एकताको बाँध फुट्यो भने ओली बग्छन् कि प्रचण्ड ?

२०७५ बैशाख १० सोमबार १४:१३:०० मा प्रकाशित

पार्टी एकीकरण नभएमा केपी ओलीलाई धेरै क्षति हुन्छ कि पुष्पकमल दाहाल प्रचण्डलाई ? अहिलेको अवस्था हेरेर भन्न सकिन्छ– तत्कालीन रुपमा ओलीलाई धेरै क्षति हुन्छ, दीर्घकालीन रुपमा प्रचण्डलाई धेरै क्षति हुन्छ ।

अति नै गाह्रो छ एमाले र माओवादीको एकीकरण हुन । तर, एकीकरणबाट पछाडि हट्न झन् गाह्रो छ । एकीकरण गर्दा दुवै पक्षलाई अनेक जोखिम छ, एकीकरण नगर्दा झन् धेरै जोखिम छ । 

एकीकरण नभएमा राष्ट्रिय राजनीति अस्थिरतामा जानेछ । एमाले र माओवादी दुवैले अकल्पनीय क्षति ब्यहोर्नेछन् । 

‘अब निद्रा लाग्ने ट्याब्लेट धेरै बिक्छ,’ केपी ओलीको डाइलग हो यो । प्रचण्ड नेतृत्वको माओवादी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग गठवन्धन घोषणापछि ओलीले यसै भनेका थिए । 

तर, अहिले ओली र प्रचण्ड दुवैको निद्रा विथोलिएको छ । वामपन्थी सहयात्रामा सहभागी बाबुरामको निद्रा त्यसबेलै बिग्रियो । उनलाई सांसद चुनाव जिताउन माओवादीले मानेन । त्यसपछि कांग्रेसको शरणमा पुगे बाबुराम ।

सांसद बनेपछि बाबुराम निदाउन थालिसके होलान् तर ओली र प्रचण्डको निद्रा निरन्तर विथोलिएको छ । 

त्यो तत्व को हो ?


बैशाख ९ गते व्यानर काण्डको दिन ओली र प्रचण्डले गरेको भाषण मिहिन रुपमा केलाउने हो भने एकीकरणमा ढिलाई किन भएको हो भन्ने बुझ्न गाह्रो छैन ।

भाषणमा प्रचण्डले बताए अनुसार एकीकरणको मिति तोक्यो भने विभिन्न स्वार्थ समूहले भाँड्छन् । मिति नतोकी अचानक एकीकरण गर्ने उनले बताए । 

प्रचण्डको यो भनाई गहिरो छ । उनको भनाईलाई विस्तार गर्दा के बुझ्न सकिन्छ भने पार्टी एकीकरण हुन नदिन निकै शक्तिशाली तत्वहरु सक्रिय छन्, त्यस्ता तत्व एकीकरण प्रकृयामा हावी छन् । र, त्यस्तै तत्वहरुका कारण अहिलेसम्म एकीकरण नभएको हो ।


अहिलेको नेपालमा सबैभन्दा ठूलो र सरकारको नेतृत्व गरिरहेको पार्टी हो एमाले । तेस्रो ठूलो र सरकारमा रहेको पार्टी हो माओवादी केन्द्र । देश हाँकिरहेका यी पार्टीहरुले एकीकरणको मिति तोके भने हुन नदिने शक्ति को हो ? यति शक्तिशाली पार्टी र नेताहरुलाई उनीहरुले चाहेको बाटोमा हिँड्नबाट रोक्ने शक्ति झन् कति शक्तिशाली होला ? 

प्रचण्डको भनाईबाट अनेक प्रश्न उठ्छन् ।

जुन दिन एकीकरण गर्ने भन्यो त्यो दिन हुँदैन भने प्रचण्डले । के हो यसको अर्थ ? नेपालका प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसो भन्यो त्यसै गर्न वाध्य बनाउने तत्व कुन हो ? को हो ? 

त्यस्तो तत्वले आफूलाई पनि प्रभावित पार्न सक्छ भनेर प्रचण्डले घुमाउरो पाराले स्वीकार गरे ।


ओलीको खण्डन


९ गतेको भाषणमा ओली र प्रचण्डबीच सौहाद्र्रता देखियो, एकले अर्काप्रति सम्मान व्यक्त गरे । तर, भाषण केलाउँदा प्रचण्डको भनाई ओलीले खण्डन गरेको बुझ्न सकिन्छ ।

ओलीले अब यो एकता कसैले भाँड्न सक्दैन भने । कसैले एकीकरण रोक्न सकिन्छ कि भन्ने आश गरेका छन् भने तिनको आशाको टुसा बिलाउँछ भने । प्रचण्ड एकता हुनेमा प्रकारान्तरले शंका गर्छन्, ‘अरुले भाँडिदिने’ आशंका व्यक्त गर्छन् । ओली चाहिँ यो एकता कसैले भाँड्न सक्दैन  भन्छन् ।

एकीकरण गर्छाैं भनिरहेका दुई पार्टीका दुई मुख्य नेताका यी फरक भनाईले यो निष्कर्षमा पुर्याउँछ कि एकीकरण सजिलो छैन । 

दुवैको जोखिम

पार्टी एकीकरण गर्न प्रचण्डलाई मन छैन तर पछाडि फर्कने ठाउँ पनि छैन भन्ने देखिन्छ । मन भए एकीकरण भइसक्थ्यो । प्रचण्डको मन केले प्रभावित गर्यो ? ९ गतेको भाषणमा चर्चा गरजस्तै कुनै तत्वले प्रभावित गरेको हो की ?

९ गतको भाषणपछि के प्रष्ट भयो भने अब एकीकरणको ज्वरो घट्दै जानेछ । एकीकरण प्रयास थाँती रहँदै जानेछ । एकीकरण मुख्य प्राथमिकता हुने छैन । एकीकरणका लागि कुनै जोडबल अब माओवादीको तर्फबाट हुने छैन ।

मिति नतोक्नुको अर्थ यही हो । मिति नतोक्ने, समय आएपछि अचानक एकीकरण  गर्ने भन्नुको अर्थ दुईटा हुन्छ । पहिलो हो– एकीकरण हुँदैन । दोस्रो हो– एकीकरण हुन समय लाग्छ ।

प्रचण्डकै भनाई अनुसार एकीकरण हुन नदिन धेरै तत्व लागेका छन् । समय बित्दै जाँदा ती तत्व कमजोर बन्दै जालान् त ? शंका गर्न सकिन्छ ।

एकीकरण हुँदैन भन्ने वाक्य एमालेको तर्फबाट बोलिएको दिन ओली सरकार गिर्छ, त्यसैले एमालेले एकीकरणको ढोका बन्द गर्दैन । अर्काे कुरा, यो एकीकरणमा एमालेको हात माथि पर्नेवाला छ ।

प्रचण्डको तर्फबाट एकीकरणको ढोका बन्द भएको दिन पनि ओली सरकार गिर्छ । 

एकीकरण नहुने अर्थात् दुवै पार्टी आआफ्नो बाटो लाग्ने दिन आयो भने केके होला ?

त्यो अवस्थामा प्रचण्डको हात माथि पर्नेछ । नयाँ सरकारको नेतृत्वको अवसर उनले पाउन सक्छन् । 

सम्भावनाको अर्काे पाटो 

सम्भावनाको अर्काे पाटो के हो त ? 

वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडाको भनाई छ– ‘एमाले–माओवादी गठबन्धन टुट्दा पनि प्रचण्ड प्रधानमन्त्री हुने ग्यारेन्टी भने छैन । ‘राष्ट्रवादी’ केपी ओली ‘मधेसवादी’ दलको समर्थनमा फेरि प्रधानमन्त्री बन्न सक्छन्।’ 


सम्भावनाको अर्काे पाटो भनेको सिंखडाले भने जस्तै नै हो । सम्झना गरौं, गत चुनावपछि एमाले र माओवादीको सरकार बन्ने बेला ओलीको टिमले संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव लगायतसँग वार्ता गरेको थियो । खबर बाहिर आएपछि माओवादी पार्टीपंक्ति निक्कै चिन्तित बनेको थियो ।

सरकार बनिसकेपछि पनि फोरमलाई सरकारमा ल्याउने र फोरम पनि सरकारमा पस्ने भनिएको थियो । तर, तारतम्य मिलेन ।

प्रचण्डले आफ्नो कुर्सीबाट हात झिकिदिएको दिन फोरम र राजपाको समर्थन खोज्न प्रयास गर्नेछन् । यो काममा सफल भएमा ओली सिंहदरबारमा हुनेछन्, प्रचण्ड सडकमा पुग्नेछन् ।

यो ‘खतरा’ का कारण पनि एकीकरण प्रकृयाबाट पछाडि नहट्न प्रचण्ड वाध्य छन् ।

राजपा र फोरम ओलीको साथमा हुने दिन आउनु सम्भावनाको अर्काे पाटो हो । यसको अझ अर्काे पाटो पनि छ । जिवेन्द्र सिंखडाको भनाई यस्तो छ– ‘बरु, उस्तै परे एमाले समर्थनमा उपेन्द्र यादव वा महन्थ ठाकुर वा राजेन्द्र महतो पनि प्रधानमन्त्री बन्न सक्छन्, हैन र ?’

सिंखडाले देखाएको यो सम्भावना प्रचण्डले नदेख्ने कुरै छैन । 

सम्भावनाको अझ अर्काे पाटो पनि छ । एकीकरण भाँडिएर तरल राजनीतिक अवस्था बन्यो भने प्रचण्ड या अरुलाई मौका नदिएर एमालेले कांग्रेसलाई नै अगाडि सारिदिन सक्छ । अथवा, कांग्रेसकै साथ लिन पनि सक्छ । सिंहदरबार पस्न र बस्न पाइने भयो भने जे पनि गर्ने, जस्तोसुकै सम्झौता र गठवन्धन पनि गर्ने लचकता नेपाली राजनीतिको विशेषता नै हो ।

यो तीन दशकमा सबैभन्दा धेरै पटक र धेरै समय सत्ता सहयात्रा कसैले गरेको छ भने कांग्रेस र एमालेले नै हो । 

असाध्यै निर्मम हुन्छ राजनीति । संसदीय गणितको खेलको निर्ममता हामीले धेरै समयदेखि भोग्दै आएका छौं । सत्तामा झपट र कपट कस्तो हुन्छ भन्ने पनि थाहा भएकै कुरा हो ।

अर्थात्, जब एकताको बाँध फुट्छ, पानी जता पनि बग्न सक्छ । त्यो पानीले ओलीलाई बगाउन पनि सक्छ, प्रचण्डलाई बगाउन पनि सक्छ ।

छलकपट

एमाले र माओवादी दुई पार्टी र यसका नेताहरुलाई पछाडि फर्कन नदिने अवयव भनेको चुनाव र चुनाव घोषणापत्र हो । तर, मिल्न नदिने अवयव झन् बलियो रहेछ । त्यसैले अहिलेसम्म एकीकरण भएको छैन । अब कहिले हुन्छ भन्ने पनि थाहा छैन । स्वयं ओली र प्रचण्डलाई समेत थाहा छैन भने अरुलाई थाहा हुने कुरै भएन ।

एकीकरण नभएर बाटो छुट्टियो र राजनीति तरल भयो भने एमाले र माओवादी कसलाई धेरै लाभ हुन्छ भन्ने आफ्नै ठाउँमा होला तर दुवै उठ्न मुश्किल हुने गरी पछारिनेछन् ।

यो एकीकरणसँग वाह्य शक्तिहरुको स्वार्थ पनि गाँसिएको प्रष्ट छ, त्यो बारेमा आगामी दिनमा चर्चा गर्दै गरौंला । यी दुईले बाटो फेरे भने त्यसको मुख्य असर भने राष्ट्रिय राजनीतिलाई नै पर्नेछ । राजनीति पूरै अस्थिर र तरल बन्ने छ । त्यस्तो अस्थिरताको असर सातवटै प्रदेशको राजनीतिमा पर्नेछ ।

त्यसैले एकीकरण नगरी सुखै छैन । अहिले एकीकरण प्रकृया कहाँ पुग्यो त ? छलकपट चरणमा पुगेको छ ।


 

ताजा खबर