कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

२०७५ बैशाख १४ शुक्रबार ०७:५१:०० मा प्रकाशित

पाल्पा, १४ वैशाख ।  रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । 

कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

आर्थिकरुपमा अतिविपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रम गर्न जान थालेपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकालाई विद्यालयमा टिकाउन खोजिएको हो । 

नयाँ शैक्षिकसत्रमा बाल कक्षादेखि कक्षा ८ सम्म १२९ बालबालिका विद्यालयमा भर्ना भएका छन् । बालकक्षामा २०, कक्षा १ मा १६, कक्षा २ मा १०, कक्षा ३ मा १८, कक्षा ४ मा १४, कक्षा ५ मा १३, कक्षा ६ मा १३ कक्षा ७ मा १० र कक्षा १६ जना बालबालिका विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययन गर्दै आएका छन् । 

ज्येष्ठ १ गतेदेखि यहाँको कालिका आधारभूत विद्यालयमा दिवा खाजा सञ्चालन हुनेछ । विद्यालयको भर्ना अभियानका क्रममा समेत तीनजना बालबालिका भर्ना गरिएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले दिगो विकासको लक्ष्यसहित सन् २०३० सम्म कुपोषण अन्त्य गर्न दिवा खाजा कार्यक्रम सञ्चालन हुने बताए । 

गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन रु २० बराबरको आर्थिक सहयोग दिने प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठगबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि कक्षा छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताए  । स्थानीय तह र विद्यालयबीच दिवा खाजा कार्यक्रम सम्झौता भएको छ । 

ताजा खबर