कंसाकार टोली पोर्चुगल उड्दै,जहाज खरिदमा ३ अर्ब कमिशन खाने चलखेल

२०७५ बैशाख २७ बिहीबार १३:०९:०० मा प्रकाशित

काठमाडौं, २७ वैशाख । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहित सञ्चालक समितिका सदस्यहरु र उच्च पदस्थ कर्मचारी सहितको ८ सदस्यीय प्रतिनिधि मण्डल निगमले पोर्चुगलको हाइफ्लाई एअरबाट लिनका लागि निर्माण भैरहेको विमान हेर्न भोलि शुक्रबार पेरिस जाने तयारी गरिरहेको छ ।

तर निगम सूत्रका अनुसार एअरबसको फ्रान्सको तुजलुस्थित कारखानामा पोर्चुगलको हाइफ्लाई एअरको लागि बनेको जहाज नै निगमले पाउँछ भन्ने ग्यारेन्टी चाँही छैन। निगमले टेण्डर माग्दा १००० घण्टा उडेको र २०१४ यता उत्पादन भएको एअरबस ३३०-२०० सेरिजका दुईवटा जहाज आपूर्ति गर्न प्रस्ताव माग गरिएको थियो। नयाँ जहाज आपूर्ति हुँदा टेण्डरको आधारभूत क्राइटेरियाको उल्लंघन हुन जान्छ।

आपूर्तिकर्ताको व्यापक सहभागितालाई संकुचित गरी केही पहिले मिलेमतो भैसकेका कम्पनीलाई ठेक्का दिलाउन गरिएको सुनियोजित कारबाही पुष्टि हुन जान्छ। टेण्डरमा उल्लेख गरिएको भन्दा फरकप्रकृतिको सामान उपलब्ध गराएकोमा यसमा संलग्न आपूर्तक र खरिदकर्ता दुवैतिरका जिम्मेवार पदाधिकारी विरुद्ध अख्तियार लगायत आर्थिक अनियमितता र भ्रष्टाचार र पदको दुरुपयोग गर्ने अधिकारीहरुमाथि अख्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायबाट कारबाही हुन सक्छ।

बैंकसँगको नौटंकीले मूल्यको चलखेल सार्वजनिक

ढाँटेको कुरा काटे मिल्दैन भन्ने उखान निगमको यसपटकको खरिदमा पनि चरितार्थ भएको छ। निगमले ७ अप्रिल २०१७ मा बिक्रेता हाइ फ्लाई एक्स आयरल्याण्ड र एएआर इन्टरनेशनल इन्क, जर्मन एभिएशन क्यापिटल र हाइफ्लाई ट्स्पपोर्ट एरोज एसएसँग गरेको हवाइजहाज बिक्री तथा खरिद संझौतामा प्रत्येक जहाजको एअरफ्रेमको आधार मूल्य ९२ मिलियन २६ हजार ८ सय डलर हुने उल्लेख गरेको छ।

जहाज खरिदको कमिशन र मूल्यमा राखिएको अधिक रकम गरी झण्डै ६ अर्बको रकम पचाउन जर्मनीको म्युनिखमा सिर्जना गरिएको एस्क्रो एजेण्ट नर्टन रोज फूलब्राइट एलएलपीसँग गरिएको संझौताको दफा नं ५ खरिद मूल्य सन्तुलन शीर्षक अन्तरगतको उपदफा १ मा हरेक जहाजको खरिद मूल्य १०४. ८ मिलियन डलर हुने र १०९ मिलियन डलरभन्दा नबढ्ने किटानी गरिएको छ ।

तर निगमका तर्फबाट दोस्रो किस्ता रकम पठाउन नयाँ नाटक मञ्चन गरिएको छ। यस अगाडि ७९ मिलियन अर्थात ७ अर्ब ९० करोड रुपैयाँ गुपचुप नर्दन रोज फुलब्राइट एलएलपीको खातामा र जहाज खरिदको कमिटमेण्ट रकम वापतको १० करोड रुपैयाँ एएआर इन्टरनेशनल इन्कको खातामा सीधै पठाएको निगमका फाइनान्स निर्देशक उमेश पौडेलले विभिन्न बाणिज्य बैंकसँग पैसा पठाउँदा डलर सटहीमा पाउने कमिशन र छुट लगायत दिन सकिने नसकिने विषयमा उत्कृष्ट बाणिज्य बैंकहरुसँग कोटेशन माग गरेका छन्।

रमाइलो कुरा के छ भने सो कोटेशनमा निगमले जुन महिनाको तेस्रो हप्तामा ८० मिलियन डलर र जुलाई महिनाको तेस्रो हप्ता थप ८० मिलियन डलर पठाउने उल्लेख गरेका छन्। निगमले पहिल्यै पहिलो किस्ता स्वरुप ७९ मिलियन र प्रतिबद्धता शुल्क स्वरुप १ मिलियन डलर पठाइसकेको छ। यसको अर्थ जहाजको मूल्य संझौतामा उल्लेख गरेका प्रतिजहाज १०४ देखि १०९ मिलियन डलर नभएर प्रति जहाज १२० मिलियन डलर पुग्दैछ। यसरी प्रति जहाज १६ देखि न्यनतम् ११ मिलियन गरी २ अर्ब २० करोड देखि ३ अर्ब २० करोड रुपैयाँ सोझै थप खान खोजिएको छ।

इञ्जिन नयाँ हो कि पुरानो ?

निगमले बिक्रेता हाइफलाई एक्स आएरल्याण्ड र साझेदारसँग गरेको खरिद संझौतामा एअरफ्रेमको बेस प्राइस उल्लेख हुनु तर इञ्जिनको मूल्य र उत्पादन समयको बारेमा टेण्डरदेखि खरिद संझौता कहिँ पनि उल्लेख नभएकोले निगमका पदाधिकारी र विक्रेताहरुले इञ्जिनमा खेलमेल गरेको अनुमान गरिएको छ।


निगमले ७७२ सेरिजको इञ्जिन भने पनि यो सेरिजमा ७७२-६०, ७७२बी-६० र ७७२ सी-६० का इञ्जिन बन्दछन्। एकै फेमिलिका भए पनि हरेक वर्गका इञ्जिनको क्षमता र गुणस्तर फरक छ। निगमले लिन लागेको कुन इञ्जिन जडित विमान हो आजसम्म खुलेको छैन।

इञ्जिनको सेरिजको उल्लेख भएपनि त्यसको उत्पादन समयको उल्लेख गरिएको छैन। संसारभर नयाँ विमानमा नयाँ इञ्जिन जडान गर्ने परम्परा रहेपनि बढी भ्रष्टाचार हुने मुलुकका निर्णयकर्ताहरुले नयाँ एअरफ्रेममा पुरानो इञ्जिन समेत हाल्ने खतरा रहन्छ। कतिपय अवस्थामा नयाँ विमानहरुको स्ट्र्क्चर अर्डर मुताविक नभएर प्रतिष्ठित एअरलाइन्सहरुले रेजेक्ट पनि गर्दछन्। त्यस्ता विमानहरु सस्तो पाउन सकिन्छ।

विगतमा यसरी अन्य एअरलाइन्सले अस्वीकृत गरेका जहाज सस्तोमा किनिदिन प्रस्ताव लिएर नेपाल वायु सेवाका उच्च पदाधिकारी र सञ्चालकहरुसम्म पनि व्यापारीहरु आइपुगेका थिए।

निगमले राख्ने इञ्जिनको निर्माता रोल्स रोयसको अर्डर सूचीमा निगमलाई विमान आपूर्ति गर्ने हाइफ्लाई आयरल्याण्ड, हाइफ्लाई पोर्चुगल, एएआर इन्तरनेशनल र जर्मन एभिएसन क्यापितल कसैले पनि अर्डर गरेको देखिँदैन।


  कोरिया र जापान रद्द

निगमले टेण्डर गर्दा माग गरेको २४२ मे टनको जहाज हो तर आपूर्तकसँग २३० मे टनको जहाज लिने संझौता भएको छ। निगमका पूर्व प्रशासकहरु जहाजमा पुरानो इञ्जिन राखिएको आशंका गर्दछन्।

निगमको विजनेश प्लानमा यो जहाजलाई अष्ट्रेलियाको सिड्नी, कोरियाको सोल, जापानको टाकियो सहित यूरोप र अमेरिकामा पनि पुर्याउने उल्लेख गरिए पनि अहिले निगम ठूलो विश्मयमा परेको छ।

निगमका प्राविधिकहरुले २३० मे टन मात्र क्षमता भएको जहाज सिड्नीबाट उडान भर्न प्राविधिक रुपले अनुपयुक्त हुने बताएको र कोरिया र जापानले यूरोपेली मुलुकहरुले कालो सूचिमा राखेको देशको उडानलाई अनुमति दिन नसकिने जनाएपछि निगमले यी जहाजहरु अहिले साना जहाज उडाएकै रुटमा उडाउनु पर्ने बाध्यता भएको छ।

तुलनात्मक रुपमा धेरै भाडा राख्न सकिने क्षेत्रमा उडाउन नपाउने भएकोले ठूला जहाजबाट डलर झार्ने निगमको सपना अहिलेलाई केवल घाटाको व्यापारमा परिणत हुने देखिएको छ।

निगमका उच्च व्यवस्थापकहरुका अनुसार अहिले सञ्चालनमा रहेका साँघुरा आकारका एअरबस ३२०-२०० सेरिजका जहाजको सञ्चालनबाट निगमलाई दैनिक एक करोड नोक्सानी परेको छ। ठूला आकारका जहाज थपिएपछि त्यो भन्दा बढी नोक्सानी हुने बताइन्छ।

दैनिक २ करोडको नोक्सानी रहने निगमले संचय कोष र नागरिक लगानी कोषको यसपटको २४ अर्ब ऋण कहिले चुक्ता गर्ला?
(http://aashanews.com मा प्रकाश अधिकारीको रिपोर्ट।)
 

ताजा खबर