धौलागिरी चढ्दैगर्दा इटालियन पर्वतारोहीको निधन

२०७५ बैशाख १८ मंगलबार ११:३२:०० मा प्रकाशित

काठमाडौं, १८ वैशाख । धौलागिरी हिमाल चढ्ने क्रममा ३७ वर्षिय इटालियन आरोही सिमोन ला टेर्राको निधन भएको छ । वसन्त ऋतुको व्यस्त सिजनमा धौलागिरी आरोहण गर्न उनको समूहमा १५ जना आरोही थिए ।

 

आइतबार बिहान टेन्टमै बसिरहेको अवस्थामा ठूलो हावा चल्दा सिमोनको टेन्ट उडाएपछि उनि वेपत्ता भएका थिए । ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमालमा उनि वेपत्ता भएपछि उनलाई खोज्न हेलिकप्टरको मद्दतले खोजी गरिएको थियो । उनको आफ्नै समूहले पैदल नै खोजी कार्य गरेको थियो ।

उनको मृत शरीर उनि बसेको क्याम्प भन्दा ८ सय मिटर तल अर्थात्  ६ हजार १ सय मिटरको उचाइमा सोमबार बिहान मात्र फेला परेको जानकारी दिइएको छ ।  पर्यटन विभागका प्रवक्ता राम प्रसाद सापकोटाले सिमोनको मृत्युको पुष्टी गरेका छन् ।

त्यसैगरी सिमोनको शवलाई पोष्टमार्टम गर्नको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याएको जानकारी प्राप्त भएको छ । 

विश्वको सातौं अग्लो हिमाल धौलागिरी चढ्ने सिमोनको यो पहिलो प्रयास होइन । सन् २०१३ मा पनि उनि र उनको समूह ७ हजार २ सय मिटरमा उचाइमा पुगेर अघि बढ्न नसकेपछि फर्केका थिए । 

सिमोनले ८ हजार मिटर भन्दामाथि अग्ला हिमालहरुको ५ पटक सफल आरोहण पनि गरिसकेको थिए । त्यस्तैगरी भारत, पाकिस्तान र तिब्बतका विभिन्न हिमालहरुको पनि सफल आरोहण गरिकेका छन् ।

सन् १९६० मा पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण गरिएको थियो । त्यसयता ५३७ पटक यो हिमाल चढ्ने क्रममा ८३ जनाको मृत्यु भइसकेको छ । 

यो सिजनको लागि नेपालले ७९२ जना पर्वतारोहीलाई विभिन्न २६ हिमाल आरोहणको लागि स्वीकृती दिएको छ भने यीमध्ये ३४६ जनाले सगरमाथा चढ्ने स्वीकृती पाएका हुन् ।


 

ताजा खबर