अशोभनीय प्रतिरक्षामा ओली

२०७५ बैशाख १६ आइतबार ०७:२३:०० मा प्रकाशित

मुलुकमा यतिबेला बुद्धिजीवी भनिने विद्वत्जन अर्थात् विभिन्न विषयमा उच्च शिक्षाबाट विशेषज्ञता हासिल गरेका व्यक्तिहरूप्रति प्रधानमन्त्री केपी ओलीका रोषयुक्त धारणाहरू प्रकाशमा आउन थालेका छन् ।

ओली मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष हुन् र उनी नागरिकहरूबाट अधिक विश्वासप्राप्त प्रधानमन्त्री हुन् । ओलीको वाक्पटुता अजोडी छ । उनी प्रचलित उखानतुक्काहरू जोडेर प्रतीकात्मक तर जनसाधारणले पनि बुझ्ने गरी आफ्नो भाव सम्प्रेषण गर्न दक्ष छन् । भाव सम्पे्रषणीयताको प्रभावका हिसाबले ओली समकालीन नेताहरूमा सबैभन्दा उम्दा छन् । अभिव्यक्ति कलात्मक छ । उनको अभिव्यक्ति शैली र वक्तृताबाट श्रोताले भरपूर मनोरञ्जन पनि प्राप्त गर्छ, सुनिरहूँजस्तो । 

भनिन्छ, ओलीको औपचारिक शिक्षा थोरै छ, उनी १० कक्षा उत्तीर्णसम्म हुन रे । ओलीका एकजना निटकस्थका अनुसार उनी समकालीन नेताहरूमा सबैभन्दा बढी अध्ययनशील छन् । मिर्गौला फेरेर पुनर्जीवन पाएका ओली राति अबेरसम्मको भेटवार्तापछि अध्ययनमा व्यस्त हुन्छन्, उनी दुई–तीन घण्टामात्रै सुत्छन् । उनी विश्व राजनीतिक र सामाजिक घटनाबारे अधिकतम अद्यावधिक रहन्छन् । लामो समय जेलमा रहँदा उनले एड्भान्स लर्नर्स डिक्सन्री धरैजसो घोकेकै थिए भन्ने विवरणहरू सञ्चारमाध्यममा सार्वजनिक भएका हुन् ।

ओली श्रोतालाई लाज नहुने स्तरको अङ्ग्रेजी फरर्र बोल्न सक्छन् । राजनीतिक, सामाजिक र अन्य समसामयिक विश्वघटनाक्रम, राज्य सञ्चालनका सबैजसो क्षेत्र र विषयहरूबारेको अद्यावधिक जानकारी उनका मन्तव्यहरूमा अभिव्यक्त हुन्छन् । समग्रमा उनी उच्च शिक्षित÷दीक्षित राजनीतिज्ञ जस्ता देखिन्छन् । प्रतिस्पर्धी एक राजनीतिज्ञका रूपमा ओलीको जानकारी÷ज्ञानको तह तुलनात्मकरूपमा उत्कृष्ट मान्न सकिने खालको छ । सबै विद्वत्जन र जनसाधारणका लागि यो गौरवको कुरा हो । 

भन्नै पर्छ, शैक्षिक योग्यताका विषयमा चर्को स्वरले जवाफी र प्रतिरक्षात्मक हुन खोज्नु ओलीको असहिष्णुताको लक्षण हो । आफू उच्च शैक्षिक सर्टिफिकेटयुक्त नहुनुको हीन ग्रन्थीको अभिव्यक्ति हो । आफ्नो आलोचनाप्रतिको असहिष्णुताको संकेत हो । प्रधानमन्त्री यति जवाफी हुनु अशोभनीय छ । 


ओलीका विषयमा उल्लिखित दुई अनुच्छेदमा अभिव्यक्त धारणा नयाँ होइन । नेपाली राजनीति र नेताहरूका बारेमा सामान्यमात्रै चासो र जानकारी राख्ने जोसुकैले थाहा पाएको कुरा हो । त्यसो भए किन यति शब्द खर्च गरिएको त ? पाठकका लागि यो प्रश्न स्वाभाविक हुन्छ । पाठकहरूलाई यसबारेमा थोरै प्रष्ट पारूँ । 

एउटा दृष्टान्त हेरौँ । प्रधानमन्त्री ओली हालैको संसदीय निर्वाचनको समयदेखि ‘बुद्धिजीवी’ प्रति रुष्ट देखिन थालेका छन् । उनले एकपटक कांग्रेसका एक÷दुई नेताप्रति संकेत गर्दै ‘यसपालि डाक्टरको बुद्धिले घाम ताप्छ’ भने । उनको यो अभिव्यक्ति तत्कालीन संसदीय निर्वाचन र एमाले–माओवादी केन्द्रको गठबन्धनसँग सम्बन्धित थियो । उनले बोलेको डाक्टर शब्द चिकित्सक वा विद्यावारिधि उपाधिधारी नेताप्रति लक्षित थियो र सार ‘तिमी पढेलेखेका विद्वान भनिने नेताको बुद्धि म पनि हेरौँला’ भन्ने नै थियो । यो दृष्टान्त उनी प्रधानमन्त्री नियुक्त हुनुअघिको हो । 

प्रधानमन्त्री भएपछिको अर्को एउटा दृष्टान्त हेरौँ । गत महिना पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको अध्यक्षका हैसियतमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको टोलीलाई बालुवाटार बोलाएर पुनर्निर्माणको प्रगति विवरण मागे । उनले सिंहदरबारको रेट्रोफिटिङका विषयमा चासो राखे र त्यसमा असन्तुष्टि जनाए । त्यहाँ उनले ‘विश्वविद्यालयको सर्टिफिकेटले मात्रै काम गर्दैन’ भनेर प्राधिकरणका अधिकारीहरूको कार्य दक्षतामा प्रश्न उठाए । सिंहदरबारको रेट्रोफिटिङका बारे भइरहेको प्राविधिक÷बौद्धिक वहसमा ओलीको असन्तुष्टि प्रकट भयो । 

सबैभन्दा पछिल्लो दृष्टान्त हेरौँ । ओलीको पार्टी नेकपा एमालेको एउटा कार्यक्रममा उनले ‘बुद्धिजीवी’ लाई मुसासँग तुलना गरे । ‘मुसाले आफ्नो दाँत धार लगाउन नयाँ लुगा काट्छ भन्छन्, हाम्रा बुद्धिजीवी पनि त्यस्तै भए’ भन्ने उनको अभिव्यक्ति आयो । उनले ‘बुद्धिजीवीहरूलाई देशको अहित हुने काम नगर्न’ सुझाव दिए । अर्थात उनको भनाइको तात्पर्य ‘बुद्धिजीवी भनिने केही व्यक्तिहरू देशको हितविपरीत बोल्दै÷लेख्दैछन्’ भन्ने थियो । यो सन्दर्भ ठिक अघिल्लो दिन कान्तिपुर दैनिकमा छापिएको अच्युत वाग्लेको लेखसँग सोझै सम्बन्धित सुनिन्थ्यो । राराताल पुगेर देशवासीका नाममा गरेको सम्बोधन र व्यक्तिको विद्वताको कदर÷उपयोगका विषयमा सम्बन्धित उक्त लेखबारे प्रधानमन्त्री ओली पूर्णतः जवाफी÷प्रतिरक्षात्मक सुनिन्थे । 

उच्च शिक्षित र विशेषज्ञता हासिल गरेका व्यक्तिहरूप्रति ओलीको अनौठो किसिमले विरोधी मनोविज्ञान अभिव्यक्त हुन थालेको छ । उनी ‘धेरै पढेर मात्रै मान्छे विद्वान हुँदैन’ भन्ने आफ्नो पूर्वाग्रह प्रमाणित गर्न कस्सिएका जस्ता देखिन्छन् । उल्लिखित तीनवटा दृष्टान्त नमूनाका लागि प्रस्तुत गरिएका हुन् । ओली स्वयम् र उनले विश्वास गरेको सहयोगी टिमका व्यक्तिहरू औपचारिक शिक्षा अत्यन्तै थोरै भएका छन् अर्थात् उनीहरूमा आधुनिक युगअनुकुलको विशेषज्ञता छैन भन्ने टिप्पणी हुँदै आएको छ ।

ओलीले विशेषज्ञता माग हुने उच्चतहको राजकीय जिम्मेवारी दिएका कतिपय व्यक्तिको शैक्षिक योग्यताका बारेमा टिप्पणी हुँदै आएको छ । कतिपय अवस्थामा ती व्यक्तिहरू ‘अपठित÷अशिक्षित’ र सम्बन्धित पदका लागि अयोग्य रहेको भन्ने टिप्पणी भयो । यसमा ओलीको आलोचना  भयो । यही क्रममा ओली विद्वत्जनप्रति नकारात्मक बन्दै गए । उनी जवाफी बन्दै गए । तिमीले ‘अपठित÷अशिक्षित र अयोग्य’ भनेका व्यक्तिको जति कार्यक्षमता देखाऊ भन्दै जवाफी हुन थाले । उनी आफूलाई उम्दा ज्ञानयुक्त र प्रज्ञावान छु, तिमी डाक्टर (पिएचडी) भन्दा कम छुइनँ भन्ने प्रमाणित गरेर देखाउनमा तल्लीन हुन थाले ।  

एउटा मानेमा ओली सही छन् । पढेर उच्च शिक्षाको सर्टिफिकेट हासिल गर्दैमा, पिएचडी गर्दैमा सबै व्यक्ति स्वतः योग्य हुँदैनन् । उनीहरूको उच्च शैक्षिक योग्यताको परीक्षण व्यवहारमा हुनुपर्छ । यस अर्थमा राज्यले जिम्मेवारी दिएका कतिपय व्यक्तिले दक्षता देखाउन सकेनन् होला । यसको अर्थ उच्च विशेषज्ञता नै आवश्यक छैन, देश बिगार्ने, राजनीति बिगार्ने र नेतालाई देशको विकास गर्न नदिने जति पढेलेखेका विद्वान, बुद्धिजीवी नै हुन् भन्ने आशयको अभिव्यक्ति खेदजनक छ ।

निश्चय नै, राजनीतिमा औपचारिक शैक्षिक योग्यता खोज्ने चलन छैन । राजनीति विचारले चल्छ । विचार प्रवर्तनमा पनि गहन अध्ययन चाहिन्छ । नेताहरू स्वाध्ययनले विचार प्रवर्तक बन्छन्, विश्वराजनीतिका घटनाक्रमहरू र राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिको इतिहासबाट सिक्छन् । उनीहरू विद्वत् व्यक्तिहरूको सहयोग लिन्छन् र आफ्ना राजनीतिक विचारहरूलाई जनताको तल्लो तहसम्म व्यावहारिक रूपान्तरणमा पु¥याउँछन् । मुलुकको विकास र समृद्धि यसमै निहित हुन्छ । एउटा बलियो र राम्रो भवनसँग तुलना गर्ने हो भने विचार प्रवर्तक नेताहरू खम्बा हुन् अनि विद्वानहरू पर्खाल । 

देशमा राजनीतिज्ञ र राजनीतिमा चासो राख्ने विद्वानहरूको आआफ्नै महत्व छ । जनाधारमा आधारित राजनीतिमा को कति पढेको नेता हो भन्ने कुराको उति महत्व हुँदैन । उसको राजनीतिक विचारको र देशको समृद्धिका लागि उसको मार्गदर्शनको महत्व हुन्छ । विद्वानहरू राजनीतिज्ञका सहयोगी हुन्छन् । त्यसैले राजनीतिज्ञको दक्षतामा प्रश्न उठ्न सक्छ तर सामान्यतयाः उसको शैक्षिक योग्यतामा प्रश्न उठ्दैन । एउटा पक्ष के छ भने, राज्य सञ्चालनका केही राजनीतिक पदहरूले खास किसिमको क्षमता÷योग्यताको माग गर्छन्, विशेष किसिमको दक्षताको अपेक्षा गर्छन् । अर्थमन्त्री र परराष्ट्रमन्त्री बन्न न्युनतम क्षमता-योग्यताको अपेक्षा हुन्छ । यस्तै अन्य राजनीतिक नियुक्तिका पदहरू हुन्छन् जसले खास किसिमको शैक्षिक योग्यता माग गर्छन् ।

अनेक प्रसंगमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरू भने विद्वत्जनप्रति रोषयुक्त हुने गरेका छन् । मानौँ, देश खत्तम बनाएको तिनै मनुवाले हो, तिनको यति धेरै बुद्धिविलास हुँदैनथियो भने देश ओली पहिलोपटक प्रधानमन्त्री भएको नौ महिनामै समृद्ध भइसक्थ्यो । 

औपचारिक शैक्षिक योग्यताका सन्दर्भमा ओलीको हीन ग्रन्थी उच्च सक्रिय प्रतीत हुन्छ । ओली समकालीन राजनीतिमा सबैभन्दा बढी विश्वास र भरोसा गरिएका नेता हुन् । उनले आफ्नो राजनीतिक योग्यता प्रमाणित गरेरै जनताको विश्वास हासिल गरेका हुन् । पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रको कार्यकारीका हैसियतमा उनले प्रमाणित गरेको योग्यताको प्रतिफलका रूपमा उनी दोस्रो पटक उही पद र जिम्मेवारीमा विराजमान छन् । उनको शैक्षिक योग्यता आजको वहसको विषय होइन ।

अपेक्षा केवल उनले विद्वत्जनको कदर गरून् र आवश्यक ठाउँमा तिनलाई जिम्मेवारी दिऊन् भन्नेसम्म हो । विश्वविद्यायको शैक्षिक सर्टिफिकेटको अनादर नगरून् भन्नेसम्म हो । उच्च शैक्षिक योग्यता नरहेका तर राजनीतिक योग्यतामा उनी आफूले पत्याएका सहयोगीहरूलाई जिम्मेवारी दिन उनलाई कसैले रोक्दैन, रोक्न सक्दैन । 

भन्नै पर्छ, शैक्षिक योग्यताका विषयमा चर्को स्वरले जवाफी र प्रतिरक्षात्मक हुन खोज्नु ओलीको असहिष्णुताको लक्षण हो । आफू उच्च शैक्षिक सर्टिफिकेटयुक्त नहुनुको हीन ग्रन्थीको सक्रियता र कुण्ठाको अभिव्यक्ति हो । आफ्नो आलोचनाप्रतिको असहिष्णुता र अधिनायकत्वको लक्षण हो । प्रधानमन्त्री यति जवाफी हुनु अशोभनीय छ । ओली आज जुन ठाउँमा छन्, जनताको जुन विश्वासका साथ मुलुकको कार्यकारी छन् र प्रधानमन्त्रीका रूपमा उनका जुन सपनाहरू छन् तिनको सम्मानका लागि, लक्ष्य प्राप्तिका लागि उनको उच्च विनयशीलता अपेक्षित छ । 

(वैशाख १६ गतेको हिमालय टाइम्स दैनिकमा प्रकाशित)
 


 

ताजा खबर