वायुसेवा निगमको अनियमिततामा अख्तियारले किन आँखा चिम्लियो ?

२०७५ बैशाख ३१ सोमबार १३:०५:०० मा प्रकाशित

काठमाडौं, ३१ वैशाख । नेपाल वायुसेवा निगम (नेवानि) लाई सुधार्दै सफल बनाउने घोषणा सहित महाप्रबन्धक पदमा नियुक्त भएका सुगतरत्न कंसाकारको नेतृत्वमा भएका कामहरु नियम विपरित भएको भेटिएको छ । 

नेवानिको पछिल्लो ३ वर्षे कार्ययोजना कंसाकारले अघिल्ला महाप्रबन्धक मदन खरेलको १० वर्षे कार्ययोजनाबाट हुबहु सारेको नेवानि सम्बद्ध श्रोतले बताएको छ । कंसाकारले तत्कालीन संचालक समितिले २०७१ सालमै पास गरेको कार्ययोजनालाई नक्कल गरि २०७२ सालमा आफैंले बनाएको दावी गर्दै कार्ययोजना पास गराएका छन् । कार्ययोजना पनि अर्काको नक्कल गर्नेबाट नेवानिको प्रगति हुन सक्दैन भन्ने आवाज कर्मचारी वृत्तमै उठ्ने गरेको छ । 

त्यस्तैगरी नेवानिलाई आर्थिक रुपमा सबल बनाउने घोषणा गर्दे सरकारको जमानिमा नयाँ जहाज किन्न लागेको अवस्थामा पनि कंसाकार नेतृत्वको नेवानिले आर्थिक मितव्ययिता अपनाउन सकेको देखिँदैन । निगममै भएका सिनियर पाइलटहरुलाई अवसर नदिनु, प्रशिक्षक पाइलट तयार गर्ने विषयमा महाप्रबन्धक उदासिन हुने गरेको भेटिएको छ । आर्थिक मितव्ययिताको लागि समयमै नेपाल तथा दक्षिण एसियामै उपलब्ध पाइलटलाई ल्याउनु भन्दा पनि अन्य देशबाट अन्तिम समयमा महँगा पाइलट ल्याउन पल्केकोले पनि निगमलाई आर्थिक भार पर्ने गरेको निगम सम्बध्द स्रोतले बताएको छ । नयाँ जहाज आएपछि पाइलटको अभाव देखाएर जहाज नउडाउने मेलोमा महाप्रबन्धक लागेको कुरा प्रष्ट भएको छ । 

महाप्रबन्धक कंसाकारले आर्थिक मितव्ययिता नअपनाउने मात्र होइन आर्थिक अनियमितता पनि गर्ने गरेको खुलासा भएको छ । नेवानिले दुबई र दोहामा होटल सम्झौता गर्दा टेण्डर तथा कोटेशन केहि आव्हान नगरि सिधै सम्झौता गर्नुले पनि आर्थिक अनियमितताको आशंका गरिएको छ । दुबईको रोडा अबलुस्तान होटल र दोहाका कन्कर्ड होटलसँग सम्झौता गर्ने कार्यमा निगमका संचालन निर्देशक शुभाष रिजाल र महाप्रबन्धक कंसाकारको हात रहेको जानकारी प्राप्त भएको छ । श्रोतका अनुसार आर्थिक चलखेल गर्न नै सिधा सम्झौता भएको हो । 

त्यस्तैगरी १० लाख रुपैयाँ वार्षिक बजेट भएको विशेष कोषको रकम पनि कंसाकारले मनपरि उडाउने गरेको खुलाशा भएको छ । विशेष अतिथिको आतित्थ्यमा खर्च गर्न विनियोजित उक्त रकम आफु अनुकूलका विभिन्न व्यक्तिहरुलाई बिल भर्पाइ केहिको अभिलेख नराखी मनोमानी ढंगले उडाइ आर्थिक अनियमितता गर्ने गरिएको पनि भेटिएको छ । 

आफु उच्च पदमा रहेको अवसरको दुरुपयोग गर्दै महाप्रबन्धक कंसाकारले नातामा भान्जी पर्ने सुप्रिया तुलाधरलाई आर्थिक फाइदाको दृष्टिकोणबाट आकर्षक स्थान मानिएको हङकङमा खटाउने निर्णय गराउन सफल भएका छन् । सुप्रियालाई उनले निगमको कार्यकारी अध्यक्ष हुँदा आफैंले नेवानिको जागिर दिलाएका थिए । त्यस्तैगरी ६ महिना जति अघि आफ्ना भजित नाता पर्ने बृहतमान तुलाधरलाई पनि हङकङमै सरुवा गराएका थिए । निगममा करिब १४ सय कर्मचारी हुँदा पनि भतिज र भान्जीले नै हङकङमा अवसर पाउनुले पनि कंसाकारले अधिकारको दुरुपयोग गरेको खुलाशा भएको हो । हङकङको प्रत्येक उडानमा २ सय के.जी.सम्म अतिरिक्त लगेज लैजाने सुविधा पनि कंसाकारका भतिज तथा भान्जीले पाएको भन्ने आरोप पनि उनलाई लागेको छ ।

योसँगै महाप्रबन्धक कंसाकार प्रशासनिक व्यवस्थापनमा पनि चुकेको प्रशस्तै घटना भेटिएको छ । नवौं तहका क्याप्टेन सुभाष रिजाललाई संचालन निर्देशकको जिम्मेवारी दिने क्रममा दशौं तहका के.बी. पौड्याललाई उपेक्षा गरेको घटना नेवानिमा ताजै छ । त्यस्तैगरी केहि समय पहिले इन्जिनियरिङ्ग विभागमा पनि दशौं श्रेणीका इन्जिनियर कर्ण बहादुर थापालाई उपेक्षा गरि आठौं तहका इन्जिनियरहरु उपेन्द्र पौड्याल र पोषक ज्ञवालीलाई कायम मुकायम र निमित्त प्रमुखको जिम्मेवारी दिएकोमा हवाई विभागले लिखित रुपमा आपत्ति जनाएपछि बल्ल महाप्रबन्धक कंसाकारले सो निर्णय सच्चाएका थिए । 

आन्तरिक उडानमा नेवानिको उपस्थितिले निजी हवाइ कम्पनीलाई मनोमानी गर्न गाह्रो भइरहेको परिप्रेक्ष्यमा पनि निगमको २५ वटा उडान स्टेशनहरु मध्ये अधिकांशमा करारका कर्मचारीहरुको नेतृत्वमा कार्य संचालन भइ राखेको छ । स्थायी कर्मचारीहरु बढि जिम्मेवार हुने जान्दाजान्दै पनि करारका कर्मचारीलाई यस्तो जिम्मेवारी दिंदा यात्रुहरुको नियमित गुनासो सुनुवाइ हुन नसकेको तथ्यलाई वेवास्ता गर्ने प्रवृत्ति पनि महाप्रबन्धकमा देखिएको पुष्टी भएको छ । 

यसबाहेक नयाँ जहाज खरिदका लागि हवाई दलालसँग भैरहेको चर्चित कमिशनको बिषय लगायत नियमित आर्थिक अनियमितता सार्बजनिक भैरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकाय मौन बसेकामा निगमका कर्मचारीले आश्चर्य जनाएका छन्। 
 


 

ताजा खबर