प्राविधिक विषय आकर्षण बन्दै

२०७५ बैशाख ११ मंगलबार १६:५७:०० मा प्रकाशित

ललितपुर, ११ वैशाख । अघिल्लो वर्षसम्म सेन्ट जेभियर्स विद्यालयमा अध्ययनरत छोरीलाई लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयमा भर्ना गर्न पुल्चोक इञ्जिनियरिङ क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीहरि थापा विद्यालय पुगे ।

शैक्षिकसत्रको पहिलो महिना भएकाले अहिले देशभर विद्यालय भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा भर्ना गर्न÷गराउन त्यहाँका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी अभिभावकलाई सम्झाउँदै छन् तर यो विद्यालयमा भने शिक्षित अभिभावक आफैँ छोरा–छोरी लिएर भर्ना गराउनका लागि पहल गर्दै आइरहेका छन् । केही दिन पहिलेमात्रै अर्का एक अभिभावक पनि सेन्ट जेभियर्समा नै अध्ययनरत छोरा लिएर भर्ना गर्न यहाँ आइपुगेका थिए ।

विगतमा झै यस वर्षमात्रै आठ विद्यार्थी निजी विद्यालयबाट यहाँ भर्ना हुन आएका छन् । निजी तथा अन्य सामुदायिक विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या वर्षेनी बढिरहेको छ ।

प्राविधिक विषय (इलेक्ट्रिकल इञ्जिनियरिङ) को अध्ययनका कारण विद्यार्थी सङ्ख्या वर्षेनी बढिरहेको विद्यालयका सहप्रधानाध्यापक रवीन्द्र थापा बताउँछन् । नियमित कक्षा, मजबुत व्यवस्थापनका कारण यो विद्यालयमा शिक्षित अभिभावकको चासो बढेको हो । विद्यालयमा अहिले कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयअन्तर्गत इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको अध्ययन भइरहेको छ । उनि भन्छन्, “यहाँ पढ्नका लागि टाढाबाट धाएर आउने विद्यार्थीसमेत छन् ।”

यस वर्षमात्रै विद्यालयबाट प्राविधिकतर्फको कक्षा १२ सकेको पहिलो व्याचको परिणाम निस्केको थियो । बाह्र उत्तीर्ण विद्यार्थीमध्ये कतिले स्नातक इञ्जिनियरिङमा नै अध्ययनका लागि विभिन्न विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा नाम निकालेका छन् । कति विज्ञान संकायमा भर्ना भएका छन् । कतिले विद्युत् इलोक्ट्रोनिस विषयकै काम शुरु गरेका छन् । सहप्रधानाध्यापक थापा भन्छन्, “प्राविधिक विषय पढेपछि खाली बस्नु पर्दैन भन्नेसमेत अभिभावकले बुझ्न थालेका छन्।” धेरै विद्यार्थीले लोकसेवा आयोगको तयारीमा लागेका छन् । एसर्इई परीक्षा सकेका विद्यार्थी चौथो र १२ सकेका विद्यार्थी विद्युत् प्राधिकरणमा पाँचौँ तहमा तयारी गरिरहेका छन् ।

प्राविधिक विषयका कारण शिक्षित अभिभावकसमेत आकर्षित भएका हुन् । एक–दुईजना शिक्षित अभिभावक आउँदा त्यसले समाजमा समेत सकारात्मक छाप छाड्ने उनि बताउँछन् । अधिकांश अभिभावकमा आफ्नो सन्तानले अङ्ग्रेजीमा पढोस् भन्ने चाहना छ । सहप्रधानाध्यापक थापा भन्छन्, “त्यसैले पनि हाम्रो विद्यालयमा आफ्ना छोरा–छोरी पढाउँदा निजीमा पढाउँदाभन्दा कमजोर नहुनेमा अभिभावक ढुक्क छन् ।”

प्राविधिक विषयमा शिक्षक पाउन भने गाह्रो भएको सहप्रधानाध्यापक थापा बताउँछन् । विद्यालयले जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा शिक्षक माग्ने गरेको छ । केही समय पढाएका शिक्षक विद्युत् प्राधिकरणमा नाम निकालेर जाँदा फेरि शिक्षक खोज्नु पर्छ । उनि भन्छन्, “एक वर्षमा दुई पटकसम्म शिक्षक फेर्नुपर्ने भएको छ । शिक्षकलाई आकर्षण गर्ने कुरा नहुँदा टिकाउन नसकिएको हो। ”

राम्रो पढ्ने र मध्यम दुवैखालका विद्यार्थीका लागि यो विषय उपयोगी भएको विद्यालयको अनुभव छ । राम्रो पढ्ने विद्यार्थीले पुल्चोक इञ्जिनियरिङ कलेजलगायतमा नाम निकालेका छन् । मध्यमखालका विद्यार्थी सीपका कारण आत्मनिर्भर भएका छन् । उनि भन्छन्, “सामान्य विषय पढ्ने विद्यार्थी एमए सक्दासम्म अरुको भर पर्नुपर्छ तर प्राविधिक विषयका विद्यार्थी एसइई वा १२ सकेपछि नै आत्मनिर्भर हुन्छन् ।”

विद्यालयको कक्षा १० मा अहिले ४२ विद्यार्थी छन् । तीमध्ये १६ जना सामान्य र २६ जना प्राविधिक विषयका विद्यार्थी हुन् । कक्षा ९ मा अहिले जम्मा ४४ जना विद्यार्थी छन् । तीमध्ये २८ इञ्जिनियरिङका विद्यार्थी हुन् । विद्यालयमा अहिले झण्डै ५२५ विद्यार्थी छन् । राससको लागि सञ्चिता घिमिरे

 

ताजा खबर