प्रधानमन्त्रीलाई खुला पत्र- 'मोदीको भ्रमणमा गरिएको राष्ट्रिय झण्डाको अपमान सहन सकिँदैन'

२०७५ जेठ १ मंगलबार ११:१६:०० मा प्रकाशित

हेल्लो प्रधानमन्त्री केपी ओलीज्यू !

एउटा विषयमा मेरो यति धेरै चित्त बुझेन कि यहाँलाई यो खुल्ला पत्र नलेखी बस्न सकिन। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा किन भारतीय सेना परिचालन गरियो भन्ने विषयमा मेरो चित्त बुझेको छैन। मोदीलाई दुई ठाउँमा किन अभिनन्दन गर्नुपर्यो भन्नेमा मेरो चित्त बुझेको छैन। अभिनन्दन गर्दा किन नागरिक अभिनन्दन भनियो? यसमा पनि मेरो चित्त बुझेको छैन। मजस्ता हजारौं नागरिक मोदीले नाकावन्दीमा माफी माग्नुपर्छ भन्ने पक्षमा थियौं। हामी अभिनन्दनको पक्षमा थिएनौं। तैपनि किन ‘नागरिक अभिनन्दन’ गर्नुभयो?

चित्त नबुझेका विषय धेरै छन्। मैले खुल्ला पत्र नै लेखेर तपाईं समक्ष राख्नुपरेको विषय चाहिँ जनकपुरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको हो। 

मोदीको भ्रमणको क्रममा तथा मोदीलाई स्वागत गर्न तपाईं पनि जनकपुर पुगेको बेलामा नेपालको झण्डालाई किन विरुप पारेर प्रयोग गरियो? भारतको झण्डा सामान्य छ तर नेपालको झण्डा असामान्य छ। झण्डा बिगारेर राखिएको छ। झण्डाको बाहिरी किनाराको मोटाई धेरै छ। झण्डाको माथिल्लो र तल्लो कोण बिगारिएको छ। चन्द्र सूर्यको स्वरुप पनि बिगारिएको छ। समग्रमा भन्नुपर्दा झण्डा पूरै बिगारिएको छ। 

झण्डा कति बिगारिएको छ भन्ने यहाँ के वर्णन गर्नु? तस्विर आफैं बोल्छ, भिडियो त झन् बोल्छ। तस्बिर र भिडियोको पनि के कुरा गर्नु? तपाईंले आफ्नै आँखाले देख्नुभयो। नेपालको बिगारिएको झण्डा किन हटाउन लगाउनुभएन? किन परिवर्तन गर्न लगाउनुभएन?


प्रधानमन्त्रीज्यू,

जानकी मन्दिरमा नेपालको झण्डा जसरी विकृत स्वरुपमा राखियो, त्यो नियत खराब भएरै हो जस्तो लाग्छ। २ नम्बर प्रदेशका मुख्यमन्त्रीले जसरी संविधान विरोधी भाषण गरे मोदी आएको बेलामा, त्यो गलत थियो। त्यही गलत भावनाले यसो गरिएको हो कि? मोदी आएको बेलामा केही गलत सन्देश दिने, गलत भावना फैलाउने उद्देश्यले त्यसो गरिएको हो कि? केही न केही गडबडी छ। यो गल्ती अन्जानमा भएको होइन, यो नियतवस भएको हो। 

प्रधानमन्त्रीज्यूलाई स्मरण दिलाउन चाहन्छु, जानकी मन्दिरमा केही समय पहिले भारतको झण्डा राखिएको थियो। त्यो झण्डा हटाउन माग उठेको थियो। जनकपुरमा नेपालको झण्डा बिगारिएकै बेलामा भारतका सांसद कीर्ति आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिएका छन्। यो संयोग मात्र हो त प्रधानमन्त्रीज्यू?

मोदीको भ्रमणको क्रममा स्वतन्त्र मधेसको व्यानर प्रदर्शन गरिएको छ। यस्तैयस्तै हुन्छ भन्ने आशंकाले, भित्री षड्यन्त्रले गति लिन्छ भन्ने आशंकाले विगतमा सुशील कोइरालाको सरकारले मोदीलाई जनकपुर जान, जनकपुरमा आमसभा गर्न रोक लगाएको थियो। यो सबै थाहा हुँदाहुँदै किन मोदीलाई जनकपुर लगेर आमसभा गराउनुभयो?

प्रधानमन्त्रीज्यू,

राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने भन्ने निर्देशिका सरकारले जारी गरेको छ। त्यो निर्देशिकाको पालना पटक्कै भएन। 

निर्देशिकाको दफा ७ को उपदफा १० मा (१०) विदेशी पाहुनाहरुसँग हुने बैठक समारोहमा प्रयोग हुने राष्ट्रिय झण्डाको व्यवस्थापन परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सम्बन्धित मन्त्रालयले गर्नेछ भनेर लेखिएको छ। निर्देशिकामा यस्तो व्यवस्था हुँदाहुँदै मन्त्रालयले झण्डा व्यवस्था नगरेको हो कि? यदि त्यसो हो भने परराष्ट्र मन्त्रीलाई कारवाही हुनुपर्छ। 

निर्देशिकाको दफा ११ मा प्रयोगमा देहायका कार्यहरु गर्न निषेध गरिएको छ -

(क) राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन,

(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न,

(ग) राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न,

(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न,

(ङ) व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन,

(च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री÷बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक÷चित्र राख्न,

(छ) फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न,

निर्देशिकाको यो व्यवस्था तपाईं आफू पनि पढ्नुस्, सम्पूर्ण कर्मचारीलाई पनि पढ्न लगाउनुस् अनि सबै जनप्रतिनिधिलाई अनिवार्य रुपमा पढ्न लगाउनुस्। पढ्न लगाएर मात्र हुँदैन, पालना गर्न पनि लगाउनुस्। 

प्रधानमन्त्रीज्यू,

जनकपुरमा राष्ट्रिय झण्डाको जुन अपमान गरिएको छ, त्यो सहेर बस्न सकिँदैन। सहन हुँदैन पनि। नेपालको राष्ट्रिय स्वाभिमान, गौरव तथा सम्मानमा आँच पुर्याउने नियतले राष्ट्रिय झण्डा बिगारिएको छ। 

यो गम्भीर अपराध हो। यस्तो अपराध क्षम्य हुन सक्दैन। दिन बित्दै जाँदा जनताले यो अपमान बिर्संदै जानेछन्, घटना सामसुम हुनेछ भन्ने भ्रममा पटक्कै नपर्नुहोला। नेपाली जनताले यो घटनालाई नियालेर हेरिरहेका छन्। यो अपराधमा ठोस कारवाही गर्नुस्, केही कर्मचारीलाई स्पष्टिकरण सोधेको भरमा सरकारको दायित्व पूरा भयो भन्ने नठान्नुहोस्। यो अपराधमा कडाभन्दा कडा कारवाही गर्नुहुन्न भने तपाईंकै नियतमा पनि प्रश्न उठाउनुपर्ने हुन्छ।

राष्ट्रवादको परीक्षामा तपाईंले फेल हुने लक्षण देखाइसक्नुभएको छ। तपाईंको परीक्षा धेरैवटा विषयमा भइरहेको छ। कृपया राष्ट्रिय झण्डाको अपमान गरिएको यो परीक्षामा चाहिँ फेल नभइदिनुहोला। कारवाही प्रकृया थालिहाल्नुहोला। धन्यवाद,

 

 


 

ताजा खबर