आज संसारभर बुद्ध जयन्ती मनाईंदै

२०७५ बैशाख १७ सोमबार ०८:४३:०० मा प्रकाशित

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज परेको छ । २५६२ औ बुद्ध जयन्तीका अवसरमा नेपाल तथा विश्वभर  विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, र मृत्यु वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन नेपालमा पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ ।
इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षका उमेरमा दरबारीय सुख सुविधा त्यागेर ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा उनले भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति गरेका थिए । 
बुद्धले ३६ वर्षका उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गर्नुभएको थियो जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ । 

“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”, बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले बताए । 
बौद्धदर्शनका प्रा शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व ९ज्ञान० प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको बताउनुहुन्छ । “भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ वटा मार्ग(आर्य अष्टाङ्गिक मार्ग) छन् भनी बुद्धले ज्ञान दिनुभएको छ”, उनले भने । 

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि(प्रज्ञा, शील र समाधि) पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । 

यस वर्ष दुई हजार ५६२ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

ताजा खबर