ओली लम्पसार परेका दस तथ्य

२०७५ बैशाख ३० आइतबार १२:५८:०० मा प्रकाशित

लम्पसार भनेको कस्तो हुन्छ ? केपी ओलीजस्तो हुन्छ । लम्पसार भन्न केपी ओलीले नै सिकाएका हुन् । विगतमा अनेक खालका लम्पसार देखियो । लम्पसार कस्तो हुन्छ भन्ने सटिक ढंगले बुझ्न सकिएको थिएन । 

लम्पसारको खास अर्थ बुझ्न र देख्न केपी ओली नै प्रधानमन्त्री बन्नुपर्यो । प्रधानमन्त्री बनेर ओलीले नै लम्पसारको असली रुप देखाइदिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनको स्वागत सत्कार गर्नु राष्ट्रिय दायित्व र शिष्टाचार थियो । उनको स्वागतमा कुनै कमी हुन नदिनु सरकारको दायित्व नै थियो । तर, ओली सरकारले स्वागत सत्कारको नाममा अलि बढि नै गर्यो । अस्वाभाविक कामहरु गर्यो । 

हुनत ओली लम्पसार परेका होइनन् भनेर तर्क दिनेहरु पनि छन् । खासगरी एमालेको ओली गुटबाट ओली लम्पसार परेका छैनन् भन्ने कोणबाट प्रचारप्रसार गर्ने कामहरु भइरहेको छ । तर, तथ्यले भन्छ, ओली लम्पसार परेका हुन् । ओलीले हिजो जे नारा दिएका थिए, त्यस विपरित काम गरेका छन् । हिजोका ओली र आजका ओलीबीच आकाश पातालको फरक देखिएको छ । 

प्रधानमन्त्री बनेदेखि मोदीलाई नेपाल भ्रमण गराएसम्मका विभिन्न प्रकरणहरुले ओली लम्पसारवादी बनेको प्रष्ट देखिएको छ । यी दस तथ्यले ओली लम्पसार परेको पुष्टि हुन्छ । 

तथ्य नम्बर– १

ओली जति बोलक्कड नेता नेपालमा अरु कोही छैनन् भने पनि हुन्छ । अति प्रष्ट वक्ता पनि मानिन्छन् । पहिलो पटक प्रधानमन्त्री बनेर भारत जाँदा ओलीले भारतमै आफ्नो प्रष्ट वक्ता शैली देखाएका हुन् । तर, यसपटक ओलीको बोली बन्द छ ।

पहिलो पटक प्रधानमन्त्री बनेपछि ओलीले नाकावन्दी खुल्ला नभई भारत भ्रमणमा जाँदिन भनेर अडान लिए । भारतले मान्यो, नाकावन्दी खोल्यो । 

दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओली भारत गए । उनको विगत अडानलाई ध्यानमा राख्दा उनले पहिलो भ्रमण भारतबाट गर्न हुँदैनथ्यो । चीनबाट गर्न पर्दथ्यो । भारत या चीनको सट्टा अन्य कुनै देशको भ्रमण गर्नुपथ्र्याे । नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने परम्परा ओलीले अन्त्य गर्न सकेनन् । लम्पसार परेर पहिलो विदेश भ्रमण भारतको गरे । 

तथ्य नम्बर– २

दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओलीको अडान हुनुपथ्र्याे– नाकावन्दी गल्ती थियो भनेर भारतले स्वीकार नगरेसम्म भ्रमणमा जाँदिन । तर, गल्ती स्वीकार गर्न नलगाई ओली लुसुक्क भारत गए । 

पहिलो पटक नाकावन्दी नखोली भारत आउँदिन भन्न सक्ने ओलीले दोस्रो पटक नाकावन्दी गल्ती थियो भनेर स्वीकार्न लगाउन सक्थे । कुनै सर्त नराखी भारत गए । 

अर्थात्, लम्पसार परे ।

तथ्य नम्बर– ३

भारत भ्रमण गरिसकेपछि ओलीले चीनको भ्रमण गर्नुपर्ने थियो । त्यसपछि मात्र भारतका प्रधानमन्त्रीलाई नेपाल ल्याउनुपर्ने थियो । ओलीले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएका थिए । चीनतिर सम्बन्ध बढाउने कुनै सुरसार नै नदेखाउने, भारततिर मात्र लहसिने प्रवृत्ति ओलीले देखाए । ओली आफैं भारत गए तर चीनमा चाहिँ परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई पठाए ।

तथ्य नम्बर– ४

भारत भ्रमणको क्रममा ओलीले सप्तकोशी नदी भारतलाई सुम्पिएका छन् । ओली र मोदीले नेपाललाई जलमार्गबाट समुद्रसँग जोड्ने भनेर गफ दिएका छन् । ओलीका अनुसार कोशी उच्च बाँध बनेपछि कोशी नदीमा पानीको बहाव बढ्छ र सजिलैसँग जहाज चल्छ । यो झुठा गफ हो । किनभने उच्च बाँध बनेर नदीमा पानीको बहाव बढ्ने सत्य हो तर त्यो पानी नहर बनाएर सिंचाईंका लागि भारतले लैजान्छ । अनि कसरी चल्छ जहाज ?

पानी जहाज चलाउँछु भनेर नेपाली जनतालाई झुठो आश्वासन दिने अनि भारतलाई चाहिँ कोशी उच्च बाँध बनाउन दिनु भनेको लम्पसार नै हो । 

तथ्य नम्बर– ५

विगतमा अरुण तेस्रो आयोजना बनाउन एमालेले नै नदिएको हो । एमालेले अनावश्यक विरोध गरेकोले नेपालले सो आयोजना बनाउन सकेन । सो आयोजना नेपाल मालिक भएर बनाउन खोजिएको थियो । विश्व बैंक, एसियाली विकास बैंकले लगानी गर्न खोजेका थिए । 

त्यही अरुण आयोजना अहिले ओलीले भारतलाई बनाउन दिएका छन् । यो लम्पसार नभएर के हो त ?

तथ्य नम्बर– ६

नेपालमा भारतीय राजदूतावासले सीधै विकास आयोजनामा खर्च गर्न सक्छ । यो व्यवस्थाको एमालेले विरोध गर्दै आएको थियो । प्रधानमन्त्री भइसकेपछि ओलीले भारतीय दूतावासलाई दिइएको यो सुविधा हटाउँछन् भन्ने ठानिएको थियो । यो व्यवस्थालाई उनले खारेज गरेनन्, बरु निरन्तरता दिएका छन् । विगत सरकारकै निर्णय भन्दै यो व्यवस्था हटाउन ओली सरकारले मानेको छैन । 

विगत सरकारले गरेको यो निर्णय गलत हो भने ओली सरकारले किन खारेज गर्दैन ? विगतका सरकारहरुको निर्णयको आड लिएर ओली लम्पसार परेका छन् । 

तथ्य नम्बर– ७

नरेन्द्र मोदीलाई दुईदुई ठाउँ अभिनन्दन किन गर्नुपर्यो ? नेपालको हितमा छैन भन्दै सुशील कोइरालाले मोदीलाई जनकपुर र मुक्तिनाथ जानबाट रोकेका थिए । मोदीलाई रणनीतिक महत्वको ठाउँमा जान नदिएर देशको हित गर्ने सुशील कोइराला र उनको पार्टी राष्ट्रघाती रे । अनि मोदीलाई जनकपुर र मुक्तिनाथ पुर्याउने, जनकपुरमा आमसभा गर्न दिने ओलीचाहिँ राष्ट्रवादी रे ! 

मोदीलाई जनकपुर र मुक्तिनाथ पुराउनु लम्पसार नभएर के हो ?

भारतबाट अमलेखगञ्जसम्म पाइप लाइन ल्याउन ओलीले सम्झौता गरेका छन् । तर, यसका लागि अन्य देशसँग नेपालले पेट्रोलियम किन्न नपाउने सर्त पनि मानेको समाचार आइरहेको छ । यो लम्पसार नभएर के हो ओलीजी ? 

तथ्य नम्बर– ८

मोदी नेपाल भ्रमण आउँदा ओली सरकारले गरेका अनेक हर्कतहरु लम्पसारका ज्यूँदाजाग्दा प्रमाण हुन् । केपी ओली कति लम्पसार परेका छन् भन्ने एउटा सानो घटनाबाट छर्लङग देखिन्छ । 

ओली सरकारले विवेकशील साझा पार्टीको कार्यालय ललितपुरबाट एउटा व्यानर प्रहरी लगाएर हटायो । व्यानरमा मोदीलाई स्वागत र नाकावन्दी भुलेका छैनौं लेखिएको थियो । यो व्यानरले ओली सरकारको केही बिगारिदिएको थिएन । तैपनि किन व्यानर झिकियो ? 

तथ्य नम्बर– ९

मोदीको चाकडीका लागि ओलीले विवेकशीलको व्यानर च्यात्न लगाएका हुन् । मोदीलाई ‘तपाईंको विरोध गर्नेहरुलाई तह लगाएँ नि’ भन्नलाई ओलीले व्यानर च्यातेका हुन् । मोदीको स्वागत र नाकावन्दीको सम्झनामा लेखिएको व्यानर च्यात्नुपर्ने कुनै कारण थिए । लम्पसार परेको छु भन्ने सन्देश मोदीलाई दिनको लागि मात्र व्यानर च्यातिएको हो । 

तथ्य नम्बर– १०

प्रधानमन्त्री भएयता ओलीको मुखबाट एउटा शब्द निस्किएको छैन । त्यो शब्द हो– नाकावन्दी । नाकावन्दी शब्द उच्चारण नै गर्न नसक्नेलाई लम्पसारवादी नभनेर के भन्ने ? 

प्रधानमन्त्री हुने अवस्था देखिनासाथ देखि ओलीले नाकावन्दी शब्द उच्चारण गरेका छैनन् । भारत गए, नाकावन्दी उच्चारण गरेनन् । मोदी नेपाल आए, नाकावन्दी उच्चारण गरेनन् । नाकावन्दी शब्द उच्चारण नगरेर ओलीले आफू विगतको केपी ओली नभएर लम्पसारवादी नयाँ केपी ओली भएको प्रमाण दिएका छन् । 

एघारौं, बाह्रौं...

प्रधानमन्त्री केपी ओलीले लम्पसार शब्द चलनचल्तीमा ल्याएका हुन् । अहिले उनी आफैं लम्पसारको नमूना उदाहरण बनेका छन् । मैले यहाँ ओली लम्पसारको दस तथ्य प्रस्तुत गरेको छु । तथ्य यति मात्र होइन, एघारौं, बाह्रौं र त्योभन्दा धेरै पनि छ । लम्पसारका बाँकी तथ्य आगामी दिनमा लेख्दै जानेछु ।

ताजा खबर