पहिलो दिनमै आठ शेर्पा सगरमाथाको चुचुरोमा

२०७५ बैशाख ३१ सोमबार ०७:३८:०० मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख  । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा ९८,८४८ मिटर हिमालको आरोहण शुरु भएको छ । 

आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । 

रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए । 

सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ । 

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । 

“धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, मंगलबारबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,”उनले भने । 

आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठको भनाइ छ । 

सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका छन् । 

हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । उनीहरु दिउँसो आरोहण सफल गरी अहिले फर्कने क्रममा रहेका र आज क्याम्प–२ सम्म आइपुग्ने कम्पनीका प्रबन्ध निर्देशक ईश्वरी पौडलले बताए । 

गतवर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भएपनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने उहाँले उल्लेख गरे  । 

ताजा खबर