रामहरि जोशी सम्झन्छन्– महाकविले भने ‘आइ वान्ट टु डाई, आई वान्ट टु सी गड’ 

२०७४ असार १८ आइतबार १२:१०:०० मा प्रकाशित

 काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता रामहरि जोशी यतिबेला स्वास्थ्योपचारमा छन् । उनको मिर्गौलाको अवस्था खराब भएकाले उपचार गर्नुपरेको हो । स्थानीय अल्का अस्पतालमा उपचार गराइरहेका ९३ वर्षीय नेता जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार अस्पतालमै पुगेर भेटेका छन् । 


गान्धीवादी दर्शनका अनुयायी जोशी देशका एक सम्मानित नेतामा गनिन्छन् । उनले विभिन्न पदहरुमा रहेर निर्वाह गरेका भूमिकाहरु आजसम्म विवादरहित नै छन् । 


नेता जोशीसँग महाकवि लक्ष्मीप्रसाद देवकोटासँग संगत गर्दाका केही अविष्मरणीय सम्झनाहरु छन् । उनले केही समय अघि त्यस सम्बन्धमा सरल पत्रिका प्रतिनिधिसँग आफ्ना अनुभव सुनाएका थिए । अहिले उनी उपचारक्रममा रहेका बेला नेता जोशीको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका उनका सबै शुभेच्छुकलाई यो सामग्री पठनीय हुने ठानेर पुनरप्रकाशन गरिएको छ । जोशीको संस्मरण उनकै शब्दमा पढौं –

  
महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो पहिलो भेट कलकत्तामा भएको थियो । यो सन् १९४९ तिरको प्रसङ्ग हो । म त्यतिबेला कलकत्ता विश्वविद्यालयमा कानुनको विद्यार्थी थिएँ । कलकत्ता विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीले ‘हिमाञ्चल छात्र सङ्घ’ स्थापना गरेका थिए । स्थापनापछि केही समय त्यो संस्थालाई हामीले नै सक्रिय बनाएका थियौँ । यसका लागि नेपालका साथै दार्जिलिङ र सिक्किमका साथीहरूको विशेष योगदान थियो । म छात्र सङ्घको साहित्यमन्त्री थिएँ । हामीले ‘हिमाञ्चल’ नामक स्मारिका पनि प्रकाशित ग¥यौँ । त्यही संस्थाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अभिनन्दन गर्न कलकत्तामा आमन्त्रित गरेको थियो ।

 
महाकवि देवकोटा त्यसताका बनारसमा थिए । नेपालको राणाशासनले कविका स्वतन्त्र भावना प्रकट हुन दिइरहेको थिएन । त्यो साँघुरो, सङ्कुचित र निस्सासिलो कालखण्डमा महाकविको कल्पनाले स्वतन्त्र ढङ्गले उडान भर्न पाएन । त्यसैले उनी एउटा खुला आकाशको खोजी गर्दै भारतमा स्वनिर्वासित जीवन बिताइरहेका थिए । बनारसबाट त्यसबेला भट्टराई–बन्धुहरूले साप्ताहिक ‘युगवाणी प्रकाशित गर्थे । महाकवि त्यस पत्रिकाका सम्पादक थिए ।

 
हिमाञ्चल छात्र सङ्घको निमन्त्रणा पाएपछि महाकवि देवकोटा ‘युगवाणी’का संस्थापक सम्पादक नारायणप्रसाद भट्टराई र ईश्वर बरालका साथ कलकत्ता आए । मलाई सम्झना छ, सन् १९४९ को जनवरी १६ मा महाकविको अभिनन्दन गरिएको थियो । कलकत्ताको कलेज स्ट्रिटको महाबोधि सोसाइटीको हलमा गरिएको कविवरको अभिनन्दनमा हिन्दी तथा बङ्गाली साहित्यका मूर्धन्य साहित्यकारको उपस्थिति थियो । अभिनन्दनपछि कविवरले गरेको भाषण बेजोड थियो । साहित्य तथा भाषाबारे उनले अङ्ग्रेजी भाषामा धाराप्रवाह बोलेका थिए । भनेका थिए, ‘अब एउटा साझा विश्वभाषाको खाँचो छ ।’ उनले अङ्ग्रेजीमा भाषण गरेका मात्र होइनन्, ‘झञ्झावीर’, ‘बाघले बच्चा किन खान्छ’, ‘पाषाणकालको कविता’ शीर्षक कविता पनि सुनाएका थिए । रोचक त के थियो भने महाकविले अङ्ग्रेजी कविता तामाङ सेलोको लयमा सुनाएका थिए ।

 

 
महाकवि कलकत्तामा एक महिना बसे । त्यही अवधिमा महात्मा गान्धीबारे पनि कविता लेखेका थिए । अङ्ग्रेजी भाषामा ‘बापु’ शीर्षक साठीवटा चतुर्दशीय पद (सोनेट्स) उनले कलकत्तामै लेखेका हुन् ।

 
मैले उनी सधँै मानसिक तनावमा भएको पाएँ । पहिलो भेटमै उनको मनमा कुनै न कुनै मानसिक अन्तद्र्वन्द्व चलिरहेको आभास मलाई भएको थियो । केही महिनाअघि मात्र महाकविका माहिला छोराको निधन भएको थियो । त्यसको शोक र घरको सम्झनाले होला, उनी विक्षिप्त अवस्थामा थिए । कसैसँग पनि धेरै बोल्दैनथे । उदास मुडमा एक्लै बसिरहन्थे ।

 
महाकवि कलकत्ता आएकै दिनको प्रसङ्ग हो । म र जयनारायण गिरी पार्क सर्कसस्थित इस्लाम क्यासलको तीनतले घरमा बस्थ्यौँ । देवकोटा पनि त्यही घरमा हामीसँगै थिए । एकाएक मध्यरातमा केही खैलाबैला भयो । हामी निद्राबाट जाग्यौँ । थाहा भो, मध्यरातमा देवकोटा तीनतले घरको झ्यालनेर पुगेर बाहिर हेर्दै रहेछन् । धन्न, नारायणप्रसाद भट्टराई र ईश्वर बरालको निद्रा खुलेछ । उनीहरूले देवकोटालाई बडो मुस्किलले तानेर पलङमा बसाले । केही ढिला भएको भए महाकविले के गर्थे, भन्न सकिन्नथ्यो ।

 
पलङमा बसेपछि महाकवि बर्बराउन थाले । उनले भनेका सबै कुरा बुझिएन । तर, लामो सुस्केरा हालेर भनेको एउटा वाक्य म सम्झन्छु– ‘आइ वान्ट टु डाई, आई वान्ट टु सी गड (म मर्न चाहन्छु, म ईश्वरलाई हेर्न चाहन्छु । ) ’।

 

 
उनको त्यो मानसिक अवस्था देखेर हामी मर्माहत भएका थियौँ । कुनै ठूलो पीरका कारण उनमा जीवनप्रति निराशा घनीभूत भएको मैले पाएँ । तर, आश्चर्य के भने त्यो घटनाको दुई दिनपछि अभिनन्दन समारोहमा कविले धाराप्रवाह भाषण गर्दा र अङ्ग्रेजीमा तामाङ सेलो कविता सुनाउँदा उनमा मैले त्यो निराशा कतै देखिनँ । बडो उत्साह, जोस र प्रसन्नतासाथ कविता सुनाइरहेका थिए ।

 
लाग्थ्यो– जीवनका सारा पीडा र निराशारूपी विष पान गरेर महाकवि नीलकण्ठजस्तै विश्वलाई साहित्यको अमृतपान गराइरहेका थिए । अहिले त जो पनि कवि छन् तर मैले त्यस दिन महसुस गरेको थिएँ– कवि हुन कति कठिन रहेछ !
 

ताजा खबर