१३ दिन भयो फाप्लुमा विमान नआएको 

२०७४ असार २६ सोमबार ०८:००:०० मा प्रकाशित

सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ । 

गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए। 

नियमित बाक्लो हुस्सु तथा नियमित पानी परिरहेको कारण विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि धावनमार्ग हिलो हुने समस्या टरेको भए पनि मौसम खराबीका कारण उडान अवरुद्ध भएको हो । 

निर्वाचनमा मतदानका लागि जिल्ला आएका राजधानी फर्कनका लागि टिकटको अत्याधिक माग भए पनि उडान नै हुन नसक्दा यात्रु मारमा परेको श्रेष्ठले बताए। 

उता जिल्लाकै लुक्ला विमानस्थलमा पनि उडान प्रभावित भइरहेको छ । लुक्लामा बिहानीपख केही उडान हुने गरेको भए पनि आवश्यकताअनुसर उडान हुन नसकिरहेको तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए। उनका अनुसार दैनिक पाँच÷छ वटा उडान तालिका हुने गरेको भए पनि मौसम खुलेको मौका पारेर एक÷दुई उडान मात्र हुने गरेका छन् । 

चार वटा विमानस्थल रहेको भए पनि काँगेलडाँडा र स्याङबोचे विमानस्थल लामो समयदेखि बन्द रहँदा लुक्ला र फाप्लु विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । 

फाप्लु विमानस्थल बन्द हुँदा यात्रुको चाप जिपमा परेको छ । अहिले सल्लेरीबाट राजधानी जाने जिपमा समेट टिकट पाउन मुस्किल पर्ने गरेको छ । 

यसअघि सल्लेरी–काठमाडौँ जिप भाडा रु एक हजार २०० रहेकोमा अहिले रु एक हजार ८०० सम्म असुल्ने गरेको एक जना यात्रु शिव खड्काले बताए। 

व्यवसायीले भने वर्षात्का कारण जिप सञ्चालनमा समस्या हुने गरेकाले भाडा केही बढी लिने गरेको बताएका छन् । रासस 

ताजा खबर