रानीटार हवाइ मैदानमा ५० सिट क्षमताको जहाज बस्न सक्ने

२०७५ बैशाख १९ बुधबार १५:२३:०० मा प्रकाशित

पाँचथर, १९ बैशाख । फिदिम नगरपालिका–८, रानीटारस्थित स्याउडाडाँमा निर्माण गरिने भनिएको हवाइ मैदानको पूरक सम्भाब्यता अध्ययन गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरण मार्फत आएको रियलपाथ इन्जिनियरिङ कन्लटेन्सिको टोलिले हवाइ मैदानको पूरक सम्भाब्यता अध्ययन गरेको हो । टोलिले हवाइ मैदान बनाउन प्रस्ताव गरिएको रानीटारस्थित स्याउडाडाँमा ड्रोन क्यामेराको प्रयोग गरी अध्ययन गरेको छ । टोलिका इन्जिनियर ओजश्वीबाबु मल्लका अनुसार १२ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवेका लागि सम्भाब्यता अध्ययन गरिएको हो ।

उक्त रनवेमा ५० सिटे जहाजलाई अवतरण गर्न र उडान भर्न सकिने टोलिका अर्का इन्जिनियर स्मरण भट्टले बताए । उनका अनुसार अध्ययनको प्रतिवेदन पाँच महिना भित्रमा नागरिक उड्डयन प्राधिकरणमा बुझाइनेछ । त्यसपछि मात्र हवाइ मैदानको समग्र अध्ययन गरिनेछ । अध्ययनको क्रममा सबै हिसाबले उक्त स्थानमा हवाइमैदान बनाउन उपयुक्त देखिएको टोलिले जनाएको छ ।

उक्त स्थानमा प्राधिकरणले २०६७ सालमा सम्भाब्यता अध्ययन गरेको थियो । त्यतिबेला आठ सय मिटर चौडाइको रनवेको लागि अध्ययन गरिएको थियो । जसमा १८ सिटे जहाजलाई मात्र अवतरण गर्न र उडान भर्न सकिन्थ्यो । तर अहिले भने ५० सिटे जहाजलाई अवतरण गर्न र उडान भर्न सकिने गरीको मैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको हो ।

स्याउडाडाँमा हवाइ मैदान निर्माणको प्रक्रिया अघि बढेपछि स्थानीय उत्साहित भएका थिए । हवाइ मैदान निर्माणका लागि एक सय रोपनी जग्गा निशूल्क र बाँकी प्रतिरोपनी दश हजार रुपैंयाँको दरले दिन स्थानीय मञ्जुर भएका हुन् । जुन अत्यन्तै सस्तो मूल्य भएको हवाइ मैदान निर्माण समितिका उपाध्यक्ष टंक प्रसाद गुरुङले बताए ।

तर सम्भाब्यता अध्ययन भएको लामो समय बित्दा पनि हवाइ मैदान निर्माणको काम अघि नबढ्दा स्थानीय निराश भएका थिए । अहिले प्राधिकरणलले पूरक सर्वे गरेपछि पुनः स्थानीयमा खुसी फर्किएको निर्माण समितिका सचिब सूर्य अधिकारीले बताए । हवाइ मैदान निर्माणमा आ–आफ्नो ठाउँबाट भूमिका निर्बाह गर्न तीनै तहका जनप्रतिनिधिलाई अधिकारीले आग्रह गरे ।

प्राधिकरणबाट पहिलोपल्ट सम्भाब्यता अध्ययन भइसकेपछि स्थानीय सरोकारवालाले हवाइमैदान निर्माण समिति बनाएर आवस्यक समन्वय गर्दै आएका छन् । पहिलो सर्वे पछि लामो समय कुनै काम नभएपछि समितिले प्राधिकरणमै पुगेर ध्यानाकार्षण समेत गराएको थियो । त्यस्तै हवाइमैदान निर्माणमा पहल गर्न स्थानीय तह र जिल्लाबाट निर्बाचित प्रदेशसभा र प्रतिनिधिसभाका सदस्यहरुलाई समेत समितिले आग्रह गर्दै आएको छ।

अहिले समितिले हवाइमैदान निर्माणको लागि प्रश्ताव गरिएको क्षेत्रमा अन्य संरचना निर्माण गर्न र जग्गा किनबेच गर्न रोक लगाएको छ । रनवे सहित आवस्यक सम्पूर्ण संरचना तयार गर्न दुई देखि तीन अर्ब सम्म खर्च लाग्न सक्ने अध्ययन टोलिका इन्जिनियर ओजश्वीबाबु मल्लले बताए । 
 

ताजा खबर