जीवनमा भोगको भन्दा योगको महत्व  बढी

२०७५ बैशाख २६ बुधबार ०९:५५:०० मा प्रकाशित

 आध्यात्मिक यात्राबाट मानिसले दुर्लभ मानव जीवनलाई सार्थक बनाउन सक्छ । त्यसैले अध्यात्ममा कुनै व्यक्ति प्रवेश गर्न चाहन्छ भने सर्वप्रथम उसको आचरण शुद्धि हुनुपर्छ । आचरण शुद्ध भएपछि उसका हरेक क्रियाकलाप शुद्ध हुँदै जान्छन् । जस्तो– आनीबानी, व्यवहार, रहनसहन, विचार सबैमा शुद्धता हुनुपर्छ । यसरी व्यक्ति शुद्ध भएपछि मान्छे अन्तर्मुखी बन्दै जान्छ । अन्तर्मुखी भएपछि बल्ल उसले अध्यात्मको ढोका खोल्न थाल्छ ।
 
 
नत्र हाम्रा इन्द्रियहरु बहिर्मुखी छन्, हाम्रो वृत्ति बहिर्मुखी छ, हाम्रो खानपान–रहनसहन सबै बहिर्मुखी छ भने हामी अध्यात्ममा प्रवेश गर्न सक्दैनौं र अध्यात्म केवल शब्दमा मात्र रहन्छ । अध्यात्ममा हाम्रा बाहिरी आडम्बरले केही कामै गर्दैन । व्यक्तिले आफूलाई रुपान्तरण गर्नैपर्छ ।
 
हाम्रा इन्द्रियहरुलाई खानपान, रहनसहन, उठबस र बोलीव्यवहारले हामीलाई बहिर्मुख गरेका छन् । त्यस्तै, हामीले पढ्ने साहित्यले गरेको होला । हामीले पढ्ने विभिन्न विषयले बनाएको होला । आखिरीमा ती भोक भनेको त क्षणिक न हो । संसारमा देखिएका विषयभोगहरु क्षणिक छन्, एकछिन तृप्त भयो भने एकछिनपछि फेरि भोक जगाउँछन्, त्यसैले यसमा तृप्तता छैन । तृप्तता अध्यात्ममा छ । अध्यात्ममा तृप्ति छ भन्ने बुझेर व्यक्तिले आफ्ना इन्द्रिय, मन, विचार र बुद्धिलाई अन्तर्मनमा फर्काउनुपर्छ ।
 
अध्यात्ममा फर्किनको लागि रहनसहनमा पनि पवित्रता चाहिन्छ । त्यस्तै, शरीरमा उत्तेजना नहुने सत्वगुणको अभिवृद्धि गर्ने खानेकुराहरु खानुपर्छ । विचारमा, कार्यमा शुद्धता ल्याउने प्रयास गर्नुपर्छ । त्यो शुद्धताले उसलाई अध्यात्ममा लान्छ र बल्ल ऊ अध्यात्मको यात्री बन्न    सक्छ । त्यसपछि उसले अध्यात्ममा साधना भनेको के रहेछ, जीवनको वास्तविक तत्व के रहेछ, हामी संसारमा किन आएका रहेछौं भनेर खोज शुरु गर्न थाल्छ ।
 
 
सबभन्दा पहिला त हामीले आफूलाई सुधार गर्नुपर्छ, आफ्नू व्यक्तिगत जीवन सुधार्नुपर्छ । यसका लागि महापुरुषहरुको जीवनी पढ्नुपर्छ । जो आदर्श व्यक्तिहरु थिए– उनीहरुले के गरेका थिए रु कसरी आफ्नू जीवनलाई संसारबाट अन्तर्मुख बनाएका थिए, त्यस्ता व्यक्तिहरुको जीवनी पढेर त्यतातिर लाग्नुपर्छ । सच्चा अध्यात्मको खोज त्यसपछि हुन्छ, मान्छेमा अहिले यही कुराको अभाव छ ।
 
ज्ञान कसैले त्यत्तिकै फ्यास्स गोजीमा हालिदिने हैन । ज्ञान त आफंैभित्र छ, त्यसलाई उजागर गर्ने मात्रै हो । मान्छे काम, क्रोध, लोभ, मोहले ढाकिएको छ र त्यसलाई उजागर गरेर अघि बढ्नुपर्छ ।
 
 
काम, क्रोध, लोभ, मोहले मान्छेलाई बराबर बाहिर लान्छ । हाम्रो शरीर र ढुंगामाटोमा बराबर छ । जस्तो– ढुंगामाटोमा हाम्रो कामवासना बस्दैन, उसैगरी कुनै स्त्रीले पुरुष र कुनै पुरुषले स्त्रीको शरीरमा कामवासनाको भावले नहरेपछि मोह बस्दैन । कामवासनालाई हटाउन ‘मातृवत् परदारेषु’ अर्थात् परस्त्रीहरु आमासमान हुन्छन् भन्ने भाव भयो भने पनि मान्छेमा कामवासना स्वतः हट्छ ।
 
 
व्यक्तिले साहित्य त्यस्तै उत्तेजना बढाउने खालका पढ्छ, खानपान त्यस्तै गर्छ भने त उसमा कामवासना बढ्दै जान्छ, यो त स्वाभाविक हो । त्यसैले समाजमा हत्या, हिंसा, व्यभिचार, बलात्कार बढाएको छ । कामलाई त्यागे व्यभिचार गर्दैन । चारै वेद पढेको छ, ६ नै अङ्ग पढेको छ भने पनि आचरण शुद्ध छैन भने वेदले पनि व्यक्तिलाई पवित्र गराउन सक्दैन । त्यसैले अध्यात्ममा आचरण शुद्धि एकदमै जरुरी छ ।
 
हाम्रै समाजमा अहिले देखिराखेका छौं - ६०र६५ वर्षको उमेरमा पनि मान्छे विवाह गर्न थाल्छ । यो उमेरसम्ममा पनि उसले योगको महत्व बुझेन । भोगको लिप्सा पूर्ति नभएरै ऊ विवाह गर्न लालायित भएको हो । आखिर उसको घुँडा दुख्न थाल्यो, कपाल फुल्यो, आँखा देख्न छोड्यो तर पनि उसलाई श्रीमती नै चाहिएको छ । त्यसैले झन् दुःख बढी हुन गयो । त्यस्तै, क्रोध बढाउने तमोगुणी चीजहरु– मांस मदिरा, लसुन, प्याज आदि खान छोड्नुपर्छ । सात्विक भावनालाई बढाउने खानपान गर्नुपर्छ, क्रोध आइहाल्यो भने विवेक प्रयोग गरेर पनि त्यसलाई हटाउनुपर्छ ।
 
 
त्यस्तै, लोभले पनि मान्छेलाई धेरै पतन बनाएको छ । मान्छेमा सम्पत्तिको लोभ छ । आफ्नो लागि, परिवारको लागि, सन्तानको लागि, त्यसपछि आफन्तको लागि धन कमाउँछ र पनि सन्तुष्ट हुँदैन । आखिरमा जाँदाखेरि व्यक्ति नाङ्गै जान्छ । तर, लोभले उसलाई एक्लो बनाइदिएको छ । कतिपय ठाउँमा साथीभाइ पनि त्यागेको छ, साथीको काम गर्दा पनि घूस खाएको छ । यसपछि लोभले सम्बन्ध नै बिगार्छ । लोभले व्यक्तिको पतन हुनुका साथै हाम्रो सामाजिक सम्बन्धलाई पनि बिगारेको छ । लोभी व्यक्ति अध्यात्ममा प्रवेशै गर्न सक्दैन ।
 
 
जीवनमा जति भोगको महत्व छ, त्यो भन्दा बढी योगको महत्व छ, मनुष्य जीवनलाई चाहिने योग हो । तर, हामी क्षणिक इन्द्रिय सुखका लागि भोगतिर बढी उन्मुख भएर पतन भइरहेका छौं । त्यस्तै, अध्यात्ममा लाग्नलाई गुरुबिना ज्ञान सम्भव छैन । बिना गुरु लक्ष्यमा पुगिन्न । साधनामा गुरु त चाहिन्छ नै, गुरुको निर्देशन अक्षरशः पालना गरेर अघि बढ्नुपर्छ । यसरी काम, क्रोध, लोभ, मोह छोडेर ‘गुरुमुख’ भएर व्यक्तिले दुर्लभ मुनष्य जीवनलाई धन्य बनाउन सक्छ ।
 
 
जब व्यक्ति आध्यात्मिक हुन्छ– तब उसमा अहंकार हुँदैन । व्यक्ति आध्यात्मिक भइसकेपछि उसमा पूरै अहंकार नाश हुन्छ । अध्यात्मको शब्दकोशमा अहंकारै छैन । आध्यात्मिक व्यक्ति बालक जस्तो हुन्छ । आध्यात्मिक व्यक्तिलाई गाली दिए पनि, ताली दिए पनि समभवमा रहन्छ । यस्ता आध्यात्मिक व्यक्तिहरुको आचरणबाट, उनीहरुले बोलेका शब्द-शब्दबाट हामीले धेरै कुंरा सिक्न सक्छौं । हामीभित्र गढेर रहेका काम, क्रोध, लोभ, मोह आदिलाई कसरी हटाउने भन्ने कला सिक्न सक्छौं ।
 
 
समाज भनेको फूलबारी हो । त्यो फूलबारीको राम्रो या आकर्षक फूलचाहिँ सन्त वा आध्यात्मिक व्यक्ति हो । सन्तमा कायिक, वाचिक र मानसिक तपस्या हुन्छ । तीनै तपस्याले गर्दा उसले समाजका जनसाधारणभन्दा आफूलाई पृथक् बनाएको हुन्छ । ‘प्रसादस्तु प्रसन्नता’ सन्तमा भएको प्रसाद अरुले लिन सके भने प्रसन्न हुन्छन् । सन्तमा शीतलता हुन्छ ।
 
 
कहिलेकाहीँ समाजमा बसेर सन्त पनि रिसाउन सक्छ । तर, समाजबाट अलि पर जाने बित्तिकै सन्त आफ्नो स्वरुपमा आइहाल्छ । पानीको मुख्य गुण चिसो हुनु हो । समुद्रभित्रबाटै कहिलेकाहीँ ज्वालामुखी निस्किन्छ । तर, पानीको मूल गुण भनेको शीतलता नै हो । त्यसैले जीवनलाई धन्य बनाउन सन्तसंगत गर्नैपर्छ ।
 
(पशुपतिको राममन्दिरस्थित भागवत सन्यास आश्रमका गुरु एवं वाल्मीकि विद्यापीठका उपप्राध्यापक रुद्र मिश्रसँग सरल पत्रिकाले गरेको कुराकानीको सार)

ताजा खबर