सगरमाथाको सफल आरोहणसँगै अष्ट्रेलियनको कीर्तिमान

२०७५ बैशाख ३१ सोमबार १७:००:०० मा प्रकाशित


काठमाडौं, ३१ वैशाख । अष्ट्रेलियन आरोही स्टीभ प्लेनले सोमबार सगरमाथाको सफल आरोहण गरेसँगै छोटो समयमा सातै महादेशको अग्लो शिखर चढ्ने किर्तिमान कायम गरेका छन्  ।

स्टीभले आरोहणको क्रम अन्टार्टिका महादेशबाट सुरु गरेका थिए । उनले सातै महादेशको अग्लो शिखर आरोहण गर्ने ‘प्रोजेक्ट सेभेन इन फोर’ नामक मिसन ११७ दिनमा सम्पन्न गरेका हुन् ।

हिमालयन गाइड नेपालका इश्वरी पौडेलले सोमबार बिहान ७ बजे स्टीभ र उनका दुई पथ प्रदर्शकले उच्च शिखरको सफल आरोहण गरेको फोनमा जानकारी पाएको बताएका छन् । अहिले उनिहरु फर्किने क्रममा रहेको जानकारी प्राप्त भएको छ ।

अष्ट्रेलियाको पर्थ शहरका स्टीभले जनवरी १६ मा अन्टार्टिकाको माउन्ट विन्सनबाट यो मिसन सुरु गरेका थिए ।

 

 

अन्टार्टिकाको सफल आरोहण पश्चात उनले दक्षिण अमेरिकाको माउन्ट अकोनकागुवा र अफ्रिकाको माउन्ट किलिमान्जारोको सफल आरोहण गरेका थिए । त्यसपछि स्टीभले क्रमशः पपुवा न्युगिनीमा अवस्थीत माउन्ट कार्सटिन्ज, युरोपको माउन्ट एल्ब्रस र नर्थ अमेरिकाको माउन्ट डेनालिको सफल आरोहण गरि सकेका छन् ।

स्टीभ भन्दा अघि पोल्यान्डका आरोहि जानुस्ज कोचान्स्कीले १२६ दिनमा सातै महादेशको अग्लो शिखरहरुको सफल आरोहण गरेर किर्तिमान राखेका थिए ।

सन् २०१४ मा स्टीभले सर्फिङ गर्ने क्रममा दुर्घटनामा परि धेरै चोटपटक लागे पनि उनि पुन तन्दुरुस्त भइ आरोहण कार्यमा लागेका हुन् र हाल यो किर्तिमान राख्न सफल भएका हुन् ।

 

ताजा खबर