दिऊँसै मापसे रोक्ने कसले ?

२०७५ बैशाख २१ शुक्रबार १७:३०:०० मा प्रकाशित

नेपाल प्रहरीले जहिलेदेखि मापसे चेक अभियानलाई अघि सार्यो त्यहीँबाट काठमाण्डौ शहरमा सवारी दुर्घटनामा कमि आउन थाल्यो । घरेलु हिंसा र अपराधका घटना मत्थर हुँदैगए । रात्रीकालीन मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर क्लास लिनै पर्ने बाध्यात्मक अवस्था सिर्जना गरायो । त्यतिमात्र नभएर मापसेमा परेकाहरूको लाइसेंस प्वाल पारीदिने र पटके भएपछि लाईसेन्स नै खारेजीमा पर्ने भएपछि रातमा हुनसक्ने संभावित आपराधिक क्रियाकलाप र दुर्घटनामा एकाएक कमि आयो । नेपाल प्रहरी धन्यवादको पात्र बन्यो । खासगरी महिलाहरूले नेपाल प्रहरीको मुक्त कण्ठले प्रशंसा गरे । प्रहरीको मापसे अभियान पश्चात एकातिर काठमाण्डौको रात्रीकालीन जीवनमा निरसपन आएतापनि आफ्ना श्रीमान,भाई,छोरा,छोरी समयमै घर फिर्ने क्रम बढेपछि पारिवारिक वातावरण सुखमय हुनथाल्यो । कामकाजी महिलादेखि घरेलु महिलामा समेत खुशीको सिमानामा रहेन ।

 

मापसे अभियान राजधानीमा हिंसाका वारदात र दुर्घटना कम गराउने अचुक अस्त्र बनेकोमा नेपाल प्रहरी दंग पर्यो । त्यसो त मापसेले रेस्टोरेंट ब्यवसायमा ठूलो असर पुर्यायो भन्दै आवाज नउठेका पनि होईनन् । कतिपय होटल र रेस्टोरेंटले आफ्ना मापसे ग्राहकलाई घरसम्म पुर्याउने ढुवानीको व्यवस्था पनि गरे भन्ने पनि सुनियो । जे होस मापसे अभियान पश्चात काठमाण्डौमा केही सकारात्मक परिवर्तन त आयो तर यो अभियान देशका सबै मुख्य शहरहरूमा लागु हुनुपर्छ यस तर्फ गृहमन्त्रालय र संबद्ध निकायले बेलैमा बिचार पुर्याओस् । राजधानी काठमाण्डौको मापसे अभियान फेरी सुस्ताए झैं देखिन्छ । मापसे अभियानलाई चुस्त दुरुस्त त बनाउनै पर्छ । किनभने समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्नु राज्यको पहिलो दायित्व हो । त्यो दायित्वलाई निरन्तरता दिईरहनु राज्यका निकायहरूको प्रमुख कर्तव्य हुन   आऊँछ ।

 

 

काठमाण्डौ शहरको सार्वजनिक सवारी साधनको एउटा यात्रुको हैसियतले मैले यहाँ आफुले भोगेको अर्कों गंभीर कुरा के छ भने जब प्रहरीले राती आठबजेदेखी मापसे चेक अभियानलाई कडाईका साथ अगाडी बढायो मापसेका अम्मलीहरूले दिऊँसै मादक पदार्थ सेवन गरी सवारी चलाउन थाले । कतिपय प्राईवेट कार र मोटर साईकिल चालकले समेत त्यसो गरेको पाईन्छ । प्राईवेट कार र मोटर साईकलको निगरानी राख्न नसके पनि कमसेकम अब नेपाल प्रहरीले काठमाण्डौ ऊपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनलाई दिऊँसो पनि मापसे चेक अभियानलाई तिब्र पार्नै   पर्छ । धेरैपटक यो पंक्तिकार ह्वास्स रक्सी जाँडको गन्ध आउने माईक्रोबसका चालकले चलाएको गाडीमा शहर जान आउन बाध्य भएको छ । त्यसमा पनि एउटा हातले मोवाईल समाउने र अर्कों हातले स्टेरिंग समाएको देख्न पाईन्छ । दुर्घटनाका प्रमुख कारण मध्य यी मुख्य हुन ।

 

 

सार्वजनिक सवारी साधनमा महिला वालवालिका र बुढाबुढीलाई सास्ति हुनथालेपछि चौतर्फी आवाज उठ्यो । फलस्वरूप नेपाल प्रहरीकै सक्रियतामा सार्वजनिक सवारी साधनमा महिला,असक्त ,अपांगता भएका र बुढाबुढीलाई सिटको आरक्षण गरियो । अहिले मानिसहरूमा एकप्रकारको चेतना पलाउन थालेको छ। जेष्ठ नागरिकलाई सिट छाड्ने , महिला सिटमा नवस्ने ,बच्चासहितको महिला छन् भने आफु उठेर सम्मानपूर्वक सिटमा राख्ने बानीको बिकास हुँदैछ । समाज रूपान्तरणको सकारात्मक संकेत हो यो ।

 

 

जीब्रोको मिठास मीठो बोलीमा हुन्छ भन्ने अभियान यातायात व्यवसायीले सार्वजनिक सवारी साधनका चालक र सहचालक समक्ष पुर्याउन आवश्यक छ। अझ भनौं अधिकांश सार्वजनिक सवारी साधनका चालक र सहचालकले यात्रुहरूलाई रूखो ब्यवहार गर्ने गर्दछन् । चालक अनुमति पत्र दिनु पूर्व नै केही सामाजिक ब्यवहारका कुरा पनि सिकाउन जरूरी हुन्छ । जेब्राक्रसका पैदल यात्रुलाई प्राथमिकताका साथ बाटो काट्न दिनु पर्दछ भन्नेपनि सिकाउनु पर्छ । त्यसैगरी सर्वसाधारणले पनि जथाभावी बाटो काट्ने प्रवृतिलाई त्याग्नु पर्दछ ।

 

स्मरण रहोस, एकपटक मित्र राष्ट्र चीनले त्यहाँ हुन गैरहेको विश्व सम्मेलनलाई ध्यानमा राख्दै बेईजीगं शहरका ट्याक्सी चालक र शहरवासीलाई पाहुनाहरूको सामान्य सत्कार कसरी गर्ने भन्ने बारेमा सार्वजनिक रूपमा प्रचार प्रसार गरेर जनचेतना फैलाएको थियो ।

ताजा खबर