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले दिएका छन्।

कंसाकारले सोमबार आफ्नो ट्वीटर र फेसबुकमा एउटा पोष्ट सार्वजनिक गर्दै ‘जहाज बनाउन नसकेकोले यात्रुहरु एयरपोर्ट आइसकेपछि फ्लाइट क्यान्सील गर्दा रिसाएकामा माफी माग्ने बाहेक केहि उपाय छैन’ भन्दै जिम्मेवारीबाट पन्छिएका छन्। पदीय जिम्मेवारीको कुनै महसुस नै नभएसरी कंसाकारले सामाजिक सञ्जामा दिएको यस्तो प्रतिक्रियाको निगमभित्रै निकै आलोचना भएको बुझिएको छ। 

यस्तो छ कंसाकारको फेसबुक पोष्ट, ‘ MA60 चीनियाँ विमानको इन्जिनमा समस्या आएपछि हिजो बेलुका १० बजेसम्म मर्मत गर्न कोसिस गर्दापनि समस्या समाधान भएन र आजको फ्लाइटहरु क्यान्सील गर्दा एयरपोर्ट पुगेका यात्रुहरु निकै रिसायो के गर्ने भनि एक कतबाा को भरखर फोन आयो, हामीले माफी माग्ने बाहेक केहि उपाय छ र भनि जवाफ दिएँ !’

 

हाल नेवानिसँग चीनमा निर्मीत एमए ६० जहाज दुईवटा छन्। त्यस्तै वाई १२ इ ४ वटा र ३ वटा ट्वीन अटर विमान छन्। एउटा एमए ६० जहाज सधैं ग्राउन्डेड गरि राख्ने नेवानिको चलन भएको छ। यस्तोमा चलिराखको एउटा ग्राउन्डेड हुँदा यात्रुहरु एयरपोर्टसम्म आउँदा सामान्य जानकारी नदिंदा रिसाउनु स्वभाविक हुनु तथा अन्य विकल्प प्रदान गर्नु पर्ने दायित्व भएपनि कंसाकारले माफी मागेर टार्न आफ्ना कनिष्ठ कर्मचारीलाई सिकाएका छन्।

उनको फेसबुक पोष्टमा जवाफ दिंदै शरद राज पाठकले सटिक जवाफ दिएका छन्, ‘उपाय छ नि । टिकट लिएका यात्रुलाई फोन वा क्ःक् मार्फत फ्लाईट रद्द भएको सूचना अग्रिम दिन सकिन्छ नि । तर, त्यो झण्झट कसले उठाउने?’  

शरदको प्रश्नको उत्तर महाप्रबन्धक कंसाकारबाट आउन सकेको छैन।

त्यसैगरी अरु कुनै उपाय नदेख्ने महाप्रबन्धकलाई सोही पोष्टमा जवाफ दिंदै सुमन पाण्डे लेख्छन्, ‘यस्तो अवस्थामा, नेवानिका कर्मचारी अतिरिक्त रुपमा सक्रिय भइ यात्रुलाई अन्य नीजि विमानमा व्यवस्था गरिदिन सकिन्छ। नेवानिले सवै (वायुसेवा) संचालकहरुलाई भनेर यात्रुहरुलाई स्थानान्तरण गर्नुपर्छ। यस्तो समस्या सबै वायुसेवा कम्पनीमा पर्न सक्छन् ।’ उनले थपेका छन्, ‘माफ माग्नु भनेको समस्याबाट भाग्नु हो।’ 

त्यस्तैगरी मनिन्द्र आर मल्ल प्रश्न गर्छन्, ‘एसएमएस अलर्ट सिस्टम राख्नुस भनेर आउँदा हजुरले सुनेको भए यो दिन आउने थियो? अरुको समयको महत्व हजुर जस्तो गरीमामय पदमा हुनेले कहीले सिक्ने?’

अर्का फेसबुक प्रयोगकर्ता रिजन रिजाल सुझाउँछन्, ‘माफि माग्नु भन्दा इन्डोर्समेन्ट (अन्य जहाजमा व्यवस्था) गर्नुपर्छ, अरु प्राइभेट एयरलायन्सहरुमा, सरी भनेर यात्रुको समस्या हुँदैन सर।’

नेवानिले दुर्गम क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले ६ चाइनिज जहाज, ५६ सिट क्षमताको एमए ६० दुईवटा र १७ सिट क्षमताको वाई१२इ चारवटा ल्याउने निर्णय भए अनुरुप सबै जहाज आइसकेको छ । कुल ६ वटामा ४ वटा जहाज १ दशमलब ५ प्रतिशतको सहुलियत ऋणबाट खरिद गरिएको थियो भने २ वटा जहाज अनुदान मार्फत पाउने सहमति भएको थियो। 

आफ्नो लगानीबाट किन्न नसक्ने नेवानिले सहुलियत ऋणमा जहाज किन्न पाउनु ठुलो अवसर हो। तरपनि नेवानि व्यवस्थापन सो जहाजहरु उडाएर यात्रुलाई सुविधा दिनभन्दा पनि पाइलट नपाइने, बिमा शुल्क महँगो, मर्मत खर्च महँगाो जस्तो समस्या देखाइ जहाज नउडाउने बहाना खोज्दै बस्ने गरेको छ।

केहि समय अघि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ३ महिनाभित्र नेवानिको सबै जहाज उडाउन समयसिमा दिएका थिए। उनले नेवानि व्यवस्थापनलाई जहाज ग्राउन्डेड गरि नराख्न र समस्या भए सुल्झाउन आग्रह पनि गरेका थिए। 

ताजा खबर