रोजगारी दियो विकास आयोजनाले

२०७५ बैशाख ११ मंगलबार १६:३१:०० मा प्रकाशित

बेनी, म्याग्दी, ११ वैशाख । जिल्लामा निर्माण हुँदै गरेका विभिन्न विकासे आयोजनाबाट पाँच हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् ।

भवन निर्माण, नदी नियन्त्रण, जलविद्युत्, सडक र विभिन्न उद्योगमा उनीहरुले रोजगारी पाएको निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष नारायण जिसीले बताए ।

कालीगण्डकी करिडोर अन्तर्गतको बेनी—जोमसोम सडक आयोजना, नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना, नारच्याङमा निर्माणाधिन पाँच मेगावाटको घलेम्दीखोला, अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधिन विद्युत् सव स्टेशन र सदरमुकाम बेनीबजार संरक्षणका लागि म्याग्दी नदी र कालीगण्डकी नदी नियन्त्रण आयोजनामा स्थानीयवासी तथा अन्य व्यक्तिले रोजगारी पाएका छन् ।

“जिल्लामा ठूला आयोजना भित्रिएसँगै रोजगारीको अवसर सिर्जना भएको हो,” उनले भने। बेनी—जोमसोम सडकमा मात्र तीन हजारभन्दा बढी मजदुरले तीन महिनादेखि काम गरिरहेका छन् । चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना र बेनी—दरवाङ सडक आयोजना निर्माण चाँडै शुरु हुँदैछ । स्थानीयवासीलाई प्राथमिकता दिए पनि नपाएपछि अरु जिल्लाबाट मजदुर ल्याएर काम गर्नुपरिरहेको निर्माण व्यवसायीहरु बताउँछन् ।

निर्माणाधिन आयोजनामा बाँके, बर्दिया, दाङ, कैलालीलगायत जिल्लाका साथै भारतीय मजदुरले काम गरिरहेका शर्मा÷गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले बताए । नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला र घलेम्दीखोला आयोजनामा करिब पाँच सय स्थानीयवासीले रोजगारी पाएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । रासस

 

ताजा खबर