कानुनका कुसुम 

२०७५ बैशाख ११ मंगलबार १६:०१:०० मा प्रकाशित

  प्रजातन्त्र अभ्युदयको एक वर्षपछि २००८ साल वैशाख ८ गते जारी भएको प्रधान न्यायपालिका ऐनले नेपालमा स्वतन्त्र न्यायपालिकाको शिलान्यास गरेकोले सोहि दिन आज पर्यन्त औपचारिक रुपमा कानुन दिवस मनाउने गरिन्छ। न्याय क्षेत्रका ‘वोकाहा’ लाई व्यवसायी वनाउने श्रेय रौतहटका देवनाथ प्रसाद वर्मालाईनै जान्छ। पहिलो नम्वरको प्रमाण पत्रधारी स्व.वर्माले २०१३ साल पुस ७ गते नेपाल वार एशोसिएशनको संस्थापन पनि गरे। त्यसैलाई पछ्याएर २०३० साल फागुन ८ गते वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको अध्यक्षतामा सर्वोच्च बार एशोसिएसनको गठन भयो। जस्ले कानुनी राज,स्वतन्त्र न्यायपालिका र शक्ति विभाजनलाई मूल मन्त्र मानेर पञ्चायत व्यवस्थामा समेत न्यायपालिका राजनैतिक हस्तक्षेपवाट मूक्त भयो। वकिलहरू सामाजिक अभियन्ताको रुपमा दररिए।

‘सवै स्वतन्त्रताहरु भन्दा मलाई आफ्नो विवेक अनुसार जान्ने वोल्ने वहस गर्ने स्वतन्त्रता देऊ’ भन्ने मिल्टनको वाणी उद्धृत गरेर २०२७ साल वैशाखमा निस्केको न्यायदूत पत्रिकाको पहिलो अङ्कमा आफ्नो सम्पादकियको शुरुआत मात्र गरेनन्।

सोही मार्गदर्शनवाट अविचलित नभै उच्च नैतिकताकासाथ व्यवसायिकताको कसम खाँदा तत्कालिन गृहमन्त्री शम्भुप्रसाद ज्ञवालीको खप्की खानुपरेको थियो। यद्यपी  सवैभन्दा सुखद क्षणको रुपमा उनले ऊल्लेख गरेकाछन्। १९९३ सालको माघमा वावु हरीप्रसाद श्रेष्ठ र आमा राजकुमारीवाट वन्दीपुरको सम्भ्रान्त परिवारमा जन्मेका चारभाई मध्ये पूर्व मन्त्री डाक्टर मथुरा यिनका सहोदर दाजु हुन्। काठमाडौंको पद्मोदय हाई स्कूल हुँदै नेसनल कलेज पछि कलकता युनिभर्सिटीवाट कुसुम श्रेष्ठले कानुनमा स्नातक गरे। शुरुका दिनमा काठमाडौंमा खुट्टा जमाउन मुस्किल भए पनि अहिले ९५ वर्ष पुगेका भण्डारीको सामिप्य र प्रेरणाको ओतले घामपानीवाट जोगिएको वताएका छन्। झन् भण्डारीजीसँग मिलेर नेपाल ल फर्म खोले पछित यिनको व्यवसायिकतामा चार चाँद मात्र लागेन। २०३० साल अगाडी अतिथि प्राध्यापकका रुपमा नेपाल ल कलेजमा कुसुमको अध्यापन कलाले तहल्का मचाएको थियो। वस्तुत उनको विद्वता र परिश्रमनै उनको सफलताको मेरुदण्ड वन्न पुग्यो। भरतराज उप्रेती,महादेव यादव र प्रकाश वस्ती जस्ता कानुनका हस्तिहरु उहाँलाई गुरु बनाउन पाऊँदा गौरव महसुस गर्दछन्। अझ पूर्व न्यायाधीश वस्ती आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ताते गराएको महसुस गर्छन्। चेलाहरुलाई कुसुम श्रेष्ठको सन्देश एउटैछ –‘यो व्यवसाय अत्यन्त चुनौतिपूर्ण र आदर्शयुक्त छ। व्यवहार र सिध्दान्तको सम्मिश्रणनै हो कानुन व्यवसाय। यस्का अतिरिक्त अध्ययनमा जोडदिनु पर्दछ।’

करिव दशवर्ष देखि उहाँको नाकमा अक्सिजन छुटाउन हुँदैन। यो अवस्थामा अदालत जान चाहनु हुन्न। तर धोबीखोलाको किनारको निजीनिवासमा रहेको कार्यालयको कम्प्युटरमा बसेर दिउँसो १ वजे काम गर्न थाल्नु हुन्छ। अधिवक्ता छोरा मिराज श्रेष्ठले सहयोग  पुर्याँउँछन्। कानुनमा समर्पित शिखर पुरुषको निष्कृयताले अदालतले एउटा अन्तर्राष्ट्रिय स्तरको वकिल गुमाएको छ भने पीडितहरुले न्यायको लागि लड्ने भिड्ने सामाजिक अभियन्ता गुमाएका छन्। ऊनको अनुपस्थितिले जन्माएको न्यास्रो मेट्ने  र भेट्ने मेरो अभिष्ट पूरा नहुने चाल त्यसवेला मात्र थाहा भयो। जव बारका साथीहरुलाई समेत उहाँले “म जस्ता मान्छे कति छन् कति! मेरो कुरा लेखेर के हुन्छ र? आफ्नो सकृय जीवनमा सकेजति  इमान्दारीसाथ गर्नु पर्दछ। अन्तर्वार्ता छापेर र लेखेर के हुन्छ? भनेर पन्छिनु भयो भन्ने अन्तर्वार्ताकारको अनुभव पढेँ। साक्षात्कार गरेर केहि यक्ष प्रश्न राख्ने मेरो जिज्ञासा तुहिए पनि  कुसुमको सुवास फैलाऊने अभिलाषाले साइत जुराई छोड्यो। वस्तुत समकालिन पुस्ताको अनुभूति र आधिकारिक सामग्रीका पातलाई समय र सम्झनाका सिन्काले टपरी गाँस्नुको विकल्प रहेन।

२०१८ सालको डा.के.आई.सिंहको राष्ट्र विप्लवको मुद्दामा कुसुम र गणेशराज शर्माको जोडीले अन्तर्राष्ट्रिय कानुनको  व्याख्या गरेर वहस पैरवीको क्षेत्रमा कोशे ढुङ्गा गाडे। दरवारको आश र त्रासवाट मूक्त भएको हुनाले नै राजकाज  मुद्दाबाट पीडितहरुका मसिहा वने। पञ्चायतकालमा मानवअधिकार हनन् भएका सवैजसो मुद्दाको विरुध्दमा लड्ने वकिलको अर्को नाम कुसुम श्रेष्ठहो। चाहे मनमोहनको केस होस्। चाहे ओमकार श्रेष्ठको होस्। उनकै समर्पण र कौशलताले नै सफलता चुम्थ्यो। तिर्खामेट्न खोलाले नै धाएको ऊदाहरण पनि यिनैले सेट गरे। भिमनारायण श्रेष्ठलाई फाँसी तोकेको मुद्दामा डा.सुर्य ढूङ्गेलको साथमा ऊनी धनकुटाको पुनरावेदन अदालतसम्म पनि पुगे। तार लागेन । सर्बाेच्चमा पुनरावेदन गरे। तर वासुदेव शर्मा र  झपट सिँ रावलको वेञ्चले क्याप्टेन यज्ञ वहाददुर थापा र भिम नारायणलाई वचाउन सकेन।

न्यायालयमा परेको मुद्दामा सवैभन्दा ठूलो र चर्चित र मुद्दा भनेको वी.पी.कोइराला सहितको ७ फाँसीको मुद्दानै हो। वी.पी निर्वासन वाट २०३३ साल पौष १६ गते मृत्यू दण्ड कवुलेर फर्केपछि सवैको जिम्मा लिएका वी.पीको मुद्दा मुल्तवीमा राखेर उनि विदेश रहेको बेलामा यज्ञवहादुरलाई फाँसी सुनायो। जस्लाई उनले दर्वारको दोहोरो नीतिको सँज्ञा दिँदै राजालाई उनकै सल्लाहकारहरुले धोका दिएको टिप्पणी गर्नु भयो। त्यस्तै ह्रषीकेश शाह,यज्ञमुर्ति वञ्जाडेको वन्दी प्रत्यक्षिकरणको रिटमा मिलेको सफलताले उनलाई रिट शिरोमणिको रुपमा आदर गर्न थालियो। साँच्चीनै कुसुम भाषाका मानक थिए। कानुन जस्तो रुख्खो विषयलाई पनि साहित्यको जामा पहिर्याउने उनको खुवीलाई सवैले सकारेका छन्। त्यस्तै २०५२ साल भदौ १२ गते प्रधान मन्त्री मनमोहन अधिकारीद्वारा विघटित संसद पुनस्र्थापनाको परमादेश गराएर व्यवसायिक छलाङ्गको नमूना कायम गरे। शेर बहादुर देउवाका तर्फवाट एघार सदस्यिय बिशेष इजलासमा बहस गर्दै ‘प्रतिनिधि सभाको विघटनलाई संविधान विरुद्ध गरिएको जालसाजी’को संज्ञा दिएका थिए।

बारमा विदेशी सहयोग, सम्वन्ध र सहकार्यको श्रेय अध्यनशील कुसुमलाई नै जान्छ। २०३६ को जनमत संग्रह देखि २०४६ को जनआन्दोलन देखि २०६२÷६३ को दोश्रो  आन्दोलनसम्म एक ढिक्का भएर अगुवाई गरेको बार दलहरुको पक्षधर हुन लागेकोमा कानुनका भिष्मपितामह चिन्तित हुनु अस्वाभाविक होईन। त्यस्तै न्यायपालिका यस अघि कहिल्यै यसरी विवादको दुष्चक्रमा फसेकोको थिएन। २०७० को प्रजातन्त्र दिवसमा आएको ऊनको ‘कानुन व्यवसायीहरु सँधै मानव अधिकार तथा स्वतन्त्र न्यायपालिकाको सुदृढिकरणका पक्षमा रहिरहनु पर्छ’ भन्ने अभिव्यक्तिलाई मूलमन्त्र ठानेर बारमा प्रस्तावित पूर्णकदको तस्विर टाँगनसके  कुसुम फेरी न्यायको ऊद्यानमा फक्रने  थिए !

(वरिष्ठ पत्रकार कार्की गतिविधि साप्ताहिकका संस्थापक सम्पादक र नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष हुन्)

ताजा खबर