ओली लम्पसार परेका छैनन्, तनक्क तन्किएका छन्

२०७५ बैशाख २६ बुधबार १६:४८:०० मा प्रकाशित

अहिले सबैको नजर दुई पात्रमाथि छ । केपी ओली र नरेन्द्र मोदी । नेपाल र भारतका प्रधानमन्त्री रहेका यी दुई व्यक्तिले छोटो समयमा एकसय असी डिग्री छलांग मारेका छन् । अथवा भनौं, छेपारोले रंग फेरे जसरी रंग फेरेका छन् । 

केपी ओली राष्ट्रवादका अभियन्ता थिए । भारतलाई उनले दिनसम्म टक्कर दिए । भारत विरोधी राष्ट्रियताको बुई चढेर उनी प्रधानमन्त्री बनेका हुन् । ओली राष्ट्रवादी हुन्, उनी झुक्दैनन्, भारतीय थिचोमिचो विरुद्ध डटेर लाग्छन्, भारतको गुलामी गरेर पदमा पुग्ने र टिक्ने काम ओलीले गर्दैनन् भन्ने विश्वास सर्वसाधारण नेपालीमा थियो । यही विश्वासका कारण ओली नेतृत्वको पार्टी नेकपा एमालेले गत आमचुनाव जित्यो । 

त्यो विश्वास भ्रम थियो । चुनावमा आफू र आफ्ना पार्टीलाई मत दिनेहरुलाई जिल्ल पार्दै ओलीले नराम्रोसँग रंग फेरे । अरुलाई ओली लम्पसारवादी भन्थे । अहिले उनले लम्पसारवादको पराकाष्ठा देखाएका छन् । 

लम्पसारको उदाहरण को हो ? यो प्रश्न सडकमा गएर सर्वसाधारणलाई सोधौं । जो कोहीले जवाफ दिन्छ– केपी ओली हो । विगत शाहीकालमा एमालेले प्रतिगमन आधा सच्चियो भनेर हँसाएको थियो । अहिले लम्पसार परेर तथा भारतको चाहना मुताबिक चलेर हँसाइरहेको छ । भारत र मोदी विरुद्ध ओलीले उखान तुक्का र उपमाको वर्षा गरेका थिए । अहिले प्रशंसा र चाकडिको अभिशेक गरिरहेका छन् । एकसय असी डिग्रीको कोणमा फेरिएका छन् केपी ओली । 

नरेन्द्र मोदी कस्ता नेता हुन् ? हामीलाई यसमा धेरै चासो छैन । हामीले मोदीलाई होइन भारतलाई हेर्ने हो । तर, ओली हाम्रा नेता हुन्, हाम्रा प्रधानमन्त्री हुन् । उनले के गर्छन्, कसो गर्छन् भन्ने हाम्रो सरोकारको विषय हो । 

ओली कसरी फेरिए त ? यो बारेमा चर्चा गरौं । 

केपी ओली विगतमा भारतको निकट मानिन्थे । मदन भण्डारीको हत्या अघि र पछि भारतसँग असाध्यै निकट नेता भन्ने छवि थियो ओलीको । त्यसपछि महाकाली सन्धी भयो । महाकाली सन्धीमा नेपाल कसरी ठगिएको छ भन्ने अहिलेसम्म पञ्चेश्वर आयोजनाको डिपीआर समेत नबनेबाट प्रष्ट हुन्छ । महाकाली सन्धी गरेर भारतले आधा महाकाली खायो । त्यो महाकाली सन्धी गराउन र त्यसको रक्षा गर्न केपी ओलीले खेलेको भूमिका सबैलाई थाहा भएकै कुरा हो । 

लोकतान्त्रिक आन्दोलनका बेला केपी ओली बालकोट निवासमा घाम तापेर बसेका थिए । वयलगाडा चढेर अमेरिका पुगिँदैन, नेपालमा गणतन्त्र आउँदैन भन्ने ओलीको बोली निक्कै चर्चित बनेको थियो । १२ बुँदे सहमति पछि लोकतान्त्रिक आन्दोलन सफल भयो । ओली मैदानमा आए । ओलीलाई भारतको पूर्ण साथ र सहयोग रहेको मानिन्थ्यो । भारतबाट आशिर्वाद प्राप्त नेताका रुपमा ओलीलाई हेरिन्थ्यो । 

भारतले सुशील कोइरालालाई प्रधानमन्त्री बन्न दिएन । जबकि सुशीललाई केपी ओलीहरु राष्ट्रघाती भन्थे । त्यसबेला ओली सांसद थिएनन् । सांसद भएको भए त्यसबेलै प्रधानमन्त्री बन्थे होलान् । 

नयाँ संविधान बनेपछि नेपालमा खतरनाक नाटक मन्चन भयो । भारतले नाकावन्दी लगायो । केपी ओली नाकावन्दी विरुद्ध कडा रुपमा प्रस्तुत  भयो । तैपनि ओली प्रधानमन्त्री बने । केपी ओलीलाई महान राष्ट्रवादी नेताका रुपमा प्रचार गर्न थालियो । 

अहिले आएर के देखियो भने ओलीलाई बाहिरी तत्वकै डिजाइनमा महान राष्ट्रवादी नेता बनाइएको थियो । अडान लिन लगाएर चुनाव जिताइयो र प्रधानमन्त्री बनाइयो । प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो असली रुप देखाउन थालेका छन् । 

भारत विरुद्ध कडा अडान लिने, राष्ट्रिय हितभन्दा घटीको कुरै नगर्ने, भारतसँग झुक्नु हुँदैन, समानताको आधारमा सम्बन्ध राख्नुपर्छ भन्ने ओली पर्लक्कै पल्टिए । 

भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्छ भनेर ओलीले चुनावभरी भाषण गरे । चुनावपछि प्रधानमन्त्री बनेर चाहिँ ओहोदाको प्रमाणपत्र बुझाएको शैलीमा भारत भ्रमण गरे । भारतसँग सम्बन्धमा कुनै समस्या नभएको घोषणा गरे । भारत पुगेर नाकावन्दीको चुईंक्क उच्चारण गरेनन् । न त मोदीलाई नाकावन्दी वापत माफी माग्न लगाए । भारत गएर ओलीले कोशी नदी भारतलाई बुझाइदिएका छन् । भन्नलाई त कोशी नदीमा जहाज चलाउने भनिएको छ तर भित्री कुरा चाहिँ कोशी उच्च बाँध बनाउन भारतलाई दिने भनिएको हो । पानीजहाज चलाउने नाममा ओलीको टोलीले कोशी उच्च बाँध बनाउन भारतलाई दिने कामको ढाकछोप गरिरहेको छ ।

नेपाल फर्कनासाथ ओली चीन जान्छन् अथवा चिनियाँ राष्ट्रपतिलाई नेपाल बोलाउँछन् भन्ने सबैलाई लागेको थियो । तर, उनले त मोदीलाई पो  बोलाए । मोदी नेपाल आउनु नराम्रो होइन तर मोदीलाई जुन शैलीमा नेपाल भ्रमण गराउने काम ओलीले गराएका छन्, त्यसलाई कसै गरे पनि राम्रो मान्न सकिन्न । 

मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमण गराउन विगतका प्रधानमन्त्री सुशील कोइरालाले मानेका थिएनन् । तर, ओलीले खुरुक्क भ्रमणको व्यवस्था मिलाइदिए । त्यतिमात्र होइन, काठमाडौं र जनकपुर दुवै ठाउँमा अभिनन्दनको व्यवस्था मिलाइदिए । नाकावन्दी गरेकोमा माफी नमागी अभिनन्दन गराइन सर्वसाधारण नेपाली तयार छैनन् । तर, ओलीले मोदीको भक्तिमा कुनै कसर बाँकी राखेका छैनन् । जनताको आवाज सुनेको नसुनेई गरिदिए।

विगतका प्रधानमन्त्रीहरु र अहिलेका प्रधानमन्त्री केपी ओलीले भारतसँग गरेको व्यवहार तुलना गरांै । लम्पसारको पराकाष्ठा ओली हुन् भन्ने छर्लङग देखिन्छ । मोदी विगतमा दुई पटक नेपाल आइसकेका छन् । त्यसबेला यसै गरी स्वागत गरिएको थियो ? अहँ, थिएन । विगतको भन्दा निक्कै फरक ढंगले मोदीको खातिरदारी गरिँदैछ । 

नाकावन्दीको बेलाका ओली, त्यसपछि प्रतिपक्षी नेता बनेका ओली, चुनावको बेलाका ओली र अहिले प्रधानमन्त्री बनेपछिका ओलीमा आकाश पातालको फरक छ । विगतमा महाकाली सन्धी गर्दाको बेलाको जस्तै अवतारमा ओली प्रकट भएका छन् । भारतको महान मित्रका रुपमा ओली प्रकट भएका छन् । 

नेपाली जनता या कोही नेता भारतको शत्रु बन्नुपर्छ भन्ने होइन, मित्र नै बन्नुपर्छ । तर, मित्र बन्नु र लम्पसार हुनुमा फरक छ । भारतसँगको सम्बन्धको प्रसंगमा लम्पसार शब्दावली ओली नै ल्याएका हुन् । अहिले उनी नै महान लम्पसारवादीका रुपमा प्रकट भएका छन् । 

हिजोका कथित राष्ट्रवादी केपी ओली र आजका खुंखार लम्पसारवादी केपी ओलीमा कति फरक छ ? के फरक छ ? नेपाली जनताले छ्याङ्गै देखिरहेका छन् । संघीयता सुरु हुनासाथ दुई नम्बर प्रदेशको राजधानीमा भारतका प्रधानमन्त्री मोदीलाई लगेर किन आमसभा गराउनुपर्यो ? जनताले बुझिसकेका छन् । 

केपी ओली जहिले शंकास्पद व्यक्तिका रुपमा रहे । किनभने उनले आफू मात्र र आफ्नो पार्टीमात्र राष्ट्रवादी, अरु सबै राष्ट्रघाती भनेर अभियान चलाए । नेपालमा राष्ट्रवादको गलत परिभाषा स्थापित गर्न खोजे । अनि त्यही गलत राष्ट्रवादको घोडा चढेर प्रधानमन्त्री बने । अहिले जो कसैले भन्न सक्छ, नेपालको राष्ट्रियतालाई कोहीबाट खतरा छ भने ओलीबाट खतरा छ ।

यो प्रसंगमा एउटा गम्भीर आशंकाको पनि चर्चा गरौं । कतिपयको भनाई के छ भने ओलीलाई ‘राष्ट्रवादी’ बनाएर प्रधानमन्त्री पदमा पुराउने अनि यसरी लम्पसारवादी बनाउने डिजाइन थियो । डिजाइन अनुसार नै ओलीले राष्ट्रवादी भएको नाटक गरे । प्रधानमन्त्री पदमा पुगे । अनि लम्पसार  परे । यो आशंका निराधार देखिएन । 

नेपालमा वामपन्थीहरुले विगतमा जे चर्तिकला देखाए, ओलीले पनि त्यही गरे । पदमा पुग्नका लागि राष्ट्रवादको नारा दिने अनि पदमा पुगेपछि ठिक विपरित काम गर्ने वामपन्थी चरित्रको पराकाष्ठा नमूना बनेका छन् केपी ओली र वाम सरकार । 

ओलीको प्रसंगमा एमालेकै एक मित्रले ठट्टा गर्दै भनेको एउटा कुरा यहाँ राख्दै यो लेखनीलाई विट मार्न चाहन्छु । उनको भनाई थियो– ‘ओली लम्पसार परेका होइनन् र लम्पसार पर्दैनन् पनि । उनी त तनक्क तन्कन्छन् । हाकिमलाई स्यालुट ठोक्दा हवल्दार तनक्क तन्किए जसरी ओली भारत र मोदीसँग तनक्क तन्किएका छन् ।’

 

ताजा खबर