मोदी भ्रमणको रहर र रहस्य

२०७५ बैशाख २५ मंगलबार ११:२१:०० मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अनेक कारणले अस्वाभाविक छ । मोदीको भ्रमणको उद्देश्य ‘दौत्य’ सम्बन्धका लागि नभएर ‘दैत्य’ सम्बन्धका लागि हो भनेर आशंका गर्न सकिने अनेक आधार देखिन्छ ।

आम नेपालीले भारतलाई दैत्य देख्ने मानसिकता मोदीको भ्रमणले हटाउन सक्ने देखिँदैन ।
 
नेपालमा काठमाडौं बाहिर अवतरण गर्ने पहिलो विदेशी सरकार प्रमुख मोदी हुनेछन् । जनकपुरमा अवतरण गरेर उनले ठूलो आमसभालाई सम्बोधन गर्नेछन् । संघीय नेपालको प्रादेशिक राजधानी टेक्ने पहिलो विदेशी सरकार प्रमुख पनि मोदी नै हुनेछन् । र, जनकपुर भनेको दुई नम्बर प्रदेशको राजधानी मात्र होइन । भारतले चिनेको ‘मधेस’ को राजधानी पनि हो ।

एउटा देशको सरकार प्रमुख अर्काे देशमा गएर आमसभामा भाषण गरेको घटना विरलै होला । यस मानेमा पनि मोदीले जनकपुरमा कीर्तिमान बनाउनेछन् । ख्याल रहोस्, नेपालले दार्जिलिङ, काश्मिर या पञ्जाबमा गएर कहिल्यै आमसभाको रुची राखेन । न त ती मामिलामा कहिले बोल्यो  नै ।

अनेक कारणले अर्थपूर्ण हुनेछ मोदीको जनकपुर अवतरण । अर्थमय भन्दा पनि रहस्यमय हुनेछ उनको नेपाल भ्रमण । 

मधेस र मोदी

‘मधेसी भाइयों और बहनों..’ अथवा यस्तैयस्तै खालको कुनै वाक्यांश जनकपुरको आमसभामा भाषण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुखबाट निस्कन्छ कि निस्कँदैन होला ? नेपालमा बहुराष्ट्रियताको मान्यता स्थापित गर्न मोदीको भारत लागिपरेको छ । उसको रणनीति बेलाबखत फेरिएको देखिन्छ तर नीति फेरिएको आभाष मिल्दैन । त्यसैले.... जनकपुरको आमसभामा मोदीले नेपालीलाई सम्बोधन गर्दा ‘मधेसी’लाई बेग्लै सम्बोधन गर्ने आशंका निराधार छैन । यदि त्यसो गरे भने त्यसको दूरगामी परिणाम सोंचनीय हुनेछ ।

जनकपुरमा हजारौं नेपालीलाई भेला गरेर आमसभा गर्ने रहर मोदीले पहिलेदेखि नै गरेका हुन् । उनको यो रहर वास्तवमै रहर हो कि रहस्य ? विगतका घटनाक्रमले भन्छ– रहरभित्र रहस्य छ । एउटा देशको सरकार प्रमुखले अर्काे देशको कुनै खास भूगोलमा गएर आमसभा गर्न अनेक तिकडम गर्नु साँच्चै नै अनौठो विषय हो ।

सार्क सम्मेलनका बेला नेपाल आउँदा मोदीले जनकपुरमा आमसभा गर्न खोजेका थिए तर त्यसबेला सरकारले दिएन । पछि संविधान नबनाउन भारतले प्रयास गर्यो तर सकेन । नाकावन्दी सुरु भएपछि भारतीय गृहमन्त्रीले नेपालमा एक करोड भारतीय छन् भन्ने अभिव्यक्ति दिएका थिए । 

अर्काे कुरा, भारतको सर्वप्रमुख उद्देश्य उत्तर भारतीय जनसंख्या नेपालमा बढाउँदै लैजाने नै हो । नेपालमा बढाउँदै लगिएको भारतीय आप्रवासनलाई मधेसी राष्ट्रियताका रुपमा विकास गर्दै लैजाने भारतीय नीति हो । यो नीतिलाई परिपुष्ट पार्न मोदीले जनकपुर भ्रमण गर्न चाहेको नेपालको आशंका हो । यही शंकाले गर्दा नेपालले विगतमा मोदीको जनकपुर भ्रमण हुन दिएन । तर, ओली सरकार लाचार भयो, मोदीलाई रोक्न सकेन ।

त्यतिमात्र होइन, नाकावन्दी गरेकोमा क्षमा याचना नगरी मोदीले अभिनन्दन समेत खाने भए । त्यो पनि ‘नेपाली जनता’को नाममा । अभिनन्दनपत्रमा के लेखिएको हुनेछ ? त्यसमा प्रयोग हुने भाषा तथा पदावलीमा विचार पुर्याएन भने ओली सरकार एम्बुसमा पर्न सक्छ ।

हुनत एउटा देशको सरकार प्रमुख अर्काे देशको राजधानीमा मात्र पुग्नुपर्छ भन्ने छैन । तर, तराईको राजनीतिमा भारतको रुची विगतमा जेजस्तो देखियो त्यो पृष्ठभूमिलाई बिचार गर्दा मोदीको जनकपुर भ्रमणको उद्देश्य जानकी मन्दिर दर्शन गर्ने मात्र होइन भन्ने प्रष्ट छ । मुख्य कुरा, जनकपुरमा आमसभा किन ?

नेपालको जल तथा अन्य अनेक प्राकृतिक सम्पदा नियन्त्रणमा लिने, नेपालको परराष्ट्र तथा सुरक्षा आफ्नो हातमा लिने भारतको उद्देश्य लुकेको   छैन । यो उद्देश्य प्राप्तिका लागि नेपालमा आप्रवासन बढाउनु नै श्रेष्ठ उपाय हो भन्ने भारतले बुझिसकेको छ । उसको व्यवहार, आशय र नियत हेरेर पनि नेपालमा आप्रवासन बढाउनु भारतको सर्वप्रमुख लक्ष्य हो भन्ने  ठम्याउन सकिन्छ ।

त्यसैले मधेस अर्थात् दुई नम्बर प्रदेश भारतका लागि महत्वको छ । यहाँ आमसभा गरेर भारतीय प्रधानमन्त्रीले ताली खानुको दूरगामी रणनीतिक अर्थ हुन्छ ।

तराईमा भारतको रुची छर्लङ्ग भइसकेको विषय हो । तराईलाई भावनात्मक रुपमा नेपालबाट अलग गर्न भारतले लामो समय भित्री प्रयास गर्यो । पछिल्लो एक दशक त खुला रुपमा नै प्रयास गर्यो । नाकावन्दीको बेलामा त नाङ्गो प्रयास नै गर्यो । नेपालका मधेसीको पक्षमा उभिए जसरी आप्रवासी भारतीयहरुलाई नेपालमा स्थापित गर्न भारतले निरन्तर गरिरहेको प्रयासको नाङ्गो रुप नाकावन्दी थियो । नाकावन्दी गरेर भारतले संविधान संशोधनका लागि कडा दवाब दियो । 

तराईमा भारतीय उत्प्रेरणामा नै विभिन्न दल जन्मिए, सशश्त्र समूह जन्मिए । तराईलाई बेग्लै व्यवहार गर्ने, बाँकी नेपाललाई बेग्लै व्यवहार गर्ने भारतीय नीति बारम्बार अभिव्यक्त भएको छ । जस्तो कि : भारतीय प्रधानमन्त्री मोदीले तराईका विभिन्न राजनीतिक दलका नेताहरुलाई सामूहिक भेटेका थिए  । 

नरुचाइएका पाहुना

मोदीको भ्रमण हुँदैछ भन्ने नेपाल सरकारले औपचारिक रुपमा थाहा पाउनु अघि नै भारतीय मिडियाले लेखिसकेका थिए । दुई देशले भ्रमणको औपचारिक घोषणा गर्नु अघि नै दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले मोदी भ्रमणको घोषणा गरिसकेका थिए । नेपाल सरकारले औपचारिक घोषणा गर्नु अघि नै गृहमन्त्रीले मोदी भ्रमणको खुलासा गरिसकेका थिए । 

मोदी नेपालको निम्तामा आएका त हुन् तर निम्ता जबर्जस्ती लिइएको थियो । भारत भ्रमणको क्रममा मोदीलाई प्रधानमन्त्री केपी ओलीले निम्ता दिएका थिए । आउनुस् है भनेर निम्ता दिनु एउटा कुरा हो, फलाना मितिमा आउने भनेर तय हुनु अर्काे कुरा हो । एउटा देशका सरकार प्रमुख अर्काे देश जाँदा त्यहाँका सरकार प्रमुखलाई निम्ता दिनु सामान्य कूटनीतिक शिष्टाचार हो । यही कूटनीतिक शिष्टाचारको त्यान्द्रो समातेर मोदी जबर्जस्ती आउन लागेका हुन् भन्ने जगजाहेर भइसकेको छ ।

पाहुनालाई कतिबेला बोलाउने भन्ने निम्ता गर्नेले निर्धारण गर्नुपर्ने हो । तर, त्यसो भएन । ‘मान नमान तु मेरा मेहेमान’ भन्ने हिन्दी उखान चरितार्थ गर्दै मोदी आउन लागेका हुन् । 

किन जबर्जस्ती आउन लागे मोदी ? यसका अनेक कारण हुनसक्छन् । दक्षिण एसियामा चीनको बढ्दो प्रभाव रोक्ने भारतीय प्रयास छ, यसकारण आउँदैछन् । भारतमा आमचुनाव नजिकिँदैछ, नेपालसँग सम्बन्ध सुधारले भोटको राजनीतिमा लाभ मिल्नसक्छ, यसकारण पनि आउँदैछन् । तर, विगतदेखिको सिलसिला नियाल्ने हो भने मुख्यत चीनको प्रभाव रोक्न नै मोदी नेपाल आउन लागेका हुन् ।

संयोग मात्र होइन

चीनको बोआओमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको थियो । ओली त्यता जान सक्थे । त्यही मिति पारेर भारतले ओलीलाई निम्ता दियो । समय जुधाइदिनुको नियत स्पष्ट थियो, ओली चीन नजाउन् । त्यस अघि पनि ओलीको पहिलो विदेश भ्रमण चीन नहोस् भनेर भारतले निरन्तर दवाब दिएको थियो ।

ओली भारतबाट फर्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन गए । चीन भ्रमणको उद्देश्य नेपाल र चीनबीच उच्च स्तरीय भ्रमण आदानप्रदान गर्नु नै थियो । चिनियाँ राष्ट्रपति नेपाल नआउन् र ओली पनि चीन नजाउन् भन्ने भारतीय उद्देश्य हो । त्यसैले नेपालले चीनतिर भ्रमण आदानप्रदान गर्नु अघि नै मोदी जबर्जस्ती नेपाल आउँदैछन् ।

बोआओ सम्मेलनका बेला ओलीको भारत भ्रमण गराइनु संयोग मात्र थिएन । अनि, ओलीले भारत भ्रमण सकेर चीन भ्रमणको तारतम्य मिलाउने बेला जबर्जस्ती मोदी आउनु पनि संयोग होइन ।

यहाँनेर स्मरण गरौं– पहिलो पटक ओली प्रधानमन्त्री बनेर पदच्यूत हुँदै थिए । त्यसबेला उनले संसदमा भाषण गर्दै आफूलाई अपदस्थ गराइनुका पछाडि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्ने नियतले काम गरेको छ भनेका थिए । उनको त्यसबेलाको भनाईले के बुझिन्छ भने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न या चीनसँगको सम्बन्ध रोक्न भारतले जुनसुकै हदलसम्म प्रयास गर्छ ।

नेपालमा चीनलाई रोक्ने भारतीय नीति फेरिएको छैन । त्यसैले भ्रमणमा देखिएको संयोगभित्र दुर्नियत छ भन्न सकिने आधार मिलेको छ ।

निष्कर्ष

निष्कर्षमा के भन्न सकिन्छ भने मोदीको भ्रमण अहिले गराउन ओली सरकार मानसिक रुपमा तयार थिएन । भारत भ्रमण सकेपछि ओलीले चीनतिर रुची देखाएका थिए, परराष्ट्रमन्त्री चीन पनि गए । तर, भारतीय पेलाहा प्रवृत्ति उजागर गर्दै मोदीको भ्रमण तय भयो । 

र, जसरी पनि जनकपुर जाने, जसरी पनि मुक्तिनाथ पुग्ने मोदीको ‘रहर’ पूरा गर्न ओली सरकार वाध्य भएको छ । विगतमा मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण हुन नेपालले दिएन । अहिले त्यही भ्रमण गर्दैछन् । त्यसैले यो भ्रमण बलमिच्याईंका आधारमा हुन लागेको छनक मिल्छ । भारतबाट सम्बन्ध सुधारका लागि प्रयास भइरहेको देखिन्छ तर सम्बन्ध दौत्य नभएर दैत्य नै हुनुपर्छ भन्ने भारतीय मानसिकता फेरिएको छैन । यही कारण सम्बन्ध सुधार एकतर्फी रुपमा हुनसक्दैन । नाकावन्दी गल्ती थियो भन्ने अभिव्यक्ति भारतबाट घुमाउरो पाराले समेत आएको छैन । 

यो भ्रमणको उपलब्धी भारतले कसरी खोज्छ त्यो एउटा विषय हो । नेपालले चाहिँ मोदी भ्रमणको अर्थ चीनतिर हेरेर खोज्नेछ । भारत र चीनसँग समान सम्बन्ध विकास गर्ने नेपाली चाहना अनुसार ओली आगामी दिनमा चल्न सक्छन् ? मुख्य प्रश्न यही हो ।

निश्चय पनि छिमेकी देशका सरकार प्रमुख आउनु, छिमेकी देशले नेपाललाई महत्व दिनु स्वागतयोग्य कुरा हो । एउटा छिमेकीबाट चाहिँ बलजफ्ती सरकार प्रमुख भ्रमणमा आउनु अनि अर्काे छिमेकीसँग चाहिँ सम्बन्ध बढाउनै नपाइने अवस्था ‘ओपन सेक्रेट’ भइसकेको छ । यो अवस्था नेपालीले अनुभूत गरिरहेका छन् । 

मोदीको यो भ्रमणबाट के देखिन थालेको छ भने ओली सरकार क्रमशः भारतको चेपुवामा पर्दै गएको छ । ओली सरकारलाई भारतले भित्री रुपमा ब्ल्याकमेलिङ गरिरहेको छ । र, जनकपुर भ्रमणले के संकेत गर्नेछ भने ओली सरकार आफू अनुकूल चलेन भने भारतले दुई नम्बर प्रदेशलाई हतियारका रुपमा उपयोग गर्न यत्न गर्नेछ ।

मोदी तथा भारतसँग सम्बन्ध सुधार गर्नु नेपालको आवश्यकता नै हो, यसलाई अन्यथा लिन मिल्दैन । तर, सम्बन्ध सुधारका नाममा भारतले जे गोटीचाल गरिरहेको छ त्यसलाई निस्तेज पार्ने काम पनि सरकारकै हो ।

अहिले देखिएका लक्ष्यणा र अभिव्यञ्जनाका आधारमा के भन्न सकिन्छ भने मोदी भ्रमणको दौरानमा तथा भ्रमणपछि भारतीय रणनीति फेरिएको देखिएला तर नीति फेरिएको देखिने आश नगरे हुन्छ ।

ताजा खबर