अर्ब राशीको पुरस्कार गुमाउँदै माथिल्लो तामाकोशी

बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सरकारले घोषणा गरेको पुरस्कार पाउने सम्भावना टर्दै गएको छ । यसको खास कारण हो समयसीमा । आयोजनाले निर्धारित समयमा काम सक्नेमा विश्वास गर्नसकिने आधारहरु कमजोर देखिएका छन् । सरकारले निर्धारित समयमा काम सकिए एक अर्व रुपैयाँ पुरस्कार दिने घोषणा गरेर चाँडो विद्युत उत्पादनको लक्ष राखेको भएपनि आयोजनाले लक्ष्य भेट्नेमा आशंका थपिएको छ।

यसअघिको प्रचण्ड सरकारले आयोजना निर्धारित समयभन्दा ३ महिनाअघि सम्पन भए आयोजना टिमलाई पुरस्कार दिने घोषणा गरेको थियो । तर आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकल कार्यमा भएको ढिलाइका कारण आयोजना कम्तीमा ६ महिना ढिलो हुने सङ्केत देखिएको हो । 
हाइड्रोमेकानिकल सम्बन्धी काम भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले पाएको छ । आयोजनाले २०७५ असार मसान्तमा विद्युत उत्पादन सुरु गर्ने गरी काम गरे पनि सो कम्पनीको हाइड्रोमेकानिकल काममा भएको ढिलाइका कारण आयोजना नै प्रभावित हुने भएको हो । तर आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रयास भैरहेको बताए।

भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले हाइड्रोमेकानिकल २०७२ बैशाख अर्थात अर्थात ३० अप्रिल २०१५ मै सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको दुई वर्ष वितिसक्दा पनि काममा सन्तोषजनक प्रगति भएको छैन । हाइड्रोमेकानिकल काम अन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर आदिमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदिको डिजाइन, जडान परीक्षण र कमिसनिङ आदि कार्य पर्दछ । तर गेटहरु र स्टपलगहरुको काम भैरहे पनि पेनस्टकको काममा खासै प्रगति देखिएको छैन । सम्झौताअनुसार २०७२ को विनासकारी भूकम्पअघि नै काम सक्नु पर्ने थियो । तर अहिलेसम्म पेनस्टक पाइपको ढुवानीसमेत भैसकेको छैन । आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले पेनस्टक पाइप आयोजनास्थल लामाबगर र सुनकोशीमा गरी आधा जति ढुवानी भएको बताए। 

पेनस्टक पाइप ढुवानीका लागि लामोसाँघु जिरी सडक खण्डको सुनकोशी पुलसँगै डाइभर्सन बनाउनुपर्ने हुन्छ । आयोजनाले पेनस्टक पाइप ढुवानीकै लागि ३ पटक डाइभर्सन बनाइसक्यो तर पाइप ढुवानी सकिएको छैन । यो वर्षको वर्षाका कारण कोशी बढेपछि करिब दुई साताअघि नै डाइभर्सन निकालिएको छ । यो वर्षाअघि थप पाइप ढुवानी हुने सम्भावना छैन । ढुवानी भैसकेका पाइपको जडान कार्य सुरु हुन सकेको छैन । 
आयोजनाको ठेकेदार कम्पनीहरु बीच एक अर्कामा समन्वय नहुँदा पनि आयोजनाको काममा सुस्तता आएको छ । सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काममा एकअर्का बीच मिलेर काम गर्नुपर्ने हुन्छ । तर एउटाले काम समयमा नगरीदिंदा पनि अर्कोले समयमा काम गर्न पाएको छैन। 

तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप राख्न तयारी छ, तर सुरुङमा निस्केको पानी सिभिल ठेकेदारले नकटाउँदा समेत हाइड्रोमेकानिकलले पाइप राख्ने काम सुरु गर्न सकेको छैन । पहिला सिभिलले ठाउँ तयार गर्ने र हाइड्रोमेकानिकलले पाइप र गेटहरु राखेपछि सिभिलले कंक्रिट गर्नु पर्ने हुन्छ । तर आयोजनाका अधिकारीहरु एक घण्टामा हुने काम समेत हप्तौँ लगाइ दिने समस्या भएको बताउँछन्।

आयोजना व्यवस्थापन पक्षले बेलाबेलामा ठेकेदार कम्पनीहरु बीच समन्वय बैठक राख्ने गरे तापनि उल्लेख्य प्रगति हुन सकेको छैन ।
भारतीय टेक्सम्याकोले सन्तोषजनक रुपमा काम नगरेपछि उसको उच्च व्यवस्थापनसँग समेत आयोजना र ऊर्जा मन्त्रालयस्तरबाट समेत धेरै चरणमा बैठक बसिसकेको छ । ‘दुई हप्ताअघि टेक्सम्याकोको उच्चस्थतरीय टोलीलाई भारतबाट बोलाएर साइडमै छलफल गरायौं’ आयोजनाका प्रवक्ता डा. गणेश न्यापानेले भने ‘हरेक कामको रिपोर्ट कम्पनीको उच्चस्तरबाटै मासिक रुपमा मागेका छौँ, उनीहरुलाई हामीले नजिकबाट मोनिटर गरिरहेका छौं ।’ कम्पनीको उच्चस्तरीय टोलीले आयोजनाको काम समयमै पूरा गराउने प्रतिबद्धता गरेको उनले बताए । 

गेटहरु र स्टपलगहरुको काम भइ रहे तापनि पेनस्टक पाइप ढुवानीको काम चलिरहेको छ । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्ने भए तापनि हालसम्म आधा पाइप पनि ढुवानी हुन सकेको छैन । मेसिन, उपकरण र पाइप ढुवानीकै लागि सुनकोसी नदीमा ३ वर्षको हिउँदमा बनाएको डाइभर्सन समेत यो वर्ष समेत वर्षा सुरु भएर नदी बढ्न लागेकाले ठूलो हेम पाइपहरु निकाल्नु पर्ने भएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारणलाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रो मेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् ।

सिभिल निर्माणको काम चिनियाँ कम्पनीले लिएको हो भने हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल र प्रशारण लाइनको कामको जिम्मा भारतीय कम्पनीले पाएको छ । पछिल्लो समयमा चिनीयाँ र भारतीयहरु बीचको समन्वय हुन सकेको छैन । सुरुको निर्धारित समय अनुसार कुनै पनि कम्पनीले काम पूरा गर्न सकेका छैनन् भने पछिल्लो संशोधित तालिका अनुसार पनि लक्ष्य भेट्न सकेको छैन । तस्बीर:शम्भु

ताजा खबर