विमानस्थलमा राखिने विज्ञापनको नयाँ नीति आउँदै

२०७५ बैशाख ५ बुधबार १४:४९:०० मा प्रकाशित

काठमाडौं,५ वैशाख । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा राखिने विज्ञापनबारे नयाँ नीति लागु गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञापन नीति तयार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका जगन्नाथ निरौलाको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । प्राधिकरणका अनुसार कार्यदलले विज्ञापन नीतिको अन्तिम ड्राफ्ट तयार गर्दैछ। 

कार्यदलमा पर्यटन मन्त्रालय,नेपाल पयर्टन वोर्ड, र विमानस्थलका प्रतिनिधि सदस्य रहेका छन् । पर्यटन मन्त्रालयले विमानस्थलमा राखिएका विभिन्न व्यापारिक विज्ञापन हटाएर नेपालको पहिचान झल्कने र पर्यटनमैत्री विज्ञापन राख्नेबारे लामो समयदेखि प्रयास गरेपनि यसको कार्यान्वयन हुन सकेको छैन । अहिले विमान स्थलमा विभिन्न मोवाइल कम्पनी तथा मदिराजन्य विज्ञापन मात्रै देखिन्छन्।

देशको एकमात्र विमानस्थलमा आउँदा देशको मौलिक पहिचान र नेपालीपन झलिक्योस भनेर यो निर्णय गरिएको क्षेत्रीले बताए । उनले भने ‘विदेशमा विमानस्थलको आम्दानीमा एरोनोटिकल क्षेत्रबाट ३० प्रतिशत र ननएरोनोटिकल क्षेत्रबाट ७० प्रतिशत आम्दानी हुने गरेपनि हाम्रो देशमा एरोनोटिकल क्षेत्रबाट ९० प्रतिशत र ननएरोनोटिकल क्षेत्रबाट १० प्रतिशत मात्र आम्दानी हुने गरेको छ । यसलाई बढाउन जरुरी छ । ’ एरोनोटिकल क्षेत्र विमानस्थलको ल्याण्डिङ पार्किङ लगायतबाट हुने आय होभने ननएरोनोटिकल क्षेत्र विमानस्थलमा संचालन गरिएका पसल विज्ञापन लगायतका क्षेत्रबाट हुने आम्दानी हो । 

विमानस्थल व्यवस्थापनसँग सम्झौता गरी यसअघि राखिएका विज्ञापनमध्ये सम्झौता अवधि सकिएका विज्ञापन क्रमशः हटाउँदै जाने र नयाँ विज्ञापन नीति नआएसम्म सो स्थानमा नयाँ होडिङ बोर्डको सम्झौता नगर्ने निर्णय भएको उनले बताए । नयाँ नीति आएपछि सोही अनुसार मात्र विज्ञापन राखिने क्षेत्रीले बताए । हाललाई नेपाल पर्यटन बोर्डले विमानस्थलमा राख्ने गरी डिजिटल विज्ञापन उपलब्ध गराउने सहमति भएको उनले बताए।

विज्ञापन नीतिले विमानस्थलको कुन–कुन स्थानमा व्यापारिक विज्ञापन राख्न उपयुक्त हुन्छ भन्नेबारे स्पष्ट निर्धारण गर्ने र विमानस्थलमा राखिने सबै प्रकारका विज्ञापन पर्यटनमैत्री राखिने उनले बताए । यो नीति आएपनि त्रिभुवन विमानस्थलसँगसँगै देशभरका अन्य विमानस्थलमा पनि सोही अनुरुप नीत कार्यान्वयन गरिने श्रेत्रीले बताए ।

नेपालको हाल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पर्यटकहरुले यहाँ आउनासाथ नेपालको पहिचान देखिने तस्विर देख्नपाए देश प्रतिको धारणा सकारात्मक हुने नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले बताए । उनले विमानस्थलले ठाउँ खालि गरेपनि बोर्डले नेपालको पहिचान र पर्यटनसँग सम्बन्धित  डिजिटल विज्ञापन  राख्ने बताए । 

ताजा खबर