बाबुराम भट्टराईले भारतको हितमा काम गर्ने कबुलियत गरेका थिए 

यो प्रश्न उनका धेरै मित्र,पाठक र सहधर्मीहरुले सोधे । एकपटक मात्र होईन पटक पटक सोधे । अनि उनले सबैलाई एकैपटक जवाफ दिनेगरी आफ्नो फेसबूक स्टाटसमै लेखिदिए कि बाबुराम भट्टराई कस्ता नेता हुन्  । समसामयिक बिषयमाथि रोचक शैलीमा नियमित लेखिरहेका उनको यो स्टाटस् पनि उत्तिकै रोचक लागेर यहाँ प्रकाशन गरिएको हो । विश्वास छ,हाम्रा पाठकले यो सामग्री अवश्य रुचाउनु हुनेछ । आफ्नो फेसबूक स्टाटसमा यो टिप्पणी लेख्ने व्यक्ति कुनै नयाँ अनुहार नभै उनै परिचित लेखक नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराई हुन् । अगाडि उनकै टिप्पणीहरुमा पढौं–

केही मित्रहरू डा. बाबुराम भट्टराईबारे मेरो विचार सोध्नुहुन्छ –

. हो बाबुराम भट्टराई उच्च शिक्षित र प्रतिभावान नेता हुन् ! व्यक्तिगतरुपमा स्वच्छ चरित्रका र मुलुकको विकासबारे तुलनात्मक रूपमा भिजन भएका पनि हुन् ! निर्णय क्षमता पनि छ !

जोखिम साहश छ, आवश्यक पर्दा अप्रिय निर्णय पनि गर्न सक्दछन् । डा. भट्टराईको क्षमता र उर्जा यो मुलुकको लागि आवश्यक छ  । मुलुकले अहिले देखेका सबै दलका शीर्ष नेताहरू मध्ये उनी अग्रपङ्क्तिमा छन् नै  । रुखो बोल्छन र विषय वस्तुलाई प्रभावकारीढंगमा, हँसिलो भएर प्रस्तुत गर्दैनन्  ।

तर पनि भन्न खोजेको कुरा बताउन सक्दछन त्यसकारण उनमा सम्प्रेषण क्षमता पनि छ  । समावेशी राजनीति र समाज निर्माण गर्नमा बाबुराम भट्टराईले मुलुकलाई नयाँ गन्तव्य दिएका हुन् !
 
. तर डा. भट्टराईले राष्ट्र विरुद्ध अपराध गरेका छन्  । उनका गुरू एस. डी. मुनीले नै लेखेका र अब सबै धेरथोर शिक्षित सबैले जानेको कुरा हो –  जुन २००२मा उनकै पहलमा उनी र प्रचण्डभएर भारत सरकारका उच्च जासूसी, सुरक्षा र राजनीतिक अधिकारीहरू समक्ष नेपालबाट राजसंस्था हटाउनमा माओवादीलाई सहयोग गरेमा भारतीय हित अनुरूप आफूहरूले काम गर्ने कबुलियत गरेका थिए  । त्यसपछि उनीहरूको सुरक्षा, संरक्षण र सुविधाको जिम्मा भारत सरकारले लियो ।

१२ बुँदे सम्झौता त्यसैको परिणाम हो ।
 
. २०५२ सालमा शेरबहादुर देउवा सरकार समक्ष माग पुरागर्न आफैंले दिएको अल्टिमेटमको अवधि पनि भुक्तान नहुँदै उनी कथित ‘जन युद्ध’मा लागे ।
माग पुराहुन सम्भव थिएन, सम्भव नहुने माग नै राखेका थिए, निहुँ खोजे मात्रै उद्देश्यले तर आफैंले तोकेको समय सम्म त प्रतीक्षा नै गर्नु पर्थ्यो ! 
त्यतिखेर आफैंले प्रस्तुत गरेका ४० सूत्रीय मागहरू मध्ये कतिपय मागहरूको औचित्य आफैँ प्रधानमन्त्री हुँदा पनि उनले सावित गर्न सकेनन  । यस्ता कुराहरू डा. भट्टराईले कार्यनीतिका सवाल बुझेका होलान तर यी कुरा व्यक्तिको समग्र व्यक्तित्वका लागि स्थायीरूपमा ऋणात्मक भार बनेर बसेका हुन्छन  ।
 
. बडा महाराजा राजा पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मका विरुद्ध उनले नै मुलुकमा घृणा राजनीतिको आरम्भ गरे ! उनले आरम्भ गरेको घृणाको राजनीति आज नेपाली राजनीतिको पहिचान बन्न पुगेको छ  ।
 
. उनकै उक्साहटमा गोर्खा, पोखरा लगायतका ठाउँमा पृथ्वीनारायण शाहका सालिक ढालिए ! भानुभक्तसम्म पनि त्यसमा परे  ! पृथ्वीनारायण शाह र भानुभक्तसम्मलाई अपमानित र लान्छितगर्ने राजनीतिमा लागेका बाबुरामको राजनीति कसरी स्थायी र सुरक्षित होला ?  बाबुरामले हुँदैन, नगर, खवरदार भन्न सक्नु पर्थ्यो नी !
 
. भारतमा बसेर कांग्रेसीहरूले पनि राजनीति गरे ! भारतको परोक्ष समर्थन सहयोगमा सात सालमा, १८ सालमा, ३०/३१ मा काङ्ग्रेसले पनि हतियार उठाएको हो । ४६ सालको आन्दोलनमा पनि भारतको सहयोग र समर्थन थियो । परिवर्तनकोलागि राजनीतिक सहयोग र नैतिक समर्थन मागेका हुन्  । जे गरे त्यो ठिक थिएन, त्यो सावित भैसकेको छ , तर डा. भट्टराई र प्रचन्डले जस्तो कागज गरेका थिएनन्  । काङ्ग्रेस – एमालेको तुलनामा डा. भट्टराई र प्रचन्डको कार्य जघन्य राजनीतिक अपराध हो ।
 
. जव भारतको लागि डा. भट्टराई र प्रचण्डको राजनीतिक उपयोगिता समाप्त हुन्छ , त्यो दिन डा. भट्टराई र प्रचण्डले गरेको त्यो कागज भारतले सार्वजनिक गरिदिन्छ  । त्यसको राजनीतिक मूल्य भट्टराई र प्रचण्डले चुक्ता गर्नसक्ने छैनन्  ।

भारतले त्यसलाई सार्वजनिक गर्नु अघि डा. भट्टराईले त्यो कागजबारे मुलुकलाई सबै बताएर राष्ट्र समक्ष माफी माग्न सक्दछन भने नेपाली जनता उनलाई क्षमा दिन र उनलाई नेतृत्व सुम्पन तयार नहोलान भन्न सकिन्न !
 
. माओवादी विद्रोह ताकाको सबै हत्या, हिंसा, बर्बरता, लुट र ज्यादती लगायत माथिका सबै कुरामा बाबुराम भट्टराईले आफ्नो स्थिति प्रष्ट पारे र,
जनता समक्ष माफी माग्न सके भने नेपाली जनताले उनलाई विश्वास गर्न नपर्ने कुनै कारण नहोला !
 
. आफूले भित्र्याएको विखण्डन र विभाजनको राजनीति विरुद्ध अव राष्ट्र र समाजलाई जोड्ने राजनीति आरम्भ गरेर डा. भट्टराईले आफ्ना लागि नयाँ क्षितिज उघार्न सक्दछन् !
 


 

ताजा खबर